१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न पुगेका दर्शनार्थी । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

आठ लाखले गरे पशुपतिनाथको दर्शन

चारै ढोका खोल्दा दर्शनार्थीलाई सहज

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o८:oo

महाशिवरात्रिको दिन शुक्रबार सबेरैदेखि रातिसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार बिहान दुई बजेदेखि पशुपतिनाथको दर्शन गर्न लाइन लागेका दर्शनार्थीले मन्दिरका चारवटै ढोकाबाट दर्शन गरे ।

चारवटै ढोका खोलिएकाले दर्शनार्थीले लामो समय लाइन बस्नु नपरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवधिमा नेपाल, भारत, मलेसिया, बंगलादेश, भुटान, जर्मनी, बेलायत, अमेरिकालगायत देशका भक्तजनले पशुपतिनाथ दर्शन गरेका छन् । यसमध्ये अधिकांश नेपाली र भारतीय भक्तजन पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेको कोषका सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए । 

‘बिहान दुई बजेदेखि दिनभर तथा अहोरात्र दर्शन गर्ने व्यवस्था गरिएको थियो, यस अवधिमा करिब आठ लाखले मन्दिर दर्शन गरे, शिवरात्रिमा कुनै पनि नकारात्मक गतिविधि भएन,’ उनले भने, ‘शनिबार बिहान ६ बजेसम्म भक्तजनले दर्शन गर्नेछन् ।’ शनिबार बिहान ६ बजे प्रहर पूजा गरेपछि मात्रै शिवरात्रि विशेष दर्शन सकिनेछ । 

कोषले यसपटक फूल र बत्तीको सजावटका लागि एक करोड बजेट विनियोजन गरेको थियो । मन्दिरआसपास र गेटमा सजावट गर्न कोषले ३० लाखको फूल प्रयोग गरेको छ । यस्तै, १० लाख हाराहारीको बत्ती प्रयोग भएको छ । बिहानैदेखि भक्तजनको भिडभाड हुने भएकाले ठाउँ–ठाउँमा चहकिला लाइट जडान गरिएको थियो ।

कोषले शिवरात्रिको मुख्य आकर्षण दर्शन नै भएकाले यसका लागि सहज व्यवस्था मिलाएको दाबी गरेको छ । चारवटा प्लाइट तिलगंगा, गौशाला प्रहरी वृत्तअगाडि, जयबागेश्वरी र एयरपोर्टतर्फका प्वाइन्टबाट भक्तजन लाइनमा बसेका थिए । महाशिवरात्रिका दिन यसपटक पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । शिवरात्रि व्यवस्थित बनाउन कोषका सदस्यसचिवको संयोजकत्वमा सुरक्षा व्यवस्था उपसमिति गठन गरिएको थियो । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रहरी र सेनाले शान्ति–सुरक्षाको व्यवस्था मिलाएका थिए । 

आइतबार साधुसन्तलाई बिदाइ
शिवरात्रिको अवसरमा यसपटक साधुसन्तको संख्या पनि उल्लेखनीय थियो । पशुपतिनाथको मुख्य मन्दिरपरिसरमा मात्रै सात सय ५० जना थिए । यसबाहेक राम मन्दिर र बाहिरी क्षेत्रमा दुई हजार हाराहारी साधुसन्त थिए । त्यसमध्ये दुई सय २० जना नागा बाबा थिए । शिवरात्रि सकिएसँगै उनीहरूलाई आइतबार विधिपूर्वक बिदाइ गरिनेछ । कोषले पशुपतिनाथमा आएका साधुसन्तलाई दक्षिणा दिएर बिदाइसमेत गर्छ । 

राष्ट्रपतिद्वारा दर्शन र पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरे । साँझ ४:३० बजे मन्दिर पुगेर राष्ट्रपतिले पूजा तथा आराधना पनि गरे । पूजा–आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गरेका थिए । 

राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, कोषका सदस्यसचिव राजु खत्रीलगायतले स्वागत गरेका थिए । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा–आराधना एवं दर्शन गर्ने परम्परा रहँदै आएको छ । 
 

ad
ad