१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत ८ बिहीबार ०८:३६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री प्रचण्ड र आइसिसीका अध्यक्ष बार्कलेबीच भेट : नेपाली क्रिकेट विकासका लागि सहयोग गर्ने प्रतिबद्धता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत ८ बिहीबार ०८:३६:००

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अध्यक्ष जर्ज बार्कलेले नेपालको क्रिकेट विकासमा आफूले सहयोग गर्ने बताएका छन् । चारदिने नेपाल भ्रमणमा रहेका बार्कलेले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा मुलुकको क्रिकेट विकास गर्न आइसिसी पूर्ण रूपमा तयार रहेको बताएका हुन् । ‘नेपालको क्रिकेटको विकासका लागि आइसिसीले सहयोग गर्नेछ,’ उनले भने । एसोसिएट राष्ट्रमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले आइसिसीको पूर्ण सदस्यता प्राप्त गर्न निश्चित मापदण्ड पूरा गर्नुपर्ने धारणा उनले राखेका छन् । 

‘आइसिसीको पूर्णकालीन सदस्य प्राप्त गर्न धेरै क्षेत्रमा सुधार गर्नुपर्ने हुन्छ, नेपालले भौतिक पूर्वाधारदेखि अन्य मापदण्ड पूरा गर्नुपर्छ,’ उनले भने, ‘आयरल्यान्ड पनि सबै मापदण्ड पूरा गरेर पूर्ण सदस्य राष्ट्र भएको हो ।’ प्रधानमन्त्री प्रचण्डले आइसिसी अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्व पाएको बताएका छन् । यसैबीच, प्रधानमन्त्री प्रचण्डले आइसिसी अध्यक्षलाई नेपालमा क्रिकेटमा भइरहेको विकास र भौतिक निर्माणबारे जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा विभिन्न क्षेत्रमा क्रिकेट मैदान बनिरहेको उनले बताए । 

प्रधानमन्त्री प्रचण्डले भने–सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णयअनुरूप पूर्वाधारलाई प्राथमिकता दिएको छ ।

‘नेपाल सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णयअनुरूप पूर्वाधारलाई प्राथमिकता दिएको छ,’ प्रचण्डले भने । चार वर्षपछि नेपालले बंगलादेशसँग मिलेर महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता आयोजनाको अवसर दिएकाले प्रचण्डले आइसिसीलाई धन्यवाद दिए । 

‘सन् २०२७ को यू–१९ महिला विश्वकपका लागि नेपाल सरकारले निकै महत्व दिएको छ । आइसिसीबाट पनि महत्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘नेपाललाई विश्वकपजस्तो महत्वपूर्ण प्रतियोगिता आयोजना गर्ने अवसर दिएकाले आइसिसीलाई धन्यवाद दिन चाहन्छु ।’ भेटवार्तामा आइसिसी अध्यक्ष बार्कलेले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने विश्वास दिलाए । 

खेलकुदमन्त्रीसँग चार विषयमा छलफल
बार्कले बुधबारै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग पनि छलफल गरेका छन् । मन्त्री श्रेष्ठसँगको वार्ता मुख्य गरी नेपालको राष्ट्रिय गौरवका रूपमा रहेका रंगशाला र त्रिवि मैदानको फ्लडलाइट केन्द्रित थियो । आइसिसीसँगको सहकार्य तथा क्रिकेटको विकास र अभिवृद्धिको विषयमा छलफल भएको खेलकुद मन्त्रालयले जनाएको छ । नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आइसिसी उत्साहित र प्रतिबद्ध रहेको बार्कलेले जानकारी गराए । 

आइसिसी अध्यक्ष बार्कलेले भने–आइसिसीले निर्धारण गरेको मापदण्ड पूरा गरेको अवस्थामा नेपाल आइसिसीको पूर्ण सदस्य बन्न सक्छ ।
 

श्रेष्ठले मूलपानीको तल्लो रंगशाला, भरतपुरको गौतमबुद्ध रंगशाला र विराटनगरको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश भएको जानकारी दिए । त्रिवि मैदानको फ्लडलाइटको जडान प्रक्रिया अघि बढेको उनले बताए । 

नेपाली क्रिकेटको भविष्य उज्ज्वल 
नेपाली क्रिकेटको विद्यमान अवस्थाबाट आफू प्रभावित भएको बार्कलेले जनाएका छन् । प्रधानमन्त्री र खेलकुदमन्त्रीसँगको भेटवार्तापछि उनले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको उल्लेख गरेका हुन् । ‘मैले प्रधानमन्त्री, खेलकुदमन्त्री र राखेपका सदस्यसचिवलाई भेटेँ । नेपाली क्रिकेटको भविष्यलाई लिएर सकारात्मक प्रभाव परेको छ,’ उनले भने, ‘नेपालको प्रगति हेर्दा तपाईंहरूको वर्तमान र भविष्य सुरक्षित छ ।’ उनले आफ्नो नेपाल भ्रमणले क्यान र आइसिसी दुवैलाई फाइदा पुग्ने बताएका छन् । उनले क्रिकेट विकासका लागि पूर्वाधारमा लगानी आवश्यक रहेको स्पष्ट पारेका छन् । 

‘आइसिसीका प्रतियोगिता र दुईदेशीय शृंखला आयोजना गर्न स्तरीय पूर्वाधार चाहिन्छ,’ उनले भने, ‘अभ्यास मैदान, लाइट र हाई पफर्मेन्स एरियालगायत न्यूनतम आवश्यकताभित्र पर्छन् ।’ पत्रकार सम्मेलनमा आइसिसीका अध्यक्षले नेपालको दर्शक, फलोअर्स र यहाँको प्राकृतिक सुन्दरताले प्रभावित भएको जनाए । यसैबीच, क्यानले आफू निलम्बनमा पर्दा रोकिएको फन्ड उपलब्ध गराउन पनि आग्रह गरेको छ । 

उनले नेपालमा क्रिकेटको सिरिज गर्नका लागि क्रिकेट संरचनाका न्यूनतम मापदण्ड पूरा हुनुपर्ने जनाए । ‘सबै मापदण्ड पूरा भए नेपालमा अन्तर्राष्ट्रिय टोलीले सिरिज खेल्न सक्छ,’ उनले भने, ‘सम्भवतः नेपाल तटस्थ भूमि बन्न सक्छ ।’ क्यानका सचिव पारस खड्काले आइसिसीका ठूला प्रतियोगिता आयोजना गर्न नेपाल तयार रहेको बताए । उनले सरकार पनि संरचना निर्माणमा सकारात्मक रहनु सुखद रहेको बताएका छन् ।