१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ८ बिहीबार ०९:५६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘व्यवस्थामाथि सत्तामा बसेकाबाटै खतरा’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ८ बिहीबार ०९:५६:००

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको निकासका लागि नयाँ अभियानमा होमिएकाले पुराना दलसँग मिसिन नसकिने बताएका छन् । पार्टी कार्यालय तीनकुनेमा बुधबार पत्रकार सम्मेलन गरेर भट्टराईले वैकल्पिक शक्ति कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर हुने तर्क गरे ।

व्यवस्थामाथि सत्तामा बसेकाबाटै खतरा भएकाले नयाँ शक्तिको आवश्यकता परेको उनको दाबी छ । ‘हामी नयाँ अभियानमा छौँ । देशलाई विकास र समृद्धिमा लानुपर्छ । पुराना दललाई सही बाटोमा लान सकिएन । वैकल्पिक शक्ति कमजोर हुनु भनेको संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर हुनु हो,’ उनले भने, ‘देशको समस्या समाधान गर्न नयाँ शक्ति आवश्यक परेको हो । पुरानो दलसँग मिसिन आवश्यक छैन, हामी पछाडि फर्कन्नौँ ।’

भट्टराईले पार्टी निर्माण र विस्तार अभियान चलाउने जानकारी पनि दिए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री तथा समानुपातिक प्रतिनिधिसभा र प्रदेश सभाका लागि जनदबाब सिर्जना गर्नुपर्ने उनले बताए । व्यापक जनदबाब सिर्जना गरेर संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्रीकै उपस्थितिमा केही मान्छेले गरेको पार्टी प्रवेशलाई पार्टी एकता भनेर प्रचार गरिएको भन्दै भट्टराईले आश्चर्यचकित भएको बताए । अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षले माओवादीसँग पार्टी एकताको सहमति गरेको थियो ।

‘पार्टीभित्र आन्दोलनका क्रममा केहीलाई थकाइ लाग्छ, गलिन्छ । त्यसकारण यात्रामा हिँड्नुभन्दा चौतारीमा वास बसौँ । छिमेकीको एउटा घरमा गएर मिठो खाना खाऔँ भन्ने अनुभूति यात्रीलाई हुन्छ । त्यस्तै, साथीहरूलाई पनि अलिअलि भएर उहाँहरूले गर्न खोज्नुभयो । त्यसलाई हामीले अन्यथा मान्ने कुरा हुँदैन थियो । तर, विडम्बनापूर्ण के भइदियो भने, देशको प्रधानमन्त्री, एउटा पार्टीको अध्यक्ष पनि हुनुहुन्छ । 

उहाँकै उपस्थितिमा केही मान्छे उहाँको पार्टीका प्रवेश गरेको कुरालाई पार्टी नै मर्ज भएको भन्ने जुन वक्तव्य आयो, त्यसबाट हामी अलि आश्चर्यचकित भयौँ,’ भट्टराईले भने, ‘म पार्टीको अध्यक्ष छु । निर्वाचन आयोगका सबै अभिलेखले त्यो देखाउँछ । सबैसँग वार्ता गर्ने गरी बनाएको वार्ता समितिको संयोजक मै हुँ । अस्ति मात्रै हाम्रो बैठक बस्यो, त्यसमा ७० प्रतिशत केन्द्रीय समिति र दुईतिहाइ कार्यकारिणी समिति सदस्य उपस्थित भएर हामीले निर्णय पनि गरेका छौँ ।’