पेनाल्टी सुटआउटमा संकटा क्लबलाई ४–२ ले हराउँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले शनिबारबाट सुरु भएको झापा गोल्डकपको छैटौँ संस्करणमा सुखद सुरुवात गरेको छ । एपिएफले सोमबार बागमती युवा क्लबसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा एपिएफका गोलकिपर एन्जल श्रेष्ठ चम्किए । उनी नै खेलको प्लेयर अफ दी म्याच घोषित भए । उनले पेनाल्टीमा संकटाका अजित लामाको प्रहारलाई उत्कृष्ट बचाउ गरे । दोस्रो पेनाल्टी लिएर आएका मौसम सुब्बाको प्रहार पोस्टमा लाग्दै फर्कियो । संकटाका यमनबहादुर पटुवार र चन्दन दासले गोल गरेका हुन् । एपिएफका लागि सुमन श्रेष्ठ, कुलदीप कार्की, फोडे फोफोना र दिपेश धिमालको प्रहार गोल भयो ।
उद्घाटन खेल नै ८० मिनेट
छौटौँ संस्करणको पहिलो खेल निकै प्रतिस्पर्धात्मक भए पनि ८० मिनेट मात्रै खेलाइयो । उद्घाटन सत्र लामो समय भएपछि ८० मिनेट मात्रै खेलाइएको हो । ‘लो लाइट’ भएपछि रेफ्रीले ८० मिनेटको मात्रै खेल खेलाएका हुन् । पहिलो हाफमा एपिएफ निकै आक्रामक देखियो ।
पहिलो हाफको चौथो मिनेटमा अनमार्क रहेका एपिएफका बुद्धिमान राईले फोफोनाको क्रसलाई सदुपयोग गर्न सकेनन् । गोलकिपर विजय घलेसँग ‘वान भर्सेस वान’ रहेका बुद्धिमानले बललाई नियन्त्रणमा लिन नसक्दा अर्काे मौका खेर फ्याले । ७५औँ मिनेटमा मैदानको मध्यभागबाट आएको बललाई एपिएफका प्रदीप लामाले प्रहार गरे पनि पोस्टको दिशा पाउन सकेन ।