१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १५ मंगलबार o६:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

बैंक तथा वित्तीय संस्था फेल हुने अवस्थामा छैनन् : गभर्नर अधिकारी

‘तथ्यांक नहेरी र बैंकिङ नबुझी बैंकलाई मिटरब्याजी भनियो, देशको आर्थिक अवस्था सबल रहे पनि अनुभव हुन सकेन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार o६:o८:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको कुनै पनि बैंक तथा वित्तीय संस्था फेल हुने अवस्थामा नरहेको बताएका छन् । पछिल्लो समय बैंकहरू डुब्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भमा उनले केन्द्रीय बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाहरू डुब्ने अवस्थामा नरहेको स्पष्ट पारेका हुन् ।

 नेपाल बैंकर्स संघ (एनबिए)ले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपालको बैंकिङ क्षेत्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका हुन् । ‘कतिपय बैंक फेल हुन थाल्यो, डुब्न थाल्यो भनेर अफवाह माहोल बनाइएको छ, तर त्यस्तो अवस्था छैन,’ उनले भने, ‘बैंकहरू डुब्ने अवस्थामा छैनन्, त्यस्तो अवस्था आउन हामी दिँदैनौँ, राष्ट्र बैंकले रोक्न सक्छ ।’ यसअघि बैंक तथा वित्तीय संस्था कमजोर हुँदा पनि केन्द्रीय बैंकले जोगाएर बलियो बनाएको भन्दै उनले सर्वसाधारणलाई ढुक्क हुन आग्रह गरे ।

अहिले बैंकमा भन्दा पनि सामाजिक परिवेश र माहोलमा समस्या रहेको उनले बताए । उनले आफू गभर्नर भएर आउँदा र अहिलेको तुलनामा बैंककको पोर्टफोलियो बढे पनि नाफा नबढेको बताए । ‘म गभर्नर हुँदा बैंकिङ क्षेत्रको पोर्टफोलियो ३२ खर्ब हाराहारीको थियो, त्यसवेला बैंकले ७० अर्ब नाफा कमाउँथे,’ उनले भने, ‘अहिले बैंकको पोर्टफोलियो ५० खर्ब भयो । तर, नाफा ७० अर्ब नपुग्ने अवस्था छ । तथ्यांक नहेरी बैंकलाई गाली गरियो ।’

 बैंक डुब्दा चुलोसम्मै प्रभाव पर्छ
गभर्नरले नेपालमा अहिले बैंक तथा वित्तीय संस्था डुब्ने अवस्थामा नरहेको भए पनि डुबेको अवस्थामा भने त्यसको असर सर्वसाधारणको चुलोसम्मै पर्ने बताए । ‘कुनै पनि बैंक तथा वित्तीय संस्था डुब्दा देशको अर्थतन्त्र र सर्वसाधारणको चुलोसमेत प्रभावित हुन्छ,’ उनले भने । विकसित मुलुकमा बैंक डुब्दा छिट्टै रिकभरी हुने प्रणाली रहेको उनले बताए । नेपालमा भने बैंक नडुब्ने गरी प्रणाली बनाइएको उनको दाबी थियो ।

 गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थालाई चेतावनीसमेत दिएका छन् । उनले एउटा संस्था बिग्रँदा अरू खुसी भएको भन्दै त्यस्तो प्रवृत्तिले सबैलाई असर गर्ने बताए । ‘एउटा संस्था बिगँ्रदा खुसी हुने प्रवृत्ति देखियो,’ बैंकरलाई उनले भने, ‘अरूलाई खाएको बाघले आफूलाई पनि खान्छ, यसमा सचेत हुनुहोला ।’ अहिले कुनै एक बैंकको पछि लागेर फेलिएर बनाउन खोजेको देखिएको भन्दै उनले भने, ‘यो अराजकता हो । एउटा बैंक तथा वित्तीय संस्था बिग्रँदा त्यसको असर ठूलो हुन्छ ।’ 

 अर्थतन्त्र सबल छ, अनुभव भएन 
गभर्नर अधिकारीले अहिले देशको आर्थिक अवस्था सबल रहे पनि अनुभवचाहिँ हुन नसकेको बताए । ‘१४ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ । बिओपी नाफामा छ । सरकारले खर्च बढाउन सक्ने स्पेस छ, बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सक्ने ठाउँ छ,’ उनले भने, ‘तर, माहोल अर्कै छ । भएको वास्तविकता र अनुभव फरक देखिएको छ ।’ खासगरी निर्माण क्षेत्र सुस्त हुँदा र सहकारीमा समस्या आउँदा त्यसको प्रभाव बैंकिङ क्षेत्रमा पनि देखिएको उनले बताए । ‘अहिलेको समस्या रि–पेमेन्ट (कर्जा भुक्तानी)को हो, यसमा चालू पुँजी कर्जा मार्गदर्शन, सहकारीको समस्या तथा निर्माण क्षेत्रको सुस्तता पनि कारण हो,’ उनले भने, ‘अहिले केही दुःख भए पनि कतिपय नीतिगत व्यवस्थाको राम्रो परिणाम पछि देखिन्छ ।’ 
 

ad
ad
ad
ad