सडक कालोपत्रेका लागि बेस बिच्छ्याउने काम सुरु गर्न हेटौँडा हुँदै काठमाडौं जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको महालक्ष्मी दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडकखण्ड आजदेखि १६ दिनका लागि बन्द हुने भएको छ ।
इन्द्रसरोवर गाउँपालिका– ५ का वडाध्यक्ष दुतराज तितुङले सडक कालोपत्रेका लागि बेस बिच्छ्याउने प्रयोजनका लागि उक्त सडकखण्डमा २३ चैतसम्म सवारीसाधन आवतजावतमा रोक लगाइएको जानकारी दिए ।
वडा कार्यालयले बुधबार सूचना जारी गर्दै हेटौँडालाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग चखेल–मातातीर्थ सडक बन्द गरिने जानकारी दिएको हो । सूचनामा सडकमा निर्माण कार्य चलिरहेको समयमा सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुराेध गरिएको छ ।