१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पूर्व–पश्चिम मध्यपहाडी चार सय केभी प्रसारणलाइन बनाइँदै

परियोजना बनाउन झन्डै आठ खर्ब रुपैयाँ आवश्यक पर्ने प्राधिकरणको अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३२:oo
  • पूर्वको अरुण हब–तिंगला–खिम्ती–लप्सीफेदीसम्म चार सय केभीको प्रसारणलाइन बनाउने प्राधिकरणको प्रस्ताव 
  • लप्सीफेदीबाट पश्चिम दमौलीसम्म भने अमेरिकी संस्था मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)को अनुदान र सरकारकै लगानीमा चार सय केभी क्षमताकै प्रसारण बन्दै 
  • हुलाकी राजमार्ग साइटमा बन्ने प्रसारणलाइनको लमही–दोधारा खण्डमा भने भारतको एक्जिम बैंकले सहुलियत ऋण दिने प्रारम्भिक सहमति 
  • एक्जिम बैंकले नेपालको सडक निर्माणमा उपलब्ध गराउँदै आएको सहुलियत ऋणलाई प्रसारणलाइनमा रूपान्तरण (रकमान्तर) गर्ने गरी प्रक्रिया अघि बढाइयो

नेपाल विद्युत् प्राधिकरणले पूर्व–पश्चिम मध्यपहाडी प्रसारणलाइन बनाउने गरी महत्वाकांक्षी परियोजना अघि बढाएको छ । पहाडी क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म चार सय केभी क्षमताको प्रसारणलाइन बनाउने गरी प्राधिकरणले सम्भाव्यता अध्ययन अघि बढाएको हो ।

पूर्वको अरुण हबदेखि तिंगला–खिम्ती–लप्सीफेदी–दमौली हुँदै पश्चिमको सेती करिडोरसम्म प्रसारणलाइन बनाउने योजना प्राधिकरणको छ । सोही लक्ष्यअनुसार हाल यसको सम्भाव्यता अध्ययन भइरहेको प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । ‘यसका लागि रुट पहिचान गर्नेलगायत प्राविधिक अध्ययन तथा सम्भाव्यता अध्ययन गर्ने काम भइरहेको छ । सम्भाव्यता अध्ययनको प्रतिवेदन आएपछि सोहीअनुसार यो परियोजनाको विकास प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘सञ्चालनमा रहेका, निर्माणाधीन र योजनामा रहेका अधिकांश जलविद्युत् आयोजना पहाडी क्षेत्रमै छन् । त्यहाँबाट उत्पादिन विद्युत्लाई सहज रूपमा राष्ट्रिय ग्रिडमा जोड्ने गरी यो परियोजनाको अध्ययन गरिरहेका छौँ । यसलाई प्रचलित तथा भविष्यमा बन्ने अन्य प्रसारणलाइन तथा सबस्टेसनमा अन्तरआबद्धता पनि गरिनेछ ।’ हाल पहाडी क्षेत्रमा पूर्व–पश्चिम प्रसारणलाइन छैन ।

पूर्वको अरुण हब–तिंगला–खिम्ती–लप्सीफेदीसम्म चार सय केभीको प्रसारणलाइन बनाउने प्राधिकरणको प्रस्ताव छ । लप्सीफेदीबाट पश्चिम दमौलीसम्म भने अमेरिकी संस्था मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)को अनुदान र सरकारकै लगानीमा चार सय केभी क्षमताकै प्रसारण बन्दै छ, त्यसमै मध्यपहाडी प्रसारणलाइनलाई अन्तरआबद्ध गर्ने प्राधिकरणको योजना छ । दमौलीबाट भने पश्चिमतर्फ रुकुम–पश्चिमको बाफीकोट हुँदै सेती करिडोरसम्म प्रसारणलाइन पुर्‍याउने गरी प्राधिकरणले अध्ययन गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस परियोजनाको सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगिसकेको बताए । यो लाइन बनेमा उत्पादित विद्युत् प्रसारण गर्न धेरै सहज हुने उनले बताए ।

हुलाकी राजमार्गको छेउमा पनि चार सय केभीकै पूर्व–पश्चिम प्रसारणलाइन
प्राधिकरणले तराईमा निर्माणाधीनमा पूर्व–पश्चिम हुलाकी राजमार्गको छेवैबाट चार सय केभीकै पूर्व–पश्चिम प्रसारणलाइन बनाउने गरी पनि अध्ययन अघि बढाएको छ । पूर्वको अनारमनीदेखि निजगढसम्म र गण्डकदेखि पश्चिम दोधारासम्म चार सय केभीको प्रसारणलाइन बनाउने गरी प्राधिकरणले अध्ययन अघि बढाएको छ । बीचको भाग अर्थात् निजगढदेखि गण्डकसम्म भने तत्काललाई थप प्रसारणलाइन नबनाउने प्राधिकरणको योजना छ । 

 लमही–दोधारा खण्डमा एक्जिम बैंकको सात सय मिलियन डलर 
हुलाकी राजमार्ग साइटमा बन्ने प्रसारणलाइनको लमही–दोधारा खण्डमा भने भारतको एक्जिम बैंकले सहुलियत ऋण दिने प्रारम्भिक सहमति भएको छ । एक्जिम बैंकले नेपालको सडक निर्माणमा सहुलियत ऋण उपलब्ध गराउँदै आएको छ, त्यही शीर्षकको बजेट प्रसारणलाइनमा रूपान्तरण (रकमान्तर) गर्ने गरी प्रक्रिया अघि बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार एक्जिम बैंकले यसमा सात सय मिलियन डलर लगानी गर्नेछ । अन्य विभिन्न प्रसारणलाइनमा समेत एक्जिम बैंकले लगानी गर्ने गरी छलफल अघि बढेको उनले बताए । 

ad
ad