१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १५:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सात वर्षदेखि विकास मोडेलकाे नेतृत्व भरतपुरले गरेकाे छ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:५२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन्। 

‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न कार्यक्रम महत्त्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको बताएका हुन्। 

विशिष्ट पाहुनाहरूबाट एक सय ५० वर्षदेखि चितवनका जंगलमा सिकार यात्रा गरेको इतिहास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम जंगल सफारीको सुरुवात टाइगर टपले मेघौलीनजिक चितवनबाट भएको स्मरण गरे। 

पछिल्लो सात वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिंगो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आमजनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए। 

प्रधानमन्त्रीले गौरवका आयोजनाहरू रिङरोड, सिक्स लेन रोड, तटबन्धन, सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला, विमानस्थल, नारायणी ‘सी–बीच’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे। 

उनले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने दाबी गरे। ‘विविध प्राकृतिक सम्पदाले समृद्ध चितवनको भरतपुर महानगरपालिका नेपालकै उत्कृष्ट स्थानीय सरकारको सूचिमा अग्रसर महानगरपालिका हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कृषि, सहकारी, उद्योग, पर्यटनजस्ता क्षेत्रहरूलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क, संग्रहालय, विमानस्थल, रिङरोड, लिंकरोड, हुलाकीमार्ग, पूर्व–पश्चिम राजमार्ग, होटेल, रिसोर्टजस्ता पर्यटन विकासका लागि प्रशस्त पूर्वाधारहरू छन्।’

चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘जैविक विविधता प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण प्रवर्द्धन गर्दै पर्यटन विकासमा निरन्तर अग्रसर यस महानगरपालिकामा एकातर्फ पर्या–पर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन आदिको क्रमिक विकास भएको छ।’

अनुपम प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमशृंखलाको दृश्यावलोकन एवं समथर तराईको भू–भागको दृश्यावलोकनलगायतका प्राकृतिक आकर्षणहरू रहेको उल्लेख गरे। 

पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदाहरूको प्रचारप्रसार गरी पर्यटकको संख्या र बसाइ अवधि वृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको यस बृहत् प्रवर्द्धनात्मक अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ पर्यटन प्रवर्द्धनमा एउटा ऐतिहासिक कदम भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुनेमा विश्वस्त व्यक्त गरे।  

ad
ad