१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नवीन अर्याल काठमाडाैं
पवन तिमिल्सिना काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:१६:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

देशको सात महिनाको अर्थतन्त्र : विदेश घुम्न नेपालीले गरे ३८ अर्ब खर्च

विदेशी पर्यटकबाट ४५ अर्ब ४० करोड आम्दानी, पर्यटन आयमा ४५.५ प्रतिशतले वृद्धि

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:१६:oo

विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको ८० प्रतिशतबराबर रकम नेपालीले पनि विदेश घुमफिरमा सकाउने गरेका छन् । पछिल्ला सात महिनामा विभिन्न देशबाट नेपाल आएका पर्यटकले ४५ अर्ब ४० करोड खर्च गरेकामा सोही अवधिमा नेपालीले पनि विश्वका विभिन्न देश घुम्दा ३८ अर्ब १० करोड रुपैयाँ खर्च गरेका छन् । यो नेपाल राष्ट्र बैंकको तथ्यांक हो । 

विदेशीले नेपालमा गरेको खर्चभन्दा नेपालीले विदेश भ्रमणमा गरेको खर्च सात अर्ब २९ करोड रुपैयाँले मात्रै कम हो । यसमा अध्ययनका लागि जाँदा गरेको खर्चबाहेक अन्य सबैखाले भ्रमण खर्च जोडिएको छ । सरकारी कर्मचारीको विदेश भ्रमण खर्च पनि यो तथ्यांकमा समेटिएको छ । राष्ट्र बैंकको यो तथ्यांकले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण खम्बाका रूपमा हेरिएको पर्यटन क्षेत्रबाट नेपालले अत्यन्तै न्यून आम्दानी गर्ने गरेको देखाउँछ । 

अध्यागमन विभागका अनुसार सन् २०२३ मा दुई सय २३ देशका पर्यटक नेपाल भ्रमणमा आएका थिए भने दुई सय २२ देशमा नेपाली पुगेका थिए । नेपाली घुम्न जाने प्रमुख देशमा भारत, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्यान्ड, चीन, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, अमेरिका, जापान, ओमन, बेलायतलगायत छन् । भेनेजुयला, टोगो, स्लोभाकिया, पपुवा न्यूगिनी, उत्तर कोरिया, फिजी, जमैकाजस्ता देशमा पनि नेपाली घुम्न जान थालेका छन् । 

नेपालमा भारत, चीन, अमेरिका, थाइल्यान्ड, युनाइटेड किङडम (युके), बंगलादेश, श्रीलंका, अस्ट्रेलिया, म्यानमार, जर्मनी, जापान, मलेसिया, साउथ कोरिया, अस्ट्रिया, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, इटाली, नर्वे, पोल्यान्ड, रसिया, स्विट्जरल्यान्ड, स्पेन, स्विडेन, युक्रेन, क्यानडा, न्युजिल्यान्ड, इजरायल, टर्कीलगायत देशबाट सबैभन्दा धेरै पर्यटक आउने गर्छन् । 

कोभिड महामारीपछि पर्यटक आगमन बढ्न थालेपछि पर्यटकबाट हुने विदेशी मुद्रा आर्जन पनि बढ्न थालेको छ । चालू आवको सात महिनामा गत आवको यसै अवधिको तुलनामा विदेशी पर्यटकबाट हुने अम्दानी ४५.५ प्रतिशतले वृद्धि भएको छ । 

०७९/८० को साउनदेखि माघसम्म विदेशी पर्यटकबाट ३१ अर्ब ४१ करोड रुपैयाँ आम्दानी भएकोमा यस वर्ष बढेर ४५ अर्ब ३९ करोड रुपैयाँ आम्दानी भएको छ । अघिल्लो वर्षको तुलनामा १४ अर्ब रुपैयाँले विदेशी पर्यटन आय बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । 

०७५/७६ मा विदेशी पर्यटकबाट ४२ अर्ब ६१ करोड आम्दानी हुँदा नेपालीले २६ अर्ब सात करोड विदेश भ्रमणमा खर्च गरेका थिए । आव ०७६/७७ मा विदेशी पर्यटकबाट ४८ अर्ब आम्दानी हुँदा नेपालीले विदेश भ्रमणमा २२ अर्ब रुपैयाँ खर्च गरेका थिए । आव ०७७/७८ मा साढे ३८ अर्ब ८६ करोड आम्दानी हुँदा नेपालीले विदेश भ्रमणमा जाँदा ३२ अर्ब खर्च गरेको तथ्यांक छ । यस्तै, आव ०७८/७९ मा विदेशी पर्यटकबाट १५ अर्ब ५४ करोड रुपैयाँ आम्दानी हुँदा नेपालीले विदेश सयर गरेर १७ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेका थिए । सो वर्ष विदेशी पर्यटकले नेपालमा गरेको खर्चभन्दा नेपालीले विदेश भ्रमणमा जाँदा गरेको खर्च एक अर्ब ८२ करोड रुपैयाँ बढी थियो । 

नेपालले पर्यटकबाट सबैभन्दा धेरै आम्दानी ०७५/७६ मा गरेको थियो । उक्त वर्ष पर्यटनबाट ७५ अर्ब ३७ करोड रुपैयाँ आम्दानी भएको थियो । त्यस्तै, ०७६/७७ को पहिलो सात महिनामै ४८ करोड रुपैयाँ अम्दानी भएको देखिन्छ । तर, सो आवको चैतदेखि कोभिड महामारीका कारण लकडाउन हुँदा पर्यटक आगमन रोकियो र अम्दानीमा पनि संकुचन आएको थियो ।

पछिल्ला वर्षको तथ्यांकले भ्रमणबापत विदेशीले नेपालमा गर्ने खर्च र नेपालीले विदेशमा गर्ने खर्च क्रमशः बढ्दै गइरहेको देखिन्छ । आव ०७५/७६ र आव ०७६/७७ को पहिलो सात महिनामा पर्यटकबाट बाहिरिनेभन्दा भित्रिने रकम क्रमशः १६ अर्ब ५३ करोड र २५ अर्ब ४८ करोड रुपैयाँ बढी रहेकोमा चालू आवमा सात अर्ब २९ करोडमा सिमित भएको छ । अघिल्ला तीन आर्थिक वर्षको तुलनामा भने चालू आवमा पर्यटकबाट हुने विदेशी मुद्रा आर्जन बढ्दै गइरहेको छ ।

 नरबहादुर थापा, पूर्वकार्यकारी 
निर्देशक, नेपाल राष्ट्र बैंक

अहिलेको अवस्थामा पर्यटकबाट जति आम्दानी प्राप्त गरिरहेका छौँ, त्यो राम्रो अंक हो । हामीले विदेशी मुद्रालाई मात्र हेरेर हुँदैन । देशमा पर्यटक आउँदा गुणात्मक योगदान धेरै हुन्छ । पर्यटनले रोजगारी र ग्रामीण अर्थतन्त्रमा अझ ठूलो योगदान गरेको छ । सरकारले गर्न नसकेको काम पर्यटनले गरिरहेको हुन्छ । 

 साढे आठ खर्ब भित्रियो रेमिट्यान्स
रोजगारी गर्न विदेश गएका नेपालीले कमाएर पठाएको रकम (रेमिट्यान्स) आठ खर्ब ३९ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा गत आवको तुलनामा रेमिट्यान्स २१.६ प्रतिशतले बढेको छ । गत आवको सात महिनामा ६ खर्ब ८९ अर्बको रेमिट्यान्स भित्रिएको थियो । 

पछिल्लो समय अवसरको खोजीमा नेपालबाट बिदेसिनेहरू बढेसँगै रेमिट्यान्स भित्रिने क्रम पनि वृद्धि भइरहेको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । नेपालमा प्राप्त हुने विदेशी मुद्राको प्रमुख स्रोत मानिएको रेमिट्यान्सले नेपालको बैंकिङ प्रणालीमा समेत तरलता व्यवस्थापनमा सहज बनाइरहेको छ ।   

सात महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ४७ हजार १२ जना रहेको तथ्यांकले देखाएको छ । त्यस्तै, फर्किएर आएका नेपालीले विदेश जानका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ५८ हजार पाँच सय ४० जना छन् । 

महँगीदर ५.०१ प्रतिशतमा सीमित
राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा महँगीदर (मुद्रास्फीति) ५.०१ प्रतिशतमा सीमित भएको छ । पुसमा महँगीदर ५.२६ प्रतिशत थियो । सात महिनाको तथ्यांक हेर्दा असोजपछिका महिनाहरूमा महँगीदर औसतमा ५.१५ प्रतिशतकै हाराहारी कायम देखिन्छ । सात महिनाकै औसत महँगीदर भने ६.२५ प्रतिशत छ । गत भदौमा महँगीदर ८.१९ प्रतिशतसम्म पुगेको थियो ।

चाडबाडमा हुने वस्तुको मागको वृद्धिले महँगी बढाए पनि त्यसपछिका महिनाहरूमा महँगीदर घट्दै गइरहेको देखिन्छ । नेपालमा मुद्रास्फीतिको प्रमुख स्रोत आयातीत वस्तुलाई लिइन्छ । बढी मूल्यमा वस्तु आयात हुने भएपछि नेपाली बजारमा समेत मूल्यवृद्धि हुने गर्छ । यसपालि आयात घट्दो क्रममा रहेकाले पनि मुद्रास्फीति विगतमा जस्तो नबढेको हो । चालू आर्थिक वर्षको सात महिनामा वस्तु आयात २.३ प्रतिशतले घटेको छ । 

बाह्य क्षेत्रका अधिकांश सूचक धनात्मक
अर्थतन्त्रका बाह्य क्षेत्रका अधिकांश सूचक धनात्मक रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । देशबाट बाहिरिने र भित्रिने पैसाबीचको अन्तर शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब २८ अर्ब ५५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालू आर्थिक वर्षको माघसम्म दुई अर्ब २४ करोडले बचतमा छ ।

त्यस्तै, चालू खाता एक खर्ब ६१ अर्ब ६९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४० अर्ब १६ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालू खाता चालू आवको माघसम्म एक अर्ब २२ करोडले बचतमा रहेको तथ्यांकले देखाएको छ ।

नेपालमा वैदेशिक लगानी भित्रिने क्रममा सुधार आउँदा खुद प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) पाँच अर्ब १८ करोडले धनात्मक छ । नेपालमा भित्रिने प्रत्यक्ष लगानी र विदेशी लगानीकर्ताले फिर्ता लैजाने रोयल्टी वा लाभांशको अन्तर नै एफडिआई हो । गत आवको सात महिनामा एफडिआई एक अर्ब चार करोडले धनात्मक थियो । 

थुप्रिँदै विदेशी मुद्रा सञ्चिति
नेपालमा विकास निर्माणका गतिविधि चलायमान हुन नसक्दा विदेशी मुद्रा सञ्चिति थुप्रिन थालेको छ । सात महिनामा सञ्चितिमा १९.९ प्रतिशतले वृद्धि भएको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये दुई खर्ब २१ अर्ब दुई करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थासँग रहेको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकसँग मात्रै १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ छ ।

 अमेरिकी डलरका आधारमा विदेशी मुद्रा सञ्चिति १३ अर्ब ८९ करोड पुगेको छ । गत असारसम्म यस्तो सञ्चिति ११ अर्ब ७१ करोड थियो । कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय रुपैयाँको हिस्सा २२.६ प्रतिशत छ । सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ महिना २१ दिनको वस्तु आयात र १२ महिना नौ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको केन्द्रीय बैंकले जनाएको छ ।

सरकारका खातामा थुप्रियो दुई खर्ब १५ अर्ब  
सरकारको आम्दानीले खर्च धान्न नसकेको टिप्पणी भइरहेका वेलामा राष्ट्र बैंकमा रहेको विभिन्न सरकारी खाताहरूमा दुई खर्ब १५ अर्ब २६ करोड रुपैयाँ थुप्रिएको तथ्यांक छ । यसमा संघ, प्रदेश र स्थानीय सरकारको पैसा पनि समेटिएको छ । गत असारसम्म यस्तो पैसा ६५ अर्ब ३६ करोड रुपैयाँ थियो । सरकारले आफ्नो खातामा रहेको रकमलाई उचित व्यवस्थापन गर्न नसक्दा सार्वजनिक वित्त प्रभावित भई विकास निर्माणमा समेत असर परिरहेको छ । 

सात महिनामा संघीय सरकारको कुल खर्च ६ खर्ब ८६ अर्ब ७५ करोड भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो सात महिनामा १३.० प्रतिशतले वृद्घि भएको थियो । तर, चालू आर्थिक वर्षमा २.९ प्रतिशतले मात्रै वृद्घि भएको छ । समीक्षा अवधिमा चालू खर्च पाँच खर्ब नौ अर्ब चार करोड, पुँजीगत खर्च ६३ अर्ब ५८ करोड र वित्तीय व्यवस्था खर्च एक खर्ब १४ अर्ब १३ करोड रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

सात महिनामा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) पाँच खर्ब ६७ अर्ब ४० करोड भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा १६.१ प्रतिशतले घटेको थियो । माघसम्ममा १०.२ प्रतिशतले बढेको छ । यसअन्तर्गत कर राजस्व पाँच खर्ब १० अर्ब ५० करोड र गैरकर राजस्व ५६ अर्ब ९१ करोड परिचालन भएको छ । 

कर्जा विस्तार ४.१ प्रतिश
माघसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ९७ अर्ब २१ करोडले बढेको छ । यो गत आर्थिक वर्षको सात महिनाको तुलनामा ४.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ४८ अर्ब १२ करोडले बढेको थियो । जुन ३.२ प्रतिशतको वृद्धि थियो ।

ad
ad