१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
photo : WAFF
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १६ बुधबार ००:५१:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

लेबनानलाई हराउँदै नेपाल फाइनलमा, साम्बाले बराबरी गोल गर्दा प्रीति राईले गरिन् विजयी गोल

बिहीबार राति हुने फाइनल खेलमा नेपालले जोर्डनको सामना गर्ने, महिला फुटबलमा उपाधिको खडेरी तोड्ने सुनौलो अवसर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १६ बुधबार ००:५१:००

आमन्त्रित टोलीको रूपमा सहभागी भएको नेपाल वेस्ट एसियन फुटबल फेडरेसन (वाफ) वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल प्रवेश गरेको छ । 

भर्खरै सकिएको दोस्रो सेमिफाइनलमा लेबनानलाई २–१ गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि यात्रा तय गरेको हो । 

नेपाललाई फाइनलमा पुर्‍याउन प्रीति राईले अन्तिम समयमा निर्णायक गोल गरिन् । दोस्रो हाफको नियमित समय सकिएर थपिएको अतिरिक्त समयको चौथो मिनेटमा प्रीतिले करिब ३० यार्ड परबाट गरेको सशक्त प्रहार दोस्रो बार च्याप्दै गोलमा परिणत भयो । 

त्यसअघि ७४औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले नेपाललाई बराबरी गोल गरेकी थिइन् । वन भर्सेस वनको अवस्थामा बललाई पोस्टको दिशा दिन असमर्थ भए पनि सोही बललाई लेबनानका डिफेन्डरले क्लियर गर्ने कोसिस गरिरहेका वेला खोसेर साम्बाले गोल गरेकी थिइन् । 

त्यसअघि ३८औँ मिनेटमा नेपाल आत्मघाती गोल खाएपछि खेलमा पछि परेको थियो । डी बक्सभन्दा निकै अगाडिबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सीधै गोलपोस्टमा प्रवेश गरेपछि लेबनानले खेलमा अग्रता लिएको थियो । 

खेल अवधिभर नेपालले २० भन्दा बढी पटक गोलका लागि प्रयास गरेको थियो । एक गोलले पछि परेपछि दोस्रो हाफमा नेपाल थप आक्रामक बनेको थियो । लगातार प्रयास गर्दा पनि गोल निस्कन नसकिरहेका वेला सावित्राले डडलक तोडेकी हुन् । 

अब नेपालले उपाधिका लागि बिहीबार जोर्डनको सामना गर्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० ले हराउँदै जोर्डन फाइनल प्रवेश गरेको हो । 

जोर्डन जारी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । अन्तर्राष्ट्रिय खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आए पनि नेपाली महिला टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । जोर्डनलाई हराउन सके नेपालले उपाधि अभावको खडेरी तोड्नेछ ।