१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:३६:oo
Read Time : > 4 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आधा घण्टाको अन्तरमा देशलाई दोहोरो स्वर्ण दिलाएका मन्डेकाजी

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:३६:oo

मन्डेकाजी श्रेष्ठ नेपाली कराँतेका भर्सटाइल खेलाडी हुन् । साढे दुई दशक कराँतेमा सक्रिय उनले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा एकै दिन दुई स्वर्ण जितेका थिए । साग इतिहासमै एकै संस्करणमा दुई स्वर्ण जित्ने उनी नै पहिलो नेपाली खेलाडी हुन् । सन् २००६ को कोलम्बो सागमा धावक राजेन्द्र भण्डारीले दोहोरो स्वर्ण जितेका थिए । तर, उनको स्वर्णले मान्यता पाएन ।

सन् २०१९ मा काठमाडौंमै भएको १२३औँ सागमा श्रेष्ठले एकल काता र टिम कातामा स्वर्ण हात पारेका थिए । त्यो पनि केवल आधा घण्टाको अन्तरमा । त्यस सागमा नेपालले ऐतिहासिक प्रदर्शन गरी ५० स्वर्ण जितेको थियो । त्यसमा पनि श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण दिलाए । साग र कराँतेमा नेपालका लागि ऐतिहासिक प्रदर्शन गरेका उनले नयाँ पत्रिकाका रमेश सुवेदीसँग दोहोरो स्वर्ण पदक जिताउँदाका क्षण यसरी सम्झिए :

राज्यले खेलाडीका लागि वर्षौँदेखि लगानी गरेको हुन्छ । राज्यले खेलाडीबाट पक्कै पनि ठूलो आशा राखेको हुन्छ । राज्यको चाहना नै आफूले लगानी गरेको खेलाडीले अन्तर्राष्ट्रिय खेल जगत्मा उत्कृष्ट प्रदर्शन गरोस् भन्ने हो । यसमा खेलाडीको पनि उत्तिकै मिहिनेत रहेको हुन्छ । यही तालमेलकै कारण खेलाडीले सफलताको सिँढी चढ्छजस्तो लाग्छ । सन्दर्भ सन् २०१९ मा काठमाडौंमै भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को हो ।

सागका लागि पहिलो चरणमा एक सय २० खेलाडी प्रशिक्षणमा थिए । दोस्रोमा फाइनल चरणको छनोट भएको थियो । यसै दोसो चरण पार गरेका खेलाडीले सागमा स्थान बनाए । कराँतेमा हाम्रो हरेक तौल समूहमा समान चार खेलाडीलाई क्लोज क्याम्पमा राखिएको थियो । हरेक तौल समूहबाट एक–एकजना खेलाडी अन्तिममा छनोट भए । 

मलाई अहिले पनि सम्झना छ । १९औँ सागमा कराँतेमा फेयर छनोट भएको थियो । सबैलाई थाहा भएकै कुरा हो । कराँतेको छनोट हुने वेलामा अक्सर विवाद आउने गथ्र्यो । तर, सागको खेलाडी छनोटमा कुनै किसिमको विवाद आएन । सम्भवतः अन्तर्राष्ट्रिय अफिसियलहरूबाट छनोट प्रक्रिया भएको हुँदा इमानदार र सच्चा खेलाडीले नै साग खेल्ने अन्तिम टोलीमा स्थान बनाए । त्यसवेला कहीँबाट पनि सेटिङ हुन पाएन । नत्र भने राष्ट्रिय टोलीमा खेलाडी समावेश गराउन ठूलो चलखेल हुने गर्छ । निष्पक्ष रूपबाट आएका खेलाडीले सागमा राम्रो नतिजा निकाले । कराँतेबाट आशा गरेअनुसारै पदक आयो । सागको तयारीका लागि हामीले नेपालमै प्रशिक्षण गरेका थियौँ । यसक्रममा अन्तर्राष्ट्रिय कराँतेमा सहभागी हुने मौका हामी सबै खेलाडीले पायौँ । 

नेपालको पहिलो स्वर्ण नै कराँतेबाट रह्यो
१३औँ साग सुरु हुनुअघि नै भलिबललगायत टिम खेल सुरु भइसकेका थिए । कराँतेको इभेन्ट उद्घाटनको दोस्रो दिन मात्रै थियो । हामी कराँतेका सबै खेलाडी तथा अफिसियल पुल्चोकको हिमालयन होटेलमा बसेका थियौँ । हाम्रो खेल सातदोबाटोको कराँते हलमा थियो । होटेलदेखि कराँते हुने हलसम्म कडा सुरक्षाबीच हामीलाई पुर्‍याइएको थियो । कराँतेको पहिलो दिन एकल काताको खेलतालिका थियो । यसमा पनि कुमुतेको फाइट समावेश थियो । पहिलो दिन महिला काता भयो ।

कराँतेमा मात्रै नभएर देशकै लागि एकै प्रतियोगितामा दुई स्वर्ण जित्ने म नै पहिलो भएँ । मपछि मात्र १३औँ सागमा तेक्वान्दोकी आयशा शाक्य र पौडीकी गौरिका सिंहले दोहोरो स्वर्ण जितेका हुन् ।

अञ्चला दनुवारले नेपाललाई रजत पदक दिलाइन् । अञ्चलाको खेलपछि मेरो पालो थियो । देशका लागि पहिलोपटक पदक जिताउने हरेकले सपना बोकेका हुन्छन् । संयोगवश मैले कराँतेलाई पहिलो स्वर्ण दिलाएँ । मैले हात पारेको पदकसँगै नेपालले पदक तालिकामा स्वर्ण संख्या चढायो । म स्वर्ण जित्दाको क्षणमा निकै खुसी भएको थिएँ । तर, मलाई थाहा थिएन कि मैले जितेको स्वर्ण समग्रमा १३औँ सागमा नेपालकै पहिलो थियो । यद्यपि, दोस्रो दिन पनि पदक सम्भावित खेलहरू भइरहेका थिए । तर, अन्य खेलबाट स्वर्ण नआउँदा मैले एकल कातामा जितेको पदक नै देशकै पहिलो स्वर्ण बन्न पुग्यो ।  

आधा घण्टापछि नै अर्को स्वर्ण थपेँ 
व्यक्तिगत रूपमा सागको इतिहासमै मैले पहिलो स्वर्ण जित्दा खुसी भएको थिएँ । त्यो र अहिले पनि पहिलो स्वर्ण जित्दाको क्षण राम्रोसँग बताउन सक्दिनँ । पहिलो स्वर्ण जित्दाको माहोलाबीच नै दोस्रो खेलका लागि तयारी गर्नुपर्ने थियो । दोस्रो खेल ठ्याक्कै आधा घण्टापछि थियो । यही छोटो समयबीच नै तयारी गर्नुपर्ने थियो । सागको इतिहासमा धावक राजेन्द्र भण्डारीले सन् २००६ को कोलम्बो सागमा दोहोरो स्वर्णपदक जित्नुभएको थियो । तर, उहाँको स्वर्णले मान्यता प्राप्त भएन । मैले १३औँ सागमा दोहोरो स्वर्ण जित्नुअगाडिसम्म अन्य नेपाली खेलाडीले यो सफलता प्राप्त गरेका थिएनन् । त्यतिवेला पनि मेरो सपना अब एकै दिन लगातार दुई स्वर्ण जित्दै इतिहास बनाउनुपर्छ भन्ने थियो । 

म देशका लागि अर्काे स्वर्ण पदक जिताएरै छाड्छु भन्ने संकल्पका साथ एरिनामा गएँ । दोस्रो खेलको इभेन्टको नाम टिम काता थियो । यसमा मलाई महसुस तामाङ र प्रबिन महर्जनले साथ दिएका थिए । खेलअगाडि भाइहरू (महसुस र प्रबिन)लाई कसरी प्रदर्शन गर्नुपर्छ, कहाँ–कहाँ सजक भएर खेल्नुपर्छ भन्ने पक्ष सिकाएको थिएँ । मैले उनीहरूलाई केवल मलाई मात्र फलो गर्नु भनेको थिएँ । मैले जे गर्छु, त्यही भए नतिजा आउँछ भनेँ । काता र बुन्काईमा हाम्रो प्रयास निकै राम्रो भयो । नेपालले बंगलादेश र श्रीलंकालाई नै हराएर स्वर्ण पदक जित्यो । स्वर्ण जितेसँगै मैले कराँतेको इतिहासमा आफ्नो नाम लेखाएँ । एकै संस्करणमा दुई स्वर्ण जित्ने म पहिलो खेलाडी बनेँ । 

अझ कराँतेमा मात्रै नभएर देशकै लागि एकै प्रतियोगितामा दुई स्वर्ण जित्ने म नै पहिलो भएँ । मपछि मात्र १३औँ सागमा तेक्वान्दोकी आयशा शाक्य र पौडीकी गौरिका सिंहले दोहोरो स्वर्ण जितेका हुन् । 

साफको बदला सागमा
१३औँ साग हुनु केही साताअघि बंगलादेशमा दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) कराँते च्याम्पियनसिप आयोजना भएको थियो । म त्यहाँ एकल कातामा पराजित भएको थिएँ । बंगलादेशका मोहम्मद हासिन्कसँग पराजित हुँदा म कांस्य पदकमै सीमित भएँ । मलाई हराउने मोहम्मद हासिन्कले स्वर्ण पदक जित्यो । श्रीलंका दोस्रो भएको थियो । तर, यही बंगलादेशमा भएको प्रतियोगितामा मैले टिम कातामा स्वर्ण हात पारेको थिएँ । १५–२० दिनपछि नै नेपालमा १३औँ साग आयोजना भयो । मसँग इख थियो, मेरा सबै कमजोरी सुधार गर्दै घरमै आयोजना हुने सागमा स्वर्ण पदक जित्ने ।

टाइसिटमा मेरो प्रतिस्पर्धी नै मलाई हराएका बंगाली खेलाडी परे । सेमिफाइनलमा मैले उनलाई हराएँ । मोहम्मद हासिन्कले २२.८ अंक जोड्दा मैले २४.० अंक जोडेँ । स्वर्ण पदक भिडन्तमा पाकिस्तानी नियामतुल्लाहलाई हराउँदै स्वर्ण पदक जितेँ । फाइनलमा मैले २५.७२ र पाकिस्तानी खेलाडीले मात्र २४.९२ अंक प्राप्त गरेका थियौँ । नेपालले साग इतिहासमा कातामा स्वर्ण जितेको दुई दशकपछि नै थियो । त्यसअघि सन् १९९९ मा काठमाडौंमै भएको आठौँ साफमा गुरु गंगाराम महर्जनले कातामा स्वर्ण जित्नुभएको थियो । 

मैले पहिलो स्वर्ण पदक जितेर हो वा के भएर हो, एकै संस्करणमा दुई स्वर्ण जित्ने कीर्तिमानी खेलाडी बनेपछि सबै मिडिया र पदाधिकारी मकहाँ झुम्मिएका थिए । भेट्ने र फोटो खिच्नेको लाइन नै लाग्यो । मिडियाकै कारण आज सर्वत्र चर्चा छ । भोलिपल्ट पत्रिका हेर्दा धेरै पत्रिकामा मेरो फोटो फ्रन्ट पेजमै थियो । त्यो देख्दा म झनै खुसी भएँ । 

२७ वर्षको त्याग...
मैले टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरेर कराँते सिकेको हुँ । त्यसैले यो क्षण कहिले पनि बिर्सन्न सक्दिनँ । पहिलोपटक सागमा स्वर्ण पदक जित्दा भावुक भएँ । कराँते खेलमा २७ वर्ष गरेको मिहिनेत सबै बिर्सिएँ । लगभग साढे दुई दशकको करिअरमा मैले धेरै आरोह–अवरोह सामना गरेँ । कहिलेकाहीँ अन्तिम छनोटमा परे पनि बाहिरिएको थिएँ । राजनीतिको सिकार हुनु र क्लोज क्याम्पबाट आउट हुनु सामान्यजस्तै थियो । म १०औँ र ११औँ सागमा अन्तिममा पुगेर बाहिर भएँ । १०औँमा रेफ्रीको निर्णयको सिकार हुन पुगेँ । ०५७/०५८ सालमा मध्यमाञ्चलबाट खेल्न सुरु गरेँ  । मध्यमाञ्चलबाट खेल्दा आर्मीविरुद्ध रेफ्रीको निर्णयले हार व्यहोर्नुपरेको थियो । 

आवेशमा पुरेन्द्रविक्रम लाखेको फोटो जलाएपछि एक वर्ष निलम्बनमा परेँ । हामी राष्ट्रिय च्याम्प्यिन हुँदा पनि दोस्रो रोजाइका खेलाडीले अवसर पाए । यद्यपि, यस्तो वातावरणबीच पनि मैले देशका लागि केही गर्नुपर्छ र पदक जित्नुपर्छ भनेर खेलिरहेँ । ६३ सालमा मध्यमाञ्चलबाट पुलिस प्रवेश गरेको थिएँ । अनि राष्ट्रिय टोलीमा छनोट भएपछि मात्र वैदेशिक प्रशिक्षणमा परेँ । 

नेपालबाट दीपक श्रेष्ठ गुरुलाई फोन आयो । हाम्रो काता इभेन्टमा १५ मध्ये १० मात्रै खेल्ने भनेपछि म रुँदै थाइल्यान्डबाट फर्किएँ । त्यही समयमा चीनको गोन्जाओमा लैजाने भनी म झुटो आश्वासनमा परेँ । मन्त्रालय र परिषद्का सदस्यसचिव (हरिबहादुर चौधरी)ले झुक्याए । एसियन गेम्समा पठाउँछौँ भने पनि मलाई पठाएनन् । त्यसपछि कराँते छाड्ने निर्णयमा समेत पुगेँ । 

१०औँ, ११औँ र १२औँ साग नै खेल्न नपाउँदा आफूभन्दा जुनियरहरू पनि सँगै खेल्ने भइसकेका थिए । उनीहरूले साग खेलिसकेको र आफूले खेल्न नपाउँदा सन्न्यास लिने सोच बनाएको थिएँ । तर, घरपरिवारले सहयोग गरे । १२औँ सागमा पनि भारतमा कराँतेको विवादले प्रतियोगितामा यो खेल नै समावेश भएन । पुलिसमा जागिर पनि खान्न बरु व्यापार गर्छु भन्ने थियो । तर, सबैले पदक नजितेसम्म खेल्न सुझाव दिए । 

ad
ad