१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:o७:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

केन्द्रीय सदस्यलाई एमाले नेतृत्वको प्रश्न– चरित्र, आचरण र व्यवहार कसरी सुधार्ने? 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:o७:oo

शुद्धीकरण माथिबाटै थाल्न सुझाव 

पार्टीमा केन्द्रीय तहकै नेताहरूको चरित्र, आचरण र व्यवहारसँग जोडिएका एकपछि अर्को उजुरी पर्न थालेपछि एमालेले सुधारका लागि कार्ययोजना बनाउन लागेको छ । यसका लागि जारी केन्द्रीय कमिटी बैठकमा कार्ययोजनाको शीर्षक र पृष्ठभूमिसहितको अवधारणामा केन्द्रीय सदस्यहरूबाटै सुझाव मागिएको छ ।

पार्टी नेता–कार्यकर्ताको आचरणमा समस्या रहेपछि एमाले नेतृत्वले केन्द्रीय सदस्यहरूसँग कैयौँ प्रश्नको जवाफ मागेको हो । प्रश्न धेरै भएकाले अधिकांश केन्द्रीय सदस्यले लिखित रूपमै जवाफ र सुझाव राखेका छन् । धेरै केन्द्रीय सदस्यको सुझाव छ– शुद्धीकरण माथिबाट सुरु हुनुपर्छ । 

०८१ लाई पार्टीमा शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गर्ने गरी नेताहरूको चरित्र, आचरण र व्यवहारसँग जोडिएका विषयमा सुझाव मागिएको हो । पारदर्शी जीवन शैली, स्वच्छता र असल आचरण तथा जीवनशैलीको अवलम्बन र सुधारबारे केन्द्रीय सदस्यलाई मुख्य पाँच प्रश्न गरिएको छ । जसमा नेता–कार्यकर्ताको जीवनशैलीमा केही भन्नु छ ?, नेता–कार्यकर्ताको जीवनको स्वच्छताबारे के–कस्ता कुरा उठ्ने गरेका छन् ?, नेता–कार्यकर्तामा कस्ता खराब आचरण देखिएका छन् ?, त्यसका कारणबाट जनतामा परेको प्रभाव वा असर ? त्यसलाई सच्याउन के–के गर्नुपर्ला ? तथा खराब आचरण र चरित्र भएका नेता–कार्यकर्तालाई कस्तो कारबाही गरिनुपर्छ ? प्रश्न सोधिएको छ । 

केन्द्रीय सदस्यहरूलाई चारवटा कार्ययोजना दिएर दर्जनौँ प्रश्नमाथि छलफल चलाइरहेको छ । मंगलबार सुरु भएको बैठकमा बुधबारको समूहगत छलफलमा केन्द्रीय सदस्यहरूले मौखिक र लिखित उत्तरसहितका सुझाव दिएका छन् । बैठक बिहीबारसम्म चल्नेछ । एमालेले केन्द्रीय कमिटी बैठकको परम्परागत छलफलको ‘मोडालिटी’ परिवर्तन गर्दै एमालेले बहुसंख्यक सुझावपछि मात्रै एक वर्षको कार्ययोजनालाई अन्तिम रूप दिने तयारी गरेको छ । 

बैठकमा शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षा सम्बन्धमा महासचिव शंकर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अवधारणासहितको कार्ययोजना पेस गरेका छन् । 

कार्ययोजना बनाउँदा सबै केन्द्रीय सदस्यले आ–आफ्ना अनुभूति र सुझाव खुलेर राखून् भन्ने उद्देश्यले दर्जनौँ प्रश्न सोधिएको स्थायी समिति सदस्य काशीनाथ अधिकारीले बताए । ‘यसपटकको बैठकमा अलि पृथक् ढंगले कार्ययोजना प्रस्तुत गरिएको छ, सबै केन्द्रीय सदस्यलाई आ–आफ्ना अनुभूतिसहितको मसिनोसँग सुझाव राख्न सजिलो होस् भनेर धेरैभन्दा धेरै प्रश्न सोधिएको छ,’ अधिकारीले नयाँ पत्रिकासँग भने, ‘केन्द्रीय सदस्यको जवाफका आधारमा बैठकले मोटो अवधारणासहित साझा निष्कर्ष निकाल्छ, तर त्यसलाई चैतमा बस्ने स्थायी समिति बैठकले मात्रै कार्यक्रमिक रूप दिनेछ ।’ 

पार्टी निर्माण, विस्तार र सञ्चालनमा पनि कमजोरी रहेको स्वीकार गर्दै एमाले नेतृत्वले आगामी निर्वाचनमा बहुमतको लक्ष्य पूरा गर्न ‘मिसन ८४’ लाई केन्द्रमा राखेर बैठकबाट कार्ययोजना पास गर्ने तयारी गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार स्थायी कमिटीका सदस्यहरूकोे एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन र प्रवासको एकसहित नौवटा समूहमा कार्ययोजनामाथि छलफल भइरहेको छ ।

यस्तै, पार्टी निर्माण र विस्तार तथा जनपरिचालनका सवालमा जनसम्बन्ध विकासका लागि गर्नुपर्ने काम, कार्यक्रम, क्षेत्र र भूगोलअनुसारका कार्यक्रम, सामाजिक, सामुदायिक संगठनमा पार्टी नेतृत्व स्थापित गर्न गर्नुपर्ने काम, बैठक सञ्चालन र सदस्यता वितरण तथा नवीकरणमा देखा परेका समस्या र व्यावहारिक रूपले नै हल गर्नुपर्ने विषय पनि प्रश्न बनाइएको छ । यसैगरी वैचारिक स्पष्टता, बुझाइ र गराइमा एकरूपताको समस्या, पार्टी कमिटीहरूलाई विधिसम्मत सञ्चालन गर्नुपर्ने समस्या, पार्टी प्रवेशलाई व्यवस्थित बनाइनुपर्ने कुरा, पारदर्शिता, असल आचरण, स्वच्छता र जीवनशैलीको विकास र जनसम्पर्क, जनसम्बन्धलाई विस्तार गर्नुपर्ने कुरामा समस्यालगायतमा प्रश्न सोधेर सुझाव मागिएको प्रचार विभाग प्रमुख गौतमले बताए । 

विभिन्न तहको कमिटीहरूमा गुटबन्दी झांगिएको र अधिवेशनलाई नेतृत्व कब्जा गर्ने थलोका रूपमा परिणत गर्न थालेको विषय समस्याका रूपमा औँल्याउँदै समाधानका लागि प्रश्न सोधेरै सुझाव मागिएको छ । ‘अधिवेशनलाई औपचारिकता निर्वाह गर्ने वा नेतृत्व कब्जा गर्ने थलोका रूपमा कसरी परिणत गर्ने ? आपसी प्रतिस्पर्धालाई अन्तरविरोध थप विस्तार गर्ने नभई त्यसलाई समाधान गर्दै एकताबद्ध भएर अगाडि बढ्ने आधारभूमिमा कसरी परिणत गर्ने ? केन्द्रीय सदस्यलाई प्रश्न गर्दै भनिएको छ, ‘एउटै मूल नेतृत्वको वरिपरि गोलबन्द हुँदा पनि विभिन्न तहमा फरकफरक स्वरूपको गुटबन्दीको कारण के हो ?’ 

एमालेमा प्रदेश अधिवेशन सकिएलगत्तै एक महिनादेखि जारी जिल्ला अधिवेशनहरूमा स्थानीय नेताहरूको गुटबन्दी सतहमै देखिएको छ । गुटबन्दीका कारण दुई समूहबीच झडप र कुटाकुट हुँदा धादिङको अधिवेशन दुई सातापछि मात्रै सम्पन्न भएको थियो । 

यस्तै, कमिटीका पदाधिकारी र सदस्यहरूको व्यवस्थापन, संगठित सदस्यहरूको योग्यता र आचारण, सदस्यहरूको कामको मूल्यांकन, प्रभावकारिताकै लेखाजोखा गरेर नेतृत्व विकास, कमिटीमा आबद्धता, योगदानको कदरजस्ता विषयमा पनि प्रश्न सोधेरै कार्ययोजनामा सुझाव मागिएको छ । 

शीर्ष नेतामाथि नै केन्द्रीय सदस्यहरूको प्रश्न
बैठकमा केन्द्रीय सदस्यहरूले शुद्धीकरणमाथिबाटै सुरु हुनुपर्ने सुझाव दिएर शीर्ष नेतामाथि नै प्रश्न तेस्र्याएका छन् । उनीहरूले पार्टीभित्र अनुशासन, आचरण, विधि र कार्यपद्धतिलाई कडाइका साथ पालना गर्नुपर्ने, शुद्धीकरण माथिबाट सुरु हुनुपर्ने मत राखेका छन् । पार्टीमा आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिपूर्वक सञ्चालन गर्नुपर्ने, आलोचना र आत्मालोचनाको विषयलाई नियमित बनाइनुपर्नेजस्ता पार्टी संगठन निर्माणमा महत्व राख्ने विषयमा सहभागीहरूले गम्भीरतापूर्वक सुझाव राखेका छन् । 

संसद्को काम प्रभावकारी बनाउनुपर्ने, जनताका मुद्दाहरूमा विशेष ध्यान दिनुपर्ने, विकास, निर्माण र समृद्धिका मुद्दा केन्द्रमा राखेर प्रस्तुत हुनुपर्ने, समृद्ध नेपाल र सुखी नेपालको नारा कार्यान्वयन गर्न केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडासम्म संयन्त्र निर्माण गरी कार्य प्रारम्भ गर्नुपर्ने सुझाव दिएका छन् । लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टीको नीति, विचार र कार्ययोजनासँग नेता–कार्यकर्ताको व्यवहारमा तालमेल नदेखिएकाले एकरूपता देखिने गरी पार्टीलाई अगाडि बढाउनुपर्ने सुझाव उठाइएको बताए । पार्टीभित्र खराब आचरण र व्यवहार देखिए पनि कारबाही नभएकाले दण्डहीनता अन्त्यको विषयले पनि प्राथमिकता पाएको उनको भनाइ छ । 

ad
ad