१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मार्जिन कारोबार गर्न एक सय १२ कम्पनी योग्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२७:oo

मार्जिन कारोबार गर्न सक्ने कम्पनीको संख्या एक सय १२ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार गर्न योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको हो । जसमा १९ वाणिज्य बैंक, आठ विकास बैंक, ४० वटा माइक्रोफाइनान्स कम्पनी, २१ वटा इन्स्योरेन्स कम्पनी, ६ वटा उत्पादनमूलक कम्पनी रहेका छन् । त्यस्तै, १६ जलविद्युत् कम्पनीका साथै नेपाल रिइन्स्योरेन्स र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबार गर्न योग्य रहेको सूची नेप्सेले सार्वजनिक गरेको छ । अघिल्लो वर्ष मार्जिन कारोबार गर्नका लागि योग्य सूचीकृत कम्पनी ८७ वटा मात्र रहेका थिए ।  

नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबार योग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ । ब्रोकरले लगानीकर्तालाई आफूसँग भएको रकमभन्दा बढी रकमको सेयर खरिद गर्न दिएको सुविधा मार्जिन कारोबार हो । यस्तो ऋण सेयर ब्रोकरले उपलब्ध गराउँछन् । यसरी ऋण दिलाएबापत सेयर ब्रोकरले ब्याज अथवा अन्य शुल्क लिन्छन् । तर, लगानीकर्ताले मार्जिन कारोबार गर्न आफूले चाहेअनुसारको कम्पनी छनोट गर्न पनि सक्दैनन् ।

नेप्सेले सूचीकृत गरेका कम्पनीमध्येबाटै मार्जिन कारोबारको सुविधा लिएर सेयर खरिद गर्न सक्छन् । धितोपत्र बोर्डको निर्देशनअनुसार मार्जिन कारोबारयोग्य कम्पनी हुन कम्तीमा १० हजार सेयरधनी हुनुपर्छ भने खुद सम्पत्ति ऋणात्मक नभएको हुनुपर्छ । त्यस्तै, पछिल्लो दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश (डिभिडेन्ट) वितरण गरेको हुनुपर्छ । दोस्रो बजारमा कम्तीमा ८० प्रतिशत दिनमा सेयर कारोबार भएको हुनुपर्छ भने आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको हुनुपर्छ । यी पाँचवटा मापदण्ड पूरा गरेको कम्पनीलाई मात्रै मार्जिन कारोबार सुविधा दिन सकिने कार्यविधिमा उल्लेख छ । 

 ब्रोकर कम्पनी अनुमति लिन्छन्, तर कारोबार गर्दैनन्  
धितोपत्र व्यापारी तथा धितोपत्र दलालले नेप्सेबाट मार्जिन कारोबारका लागि अनुमति लिए पनि कुन ब्रोकर कम्पनीले कारोबार गरेका छैनन् । अहिले नेप्सेको सदस्य ब्रोकर संख्या ८६ छन् भने दुईवटा स्टक डिलर छन् ।नेप्सेका अनुसार चालू आर्थिक वर्षका लागि २८ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि अनुमति लिएका छन् । तर, अहिलेसम्म कुनै पनि मार्जिन कारोबार नगरेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

उनले भने, ‘अनुमति लिने मात्र काम भएको छ, तर हालसम्म कुनै पनि ब्रोकर कम्पनीले मार्जिन कारोबार गरेका छैनन् ।’ पछिल्लो समय बढ्दै गएको उधारो सेयर खरिद–बिक्री नै मार्जिन कारोबार हुन नसक्नुको प्रमुख कारण रहेको एक ब्रोकरले बताए । उनले भने, ‘लाखौँ रुपैयाँको सेयर लगानीकर्ताले उधारोमा किन्न पाइरहेका छन् भने कसलाई यो मार्जिन कारोबारको झन्झन्टमा गरोस्, त्यसलै यो कार्यान्वयनमा आउला र यो अघि बढ्ला भन्ने लाग्दैन ।’

नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले मार्जिन कारोबार गर्न कानुनी रूपमै तयारी नभएको बताए । अहिले नेप्सेको सिस्टममा मार्जिनको कारोबार हो वा नगदको कारोबार हो भन्ने विकल्प नभएको उनको भनाइ छ । ‘एउटा सिस्टम बनेको छैन भने अर्कोे कार्यविधिकै भरमा मार्जिन कारोबार गर्न सकिन्न, त्यसका लागि नियमावली वा ऐन नै ल्याउनुपर्छ,’ उनले भने, ‘मार्जिन कारोबार गर्नका लागि योग्य एक सय १२ वटा कम्पनी पनि धेरै कम हो, यसमा अन्य योग्य कम्पनी पनि थप हुनुपर्छ ।’

ad
ad