सन् २०२३ पछिल्लो ६ वर्षयताकै सर्वाधिक तातो रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार समीक्षा वर्ष (२०२३) मा नेपालको वार्षिक औसत अधिकतम तापक्रम २७.९ र औसत न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस मापन भएको हो ।
यसअघि सन् २०१८ मा वार्षिक औसत अधिकतम तापक्रम २७.५ डिग्री मापन भएको थियो । त्यसपछिका वर्षमा वार्षिक औसत अधिकतम तापक्रम २०१९ मा २७.२, २०२० मा २६.३, २०२१ मा २७.२ र २०२२ मा २७.३ डिग्री मापन भएको थियो ।
जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठ विश्वव्यापी तापमान वृद्धिको असरस्वरूप नेपालमा पनि तापमान उकालो लागिरहेको बताउँछन् । ‘गत वर्ष एलिनोलगायत कारणले दक्षिण एसियामा औसतभन्दा कम वर्षा भयो ।
तापक्रम बढ्नुमा त्यो पनि एउटा कारण हुन सक्छ,’ उनले भने, ‘तर, दशकौँको तथ्यांक हेर्दा हरेक वर्ष तापक्रम उकालो लागिरहेको छ, यो हाम्रा कारणले भन्दा पनि विकसित राष्ट्रका कारणले हो ।’ हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका गौण रहे पनि असर भोगिरहेको उनी बताउँछन् ।
गत वर्ष सरदर वार्षिक अधिकतम तापक्रम ०.६ र न्यूनतम तापक्रम ०.५ डिग्री धेरै पुगेको छ । पछिल्लो ३० वर्ष (सन् १९९१ देखि २०२०) को औसतलाई आधार मानेर सरदर वार्षिक अधिकतम तापक्रम निकालिएको हो । जसमा ५५ स्टेसनको तापक्रम विश्लेषण गरिएको छ । समीक्षा वर्षमा तराई–मधेशमा औसत वार्षिक अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा धेरै रह्यो भने उच्च पहाडी भेगमा १८ डिग्री सेल्सियसभन्दा कम रहेको थियो ।
१२ स्टेसनमा दैनिक अधिकतम तापक्रमले रेकर्ड ब्रेक गरेको छ । जसमा बन्दीपुर, चतरा, चौतारा, धरान बजार, दुम्कौली, वीरेनचोक गोरखा, जनकपुर एयरपोर्ट, कन्याम टी स्टेट, ओखलढुंगा, रामपुर, सिमरा एयरपोर्ट र सिराहाका स्टेसन छन् । नवलपुरको दुम्कौली स्टेसनमा ९ जुन २०२३ मा ४४.८ डिग्री सेल्सियस तापक्रम मापन भएर रेकर्ड तोडेको छ । जब कि यो स्टेसनमा ५ जुन १९७९ मा अधिकतम ४३.७ डिग्री तापक्रम मापन भएको थियो ।
दशकौँको तथ्यांक हेर्दा हरेक वर्ष तापक्रम उकालो लागिरहेको छ
मदनलाल श्रेष्ठ पूर्वमहानिर्देशक, जल तथा मौसम विज्ञान विभाग
विश्वव्यापी तापमान वृद्धिको असरस्वरूप नेपालमा पनि तापमान उकालो लागिरहेको छ । गत वर्ष एलिनोलगायत कारणले दक्षिण एसियामा औसतभन्दा कम वर्षा भयो । तापक्रम बढ्नुमा त्यो पनि एउटा कारण हुन सक्छ । तर, दशकौँको तथ्यांक हेर्दा हरेक वर्ष तापक्रम उकालो लागिरहेको छ, यो हाम्रा कारणले भन्दा पनि विकसित राष्ट्रका कारणले हो । हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका गौण रहे पनि असर भोगिरहेको छौँ ।