१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कार्ल बिल्ट
२o८१ बैशाख २० बिहीबार १o:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

रुसले कुनै दिन सम्मान गर्नेछ नाभाल्नीलाई

रुसमा जनतालाई प्रेरित गर्ने र परिचालन गर्ने क्षमता नाभाल्नीको जति अरू कुनै विपक्षी नेतामा थिएन

Read Time : > 2 मिनेट
कार्ल बिल्ट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o४:oo

दुर्गम आर्कटिक क्षेत्रको पेनल कोलोनीमा थुनिएका एलेक्सी नाभाल्नीको मृत्यु कसरी र किन भयो, यसबारे हामीलाई थाहा नहुन सक्छ । तर, रुसी अधिकारीले रुसका लोकप्रिय विपक्षी नेताको मृत्यु भएको दुई मिनेटमा मृत्युको जानकारी दिने वक्तव्य कहिल्यै पनि विश्वसनीय हुनेछैन । त्यसमाथि नाभाल्नीको लास उनको आमालाई सुम्पिन भइरहेको विलम्बले सन्देह बढाएको छ । यदि क्रेमलिनको भूमिका हुन्थेन भने नाभाल्नी जीवित नै हुन्थे होला भनेर हामी निर्धक्क भन्न सक्छौँ । केही वर्षअघि नाभाल्नीको हत्या गर्न अत्याधुनिक नर्भ एजेन्ट विष दिइएको थियो, त्यसयता पुटिन सरकारले उनलाई घातक विष दिँदै आएको थियो । यस वर्ष रुसमा राष्ट्रपतीय ‘निर्वाचन’ हुने अवस्थामा रुसी सत्ताका लागि नाभाल्नी जीवित रहनु खतरा थियो भन्ने भान हुन्छ ।    

मैले नाभाल्नीलाई सन् २०११ मा मस्कोमा भेटेको थिएँ । सोभियत हाइड्रोजन बमका पिता एवं सोभियत संघको अन्त्यताका उदारवादी विपक्षी मानिने एन्द्रेई सखारोभको स्मृतिमा भएको सम्मेलनलाई सम्बोधन गर्न मलाई मस्को बोलाइएको थियो । वास्तवमा नाभाल्नीकै कारण मैले मस्को यात्रा गरेको थिएँ । नाभाल्नीको चर्चा दिनानुदिन बढिरहेको थियो र त्यसवेला उनीसँग बिहानको खाजाका क्रममा लामो संवाद भएको थियो । 

पुरानो पुस्ताका भिन्न मत राख्नेले सोभियत सत्तासँग शब्द र कलमले संघर्ष गरेका थिए, तर नाभाल्नीमा भने केही नयाँ थियो । उनी वृत्तचित्रका माध्यमबाट खुलासा गरेर फरक मत राख्थे । उनले लामा वृत्तचित्र बनाएर सम्भ्रान्त शासकका भ्रष्टाचार र कालोधनको खुलासा गर्थे र यही खुलासा गरेर सत्तामा रहेकाविरुद्ध जनपरिचालन गर्थे । उनको विधि कुनै लेखापाल वा वकिलको जस्तो हुन्थ्यो, जहाँ उनी प्रमाणलाई पछ्याएर भ्रष्टाचारको खुलासा गर्थे । केही पाका विपक्षीसमेत उनलाई सन्देहले हेर्ने गर्थे । किनभने, यी पाका विपक्षीको विधि नाभाल्नीको जस्तो थिएन र यिनले नाभाल्नीले झैँ जनपरिचालन गर्न सक्दैनथे । नाभाल्नीको लगाव र रणनीति हेर्दा मलाई उनी भविष्यका नेता हुन्छन् भन्ने लाग्थ्यो ।

रुसमा जनतालाई प्रेरित गर्ने र परिचालन गर्ने क्षमता नाभाल्नीको जति अरू कुनै विपक्षी नेतामा थिएन 
 

त्यसपछि नाभाल्नी र मेरो भेट केहीपटक मात्रै भयो । नाभाल्नी अन्तर्राष्ट्रिय सम्मेलन वा कूटनीतिक बैठकमा सहभागी हुन खोज्ने व्यक्ति थिएनन् । उनको सारा जीवन मानिसलाई प्रेरित गर्न र मुलुकभर संगठन निर्माण गर्नमै बित्यो । यी प्रयास गर्दा उनले कैयौँपटक विभिन्न आरोपमा जेल जानुपरेको थियो । जेलमा रहँदा पनि उनी आफ्नो समय, व्यक्तित्व र प्रेरक क्षमताको प्रयोग गरेर जेलमा रहेका मानिसलाई एकजुट गराउन सफल हुन्थे । रुसी अधिकारीमाझ मेरो र नाभाल्नीबीचको सम्बन्धलाई रुचाइएको थिएन । नाभाल्नीसँगको मेरो बिहानको खाजा भेटको संवाद भनेर रुसी सत्तानजिकको एक पत्रिकाले समाचार नै छापेको थियो । कुनै ठोस कुरा नभएको सो समाचारमा नाभाल्नी, म र स्विडेनमाथि आक्रमण गरिएको थियो ।         

हाम्रो अन्तिम भेटघाट हुँदा रुस थप अँध्यारो दिशातर्फ गएको थियो । त्यसवेला हाम्रो जासुसी नहोस् भनेर सो भेटघाट सचेत भएर गरेका थियौँ । त्यसवेला हामी जासुसीबाट जोगिन सफल भएका थियौँ । हामीले सो भेटघाटमा रुसको राजनीतिक भविष्य र रुसी सत्ताको युक्रेनप्रतिको आसक्तिको जोखिमबारे छलफल गरेका थियौँ । तीन दिनपछि रुसको सत्तानाजिकको टेलिभिजन समाचार च्यानलले गोप्य क्यामेराबाट खिचिएका हाम्रा तस्बिर सार्वजनिक गरेको थियो ।

टेलिभिजन समाचारमा म र नाभाल्नीलाई आक्रमण गरिएको थियो र हामीलाई रुसविरुद्ध षड्यन्त्र गरेको आरोपसमेत लगाइएको थियो । हामीले अन्तिममा आफ्नो भेटघाट स्थल परिवर्तन गरेकाले टेलिभिजनको भिडियोमा हामी एकछिन देखापरेर नयाँ कोठामा गएको देखिएको थियो । यसले हामीलाई थप शंकास्पद बनाएको थियो । हामी सुरक्षा संयन्त्रलाई आफूहरूले गरेको छलफल सहजै साझा गथ्र्यौँ होला, तर सुरक्षा संयन्त्रकै अक्षमताका कारण हामी खुलेका थिएनौँ ।     

रुसमा जनतालाई प्रेरित गर्ने र परिचालन गर्ने क्षमता नाभाल्नीको जति अरू विपक्षी नेतामा थिएन । यसैकारण नाभाल्नीलाई कुनै पनि चुनावमा भाग लिन दिइएको थिएन । तमाम दमन र रोकावटका बाबजुद एकपटक सन् २०१३ मा मस्कोको मेयरको चुनावमा उनले प्रतिस्पर्धा गरेका थिए । सो चुनावमा उनले झन्डै एकतिहाइ मत ल्याएका थिए । नाभाल्नी स्वतन्त्र रुसको राष्ट्रपतिमा निर्वाचित हुन्थे वा हुँदैनथे त भन्न सकिँदैन, तर उनीसँग राष्ट्रपति हुने सम्भावना धेरै थियो । नाभाल्नी रुसका एक विलक्षण राजनीतिज्ञ थिए ।       

जेलबाट लेखेको एक लामो टिप्पणीमा उनले पुटिनले युक्रेनविरुद्ध छेडेको युद्ध त्याग्नु नै समृद्ध रुसको पूर्वसर्त हो भनेका थिए । उनले सो टिप्पणीमा पुटिनबाट रुस मुक्त हुनुपर्छ मात्र भनेका थिएनन्, उनले त केवल युद्ध रोक्नुपर्नेमा जोड दिएका थिए । उनले विद्यमान रुसको राजनीतिक व्यावस्थामाथि टिप्पणी गरेका थिए । उनले रुसको राजनीतिमा शक्तिको अत्यधिक केन्द्रीकरण भएको भन्दै रुसमा खुला संसदीय व्यवस्थाको पैरवी गरेका थिए । उनका अनुसार उनको यो नयाँ राजनीतिक मोडल अपनाएपछि रुसमा ‘आक्रामकता र अस्थिरता भड्काउने’ तत्व नरहने जनाएका थिए । 

अहिले नाभाल्नी हामीमाझ छैनन्, तर उनको विरासत निःसन्देह जीवित रहिरहनेछ । उनको विरासतले क्रेमलिनका अग्ला पर्खालपछाडि ओत लागेकाहरूलाई तर्साइरहनेछ । कुनै दिन एक नयाँ रुसमा नाभाल्नीले यथोचित सम्मान पाउने नै छन् । 
(बिल्ट स्विडेनका पूर्वप्रधानमन्त्री हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad