१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नेदरल्यान्ड्सविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल ब्याटिङ गर्दै । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२०८० फाल्गुण १४ सोमबार ०७:११:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लिग–२ को पहिलो शृंखला : घरेलु मैदानमै चलेन नेपालको ब्याटिङ

आइसिसी विश्वकप लिग–२ मा खराब ब्याटिङका कारण चारमध्ये तीन खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्न सकेन 

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०८० फाल्गुण १४ सोमबार ०७:११:००

नेपालले घरेलु मैदानमा भएको आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशी शृंखलाको चारमध्ये तीन खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । चारमध्ये तीन खेलमा पराजित भएसँगै लिग–२ को पहिलो शृंखला नेपालका लागि सुखद भएन । चार वर्षमा एसोसिएटतर्फ नम्बर एक हुने लक्ष्य राखेको नेपालले घरेलु मैदानमा चार खेलबाट दुई अंक जोडेको छ ।

त्रिवि क्रिकेट मैदानमा एक खेलमा टस जितेको नेपाल बाँकी तीन खेलमा टस हारेको थियो । टस जितेको खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । नेपाल नामिबियासँग दुई र नेदरल्यान्ड्ससँग एकपटक पराजित भयो । त्रिवि मैदानमा टस हारेर सुरु ब्याटिङ गरेको नामिबियाले मात्र एक खेलमा जित निकाल्यो । लिग–२ को पहिलो शृंखलामा नामिबिया, नेदरल्यान्ड्स र नेपालले टस जितेपछि बलिङ नै रोजेका थिए । 

त्रिवि मैदानमा बिहानको सत्रमा पिच बलरलाई सहयोग गरेको देखिएको छ । रातिको शीतका कारण मैदान ओसिलो हुने गरेको छ । जसको फाइदा सुरुमा फिल्डिङ गर्ने टोलीले लिएको हो । घाम बढ्दै गएपछि मैदानको वातावरण ब्याटिङमैत्री हुँदै गएको हुन्छ । जसका कारण ब्याट्सम्यानले खुलेर रन बनाएका छन् । नेपालका प्रशिक्षक मोन्टी देसाई नेपाली खेलाडी त्रिवि पिचको जानकार रहे पनि यसपटक असफल भएको बताए । ‘त्रिवि मैदानमा हामी सधैँ अभ्यास गर्छाैँ । पिएम कप खेलेका छौँ । सधैँ ब्याटिङमैत्री पिच थियो, तर यो शृंखलामा हाम्रो ब्याटिङ नै राम्रो हुन सकेन,’ चारमध्ये तीन खेल हारेपछि प्रशिक्षक मोन्टीले भने । 

पछिल्लो वर्ष नेपालले मोन्टीकै प्रशिक्षणमा १२ मध्ये पछिल्ला ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो । त्यसपछि पुनः लिग–२ को नयाँ अध्याय सुरु भएको हो । अब, नेपालले यो शृंखलासँगै आठ राष्ट्र सम्मिलित लिग–२ बाट अगाडि बढ्दै एकदिवसीय विश्वकपको ढोका खोल्ने तयारी गरेको छ । ‘हामी एसोसिएट उत्कृष्ट टोलीविरुद्ध खेलिरहेका छौँ, अब बाँकी खेलका लागि धेरै मिहिनेत गर्नुपर्छ । यस्ता हारले टोलीमा समस्या आउँछ । हामी ती चुनौतीको सामना गर्न तयार भएर बस्नुपर्छ ।’

तीनवटै पहिलो ब्याटिङमा अलआउट 
नेपालले लिग–२ खेल्नुअघि क्यानडाविरुद्धको एकदिवसीय शृंखलामा राम्रो प्रदर्शन गरेको थियो । नेपालले क्यानडाविरुद्धको क्लिन स्विप गरेको थियो । क्यानडाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका अनिलकुमार शाह र देव खनालले राष्ट्रिय टोलीमा कमब्याक गरे । तर, विश्वकप लिग–२ मा नेपालले त्रिवि मैदानमा त्यही स्तरको प्रदर्शन गर्न सकेन । नराम्रो पक्ष के रह्यो भने नेपालले तीन खेलमा पहिलो ब्याटिङ गर्दा पूरा ५० ओभरसम्म खेल्न सकेन । पहिलो खेलमा नामिबियाविरुद्ध ४१.१ ओभरमा अल आउट हुँदा मात्र एक सय ३२ रन बनायो । दोस्रो खेलमा नेदरल्यान्ड्स पनि नेपालविरुद्ध ३९ ओभरमा मात्र एक सय ३७ रन समेटियो । 

तेस्रो खेलमा नेपाल नामिबियाविरुद्ध दुई विकेटले पराजित हुँदा ३७.१ ओभर मात्रै खेल्यो । नेपालले पहिलो ब्याटिङ गरी एक सय ६८ रन बनाएको थियो । चौथो खेलमा टस हारेको नेपाल सुरुवात राम्रो गरे पनि ४९.३ ओभरमा अलआउट भयो । ‘हामीले पूरा तीन खेलमै उही प्रदर्शन गरेका छौँ । यस्तो खेलमा खेलाडीले क्षमता देखाउनुपर्छ,’ प्रशिक्षक मोन्टीले भने, ‘हरेक खेल महत्वपूर्ण र दबाबपूर्ण हुन्छन् ।’ ओपनर आसिफ शेख हरेक खेलमा टसले अर्थ राख्ने बताउँछन् । उनी जुनसुकै अवस्थामा पनि ब्याट्सम्यान तयार हुनुपर्ने बताए । ‘यस सिरिजमा हरेक खेलमा टसले ठूलो अर्थ राखेको छ, बिहानी सत्र सधैँ चुनौतीपूर्ण हुन्छ । तर, ब्याट्सम्यान यसको सामना गर्न सधैँ तयार हुनुपर्छ,’ उनले भने। 

नेदरल्यान्ड्सको बदला 
लिग–२ को आफ्नो पहिलो खेलमा नेपालसँग पराजित नेदरल्यान्ड्सले आइतबार दोस्रो भेटमा आठ विकेटको जित निकाल्यो । पहिलो ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकको सहयोगमा ४९.३ ओभरमा एक सय ७२ रनको योगफल खडा गर्‍यो । नेदरल्यान्ड्सले ३७.५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेदरल्यान्ड्सका विक्रमजित सिंहले अर्धशतकीय इनिङ्स खेले । नेदरल्यान्ड्सका ओपनर मिचेल लेभितले ३९ रन र म्याक्स ओ डाबडले २८ रनको योगदान गरे । नेदरल्यान्ड्सले पहिलो विकेटका लागि ६१ रन बनाएको थियो । विक्रमजितले ९२ बलमा सात चौकासहित ५८ रन बनाए । सेब्रान्ड इन्गेलब्रेचले ७५ बलमा तीन चौकासहित ४६ रन बटुले । नेपालका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान एक विकेट हात पारेका हुन् । 

नेपालका खेलाडी चलेनन्
नेपालको ब्याटिङमा कुशलले ९३ बलमा आठ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए । उनीबाहेक अन्य आशा गरेका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । आरिफ शेखले २२ र करण केसीले २६ रनको योगदान गरे । करण र आरिफले आठौँ विकेटका लागि ३६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्‍याएका हुन् । ओपनर आसिफ शेख २७ बलमा १७ रन, कप्तान रोहितकुमार पौडेलले १६ रन बनाए । आसिफ र भुर्तेलले पहिलो विकेटका लागि ४२ रनको सर्वाधिक ठूलो साझेदारी गरे । इनिङ्सको ८.२ ओभरमा नेपालका ओपनरले ४२ रनको राम्रो सुरुवात गरेका थिए । यसपछि १२ रन जोड्दा नेपालले तीन विकेट गुमायो । 

 प्रिमियर कपको समूह विभाजन
ओमानमा अप्रिल तेस्रो साता सुरु हुने एसिसी प्रिमियर कपको समूह विभाजन सार्वजनिक भएको छ । एसियाली क्रिकेट परिषद् (एसिसी)ले आइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार समूह ‘ए’मा नेपाल रहेको छ । नेपालले आफ्नो समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबियाको सामना गर्नेछ । समूह ‘बी’मा युएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । १२ देखि २१ अप्रिलसम्म चल्ने अन्तर्राष्ट्रिय टी–२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्नेछ । नेपालले दोस्रो खेल कतारसँग खेल्नेछ । प्रतियोगिताको दुवै सेमिफाइनल १९ अप्रिलमा हुनेछ । फाइनल खेल २१ अप्रिलमा हुने भएको छ । प्रतियोगिताको विजेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ ।

नेपाली टोलीको घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबारदेखि हुने त्रिदेशीय टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको छ । यसपटक विश्वकप छनोट खेलेको टोलीबाट चार खेलाडी थप्दै टोली घोषणा गरिएको हो । तीव्र गतिका बलर रासिद खान, अनिल शाह, सागर ढकाल र आरिफ शेख टोलीमा परेका छन् । रासिद र सागरले नेपाल ‘ए’बाट खेलेका थिए । पिएम कपमा चोट बोकेका अभिनाश बोहोरा टोलीमा फर्केका छन् । एकदिवसीय टोलीमा नरहेका अभिनाश, विनोद, सन्दीप, विवेक, प्रतीश, रासिद र सागर पनि टी–२० टोलीमा समावेश छन् । 

आगामी सिरिजका लागि अझै धेरै मिहिनेत गर्नुपर्छ 
मोन्टी देसाई, प्रशिक्षक, नेपाल

हामीले फेरि पनि उही खेल खेलेका छौँ । खेलाडीले दबाबमा आफ्नो क्षमता देखाउनुपर्छ । नेपालका खेलाडी अनुभवी छन् । खेलाडीले अझै  धेरै सिक्नुपर्छ । यस मैदानमा हामी नियमित अभ्यास गर्छाैँ । यहाँ नै पिएम कप खेलेका थियौँ । यो पिच ब्याटिङमैत्री हो । यसपटक हामीले यहाँ राम्रो गर्न सकेनौँ । एसोसियट टिमविरुद्ध खेल्दै छौँ भने यस्तो हुन्छ । यस किसिमको हारले टोलीमा आउन सक्छ । विश्वकप लिग–२ मा सबै टोली उत्तिकै छन् । हरेक खेल महत्वपूर्ण र दबाबपूर्ण हुन्छन् ।