Skip This
भागबन्डा मिलाउन थप ११ जनालाई अफिसियल बनाएर बहराइन पठाउँदै एन्फा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २ शुक्रबार
  • Saturday, 27 July, 2024
मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलअघि मलेसियामा प्रशिक्षण गर्दै नेपाली टोली । तस्बिर सौजन्य : गोल नेपाल
रमेश सुवेदी काठमाडाैं
२o८o चैत २ शुक्रबार o८:o४:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भागबन्डा मिलाउन थप ११ जनालाई अफिसियल बनाएर बहराइन पठाउँदै एन्फा

अफिसियलकै रूपमा मलेसिया पठाएका १० पदाधिकारीलाई भने फिर्ता बोलायो

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत २ शुक्रबार o८:o४:oo

संस्थाभित्र भागबन्डा मिलाउन अखिल नेपाल फुटबल संघ (एन्फा)ले थप ११ जनालाई अफिसियल बनाएर फिफा विश्वकप छनोट प्रतियोगितामा बहराइन पठाउँदै छ । स्वीकृतिका लागि बिहीबार नाम राखेपमा पठाएको छ । नियमविपरीत बुधबार १० पदाधिकारीलाई अफिसियलकै रूपमा मैत्रीपूर्ण खेलका लागि खेलाडीसँगै मलेसिया पठाएपछि खेलकुद मन्त्रालयले कारबाही गर्न राखेपलाई निर्देशन दिएको थियो । त्यसलगत्तै बिहीबार एन्फाले १० जनालाई फिर्ता बोलाउँदै नयाँ ११ जनालाई बहराइन पठाउन अनुमति मागेको छ । 

एन्फा प्रवक्ता सुरेश शाह र सहमहासचिव दामोदर (बद्री) भट्टराई बिहीबार त्रिपुरेश्वरस्थित राखेप मुख्यालय पुगेका थिए । उनीहरूले सदस्यसचिव टंकलाल घिसिङलाई स्वीकृतिपत्र बुझाएका छन् । एन्फाले यसअघि नै मलेसिया र बहराइन भ्रमणमा पुग्ने टोलीको फरक सूची बनाएको थियो । यस्तै, इंग्ल्यान्ड जाने सूचीसमेत अहिलेबाटै बनिसकेको छ । सदस्यसचिव टंकलाल घिसिङले एन्फाबाट गम्भीर गल्ती भएको र समन्वय शाखाले स्पष्टीकरण बुझेपछि स्वीकृत दिने वा नदिने निर्णय गर्ने नयाँ पत्रिकालाई जानकारी दिएका छन् । 

‘अहिले सबै बुझेपछि मात्र स्वीकृति दिने वा नदिने पक्षमा छौँ,’ घिसिङले भने । राखेप संघसंस्था समन्वय शाखा प्रमुख चन्द राईले एन्फाबाट बहराइन जाने थप व्यक्तिको नाम आएको जनाएका छन् । ‘हामीलाई स्वीकृतिका लागि पत्र आएको छ । तर, मलेसिया जाने निर्णयमा हाम्रो गम्भीर ध्यानाकर्षण छ । कम्तीमा राज्यलाई सबै जानकारी हुनुपर्छ,’ राईले भने, ‘जुन राष्ट्र जाँदा पनि कुन भूमिकामा को–को जाने थाहा हुनुपर्छ । हामीले मलेसिया पुगेको विषयमा २४ घण्टाको स्पष्टीकरण सोधेका छौँ । यो क्लियर भएपछि मात्रै बहराइनको स्वीकृत दिने वा नदिने छलफल हुन्छ ।’ 

नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत ८ र १३ चैतमा बहराइनको सामना गर्नेछ । दुवै खेल बहराइनै हुनेछन् । दरशथ रंगशाला अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेलाउने योग्य नभएपछि छनोट खेल बहराइनमा सारिएको हो । दुई साताअघि एएफसी टोलीले दशरथ रंगशालाको निरीक्षण गर्दै मैदानमा खेल नहुने निर्णय गरेको थियो । बहराइनले एन्फालाई टोलीको अतिरिक्त खर्चसहित पदाधिकारी भ्रमण खर्च पनि बेहोर्ने बताएपछि एन्फा नेतृत्वले होम एन्ड अवे दुवै खेल बहराइन पु¥याएको आरोप छ । 

कानुनी व्यवस्थाविपरीत अनुमतिविना नै पुरुष टोलीलाई मलेसियामा मैत्रीपूर्ण प्रतियोगिताका लागि पठाएको भन्दै खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) निर्देशन दिएको थियो । अनावश्यक दश पदाधिकारीलाई पनि पठाएपछि मन्त्री श्रेष्ठले उनीहरूलाई रोक्न निर्देशन दिएका हुन् । तर, गृह मन्त्रालय हुँदै पत्र अध्यागमन विभाग पुग्दासम्म नेपाली टोली बंगलादेश ट्रान्जिट बनाउँदै मलेसियातर्फ उडिसकेको थियो । यही घटनापछि बहराइन जाने टोलीबाट सहमहासचिव भट्टाईले आफ्नो नाम फिर्ता लिएका छन् । ‘मन्त्रीको निर्देशनपछि ठूलो हलचल मच्चिएको छ । अब, कसरी बढ्ने भन्ने छ,’ एन्फा एक पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘एन्फाबाट गलत भएकै हो । त्यसलाई सच्चाउनुको विकल्प छैन ।’ 

बहराइन जाने ४१ जनाको सूची 
प्रवक्ता शाह र सहमहासचिव भट्टराई ११ पदाधिकारी, सात अफिसियल र २३ खेलाडीसहित जम्मा ४१ जनाको सूचीसहित राखेपमा स्वीकृति लिन पुगेका हुन् । यद्यपि, फिफाले २३ खेलाडी तथा ११ अफिसियलको मात्रै खर्च बेहोर्ने गरेको छ । चरम आर्थिक संकट रहेको बताउँदै घरेलु प्रतियोगिता ठप्प पारेको एन्फाले सात पदाधिकारीको खर्च आफैँले बेहोर्नेछ ।

मताधिकारलाई खुसी पार्न फाजुल खर्च बढी गर्दै आएपछि नेतृत्वविरुद्ध चर्काे आवाज उठेको छ । बहराइन जाने टोलीमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट छन् । डाक्टर राजु डंगोल महर्जनसँगै राजकाजी श्रेष्ठ (श्री भगवती क्लब), शेरबहादुर बस्नेत( झापा जिल्ला फुटबल संघ), रञ्जन कार्की (अध्यक्ष उदयपुर जिल्ला फुटबल संघ), डोलेशकुमार केसी, (जिल्ला सदस्य), रामचन्द्र लामा (अध्यक्ष, बारा जिल्ला फुटबल संघ), जिल्ला सदस्यहरू महेशचन्द्र महत र भरत बुढक्षेत्री छन् । 

बहराइन जाने टोलीमा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगै प्रवेश कटुवाल (प्रशिक्षक), विनोद डंगोल (गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक) छन् । यी सातजना मलेसियाबाट सीधै बहराइन जानेछन् ।

विनास्वीकृति मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेका दीपक खतिवडा (टोली प्रमुख तथा एन्फा उपाध्यक्ष), महेन्द्र क्षेत्री (एन्फा कार्यसमिति सदस्य), इन्द्रमान तुलाधर (कार्यकारी अधिकृत), जिल्ला सदस्यहरू भरत घिमिरे, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ तथा खुमलटार युथका सचिव बुद्धिबहादुर गुरुङ रहेका छन् । 

अनुशासन कायम राख्न पछि हट्न हुँदैन :  खेलकुदमन्त्री 
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा अनुशासन बनाइराख्न पछि हट्न नहुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिहीबार आफ्नै बोर्डका अध्यक्षसमेत रहेका खेलकुदमन्त्री श्रेष्ठलाई स्वागत कार्यक्रम राखेको थियो । स्वागत र बधाई कार्यक्रममा मन्त्री श्रेष्ठले दशकौँसम्म निर्वाचन नगर्ने र ऐन पालना नगर्ने खेल संंघलाई सही बाटोमा ल्याउन ऐनमा रहेर कारबाही गर्न पछि हट्न नहुने जनाएका हुन् ।

‘वर्षौँसम्म पनि निर्वाचन नगर्ने र ऐनसमेत पालना नगर्ने त्यस्ता संघलाई कारबाही गर्न पछि हट्नुहुन्न,’ मन्त्री श्रेष्ठले भने, ‘१८ बर्षसम्म पनि केही गतिविधि गर्ने संघहरूलाई ऐन अनुसार कारवाही गर्नुपर्छ, यसमा तपाईहरू पछि हट्नु हुँदैन ।’

अन्तर्राष्ट्रिय खेलकुदमा सम्भावना बोकेका खेल संघलाई प्राथमिकतामा राखी लगानी गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘सम्भावनाका आधारमा खेल संघहरूलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने अवस्थामा राज्य रहेको हो, त्यस्ता खेलका इतिहास, सफलता र उपलब्धिका आधारमा मात्र लगानी गरिनेछ,’ उनले भने, ‘एकैपटक सफल हुने वातावरण सिर्जना गर्न सबैले एक भएर प्रयास गर्नुपर्छ ।’ 

उनले अन्तर्राष्ट्रिय स्तरमा पदक जितेको खेलमा गर्व गर्नुपर्ने वातावरण सृजना गर्नुपर्ने धारणा राखेका छन् । ‘कम्तीमा हामी कही जाँदा यो खेलले अन्तर्राष्ट्रिय खेलमा पदक जितेको भनी वातावरण वनाउनु पर्छ,’ उनले भने । 
राखेपका उपाध्यक्ष शिव कोइरालाले सबैले देखेका सपना पूरा गर्न मन्त्रालयसँगको सहकार्यमा सफल हुने धारणा राखे । राखेप सदस्यसचिव टंकलाल घिसिङले परिषद्को विविध पक्षबारे मन्त्री श्रेष्ठलाई जानकारी गराए । उनले खेलकुदमा सामूहिक प्रयासबाट कर्तव्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।