१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण ९ बुधबार ०६:१४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यानडामाथि नेपाल ‘ए’को रोमाञ्चक जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण ९ बुधबार ०६:१४:००

नेपाल राष्ट्रिय क्रिकेटको ‘ए’ टोलीले क्यानडा ११ लाई दोस्रो एकदिवसीय खेलमा दुई विकेटले पराजित गरेको छ । जितसँगै नेपालले सिरिज १–१ को बराबरी गरेको छ । अब तेस्रो तथा अन्तिम एकदिवसीय खेल बिहीबार हुनेछ । यसअघि पहिलो खेलमा नेपाल क्यानडासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नियमित कप्तान विनोद भण्डारी बिरामीका कारण खेलेनन् । उनको स्थानमा सन्दीप जोराले नेपाली ‘ए’ टोलीको कप्तानी गरेका थिए । मूलपानी क्रिकेट मैदानमा क्यानडाले पहिलो ब्याटिङ ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो ।

प्रत्युत्तरमा नेपालले ४९.१ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४१ रन जोड्दै रोमाञ्चक जित निकालेको हो । नेपालको जितमा कप्तान सन्दीपले ७४ बलमा ६६ रन तथा बसिर अहमेदले ५२ रनको नटआउट योगदान दिएका थिए । उनले ७३ बलको सामना गरे । क्यानडाका लागि सहिद अहमाजीले ६ ओभरमा ३४ रन खर्चेर दुई विकेट लिए । अमोर खालिदले सात ओभरमा ३५ रन दिँदै दुई विकेट हात पारे । बसिरले चार चौका र एक छक्का प्रहार गरेका थिए । 

बलियो तेस्रो विकेट साझेदारी
सहज लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीको सुरुवात निकै खराब रह्यो । इनिङ्सको पहिलो बलमा मयान यादवको विकेट नेपालले गुमाएको थियो । नेपालविरुद्ध पहिलो खेल खेलेका खालिदले मयानलाई एलबिडब्लू आउट पारे । नेपाललले शेर मल्ललाई तेस्रो ओभरमा गुमायो । उनले ११ बलमा एक चौकाको सहयोगमा सात रन जोडेका थिए । नेपालले पहिलो दुई विकेट गुमाउँदा स्कोर बोर्डमा १३ रन बनाएको थियो । कमजोर अवस्थामा रहेको नेपालको ब्याटिङलाई कप्तान सन्दीप र अर्जुन कुमालले सम्हाले । दुवैले तेस्रो विकेटका लागि एक सय चार रनको साझेदारी गरे । यसै साझेदारीका कारण नेपाल जिततर्फ अग्रसर भयो । 

क्यानडाले अर्जुन र सन्दीपबीचको साझेदारी २५.५ ओभरमा तोडेको थियो । नेपालले तेस्रो विकेटका रूपमा अर्जुनलाई गुमाएको थियो । उनले ४० रनको योगदान दिन ६४ बलमा तीन चौका प्रहार गरेका थिए । इनिङ्सको २६.२ ओभरमा नेपालले कप्तान सन्दीपलाई गुमाएको थियो । सान विनले उनलाई क्याचआउट गराए । सन्दीपले आफ्नो इनिङ्समा ७४ बलमा सात चौका र एक छक्का प्रहार गरे । उनी आउट हुँदा नेपाल ११७–४ को स्थितिमा रह्यो । यसैगरी, किरण ठगुन्ना १७ बलमा १३ रन बनाए । रासिद खानले बसिर अहमदसँग छैटौँ विकेटका लागि ७७ रनको महŒवपूर्ण साझेदारी गरे । इनिङ्सको ४६औँ ओभरमा रासिदले आफ्नो विकेट गुमाए । उनले ५१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४७ रन बटुले । 

मोभाको अर्धशतक
क्यानडाको ब्याटिङमा श्रेयस मोभाले अर्धशतकीय योगदान दिए । उनले क्यानडाका लागि सर्वाधिक ६८ रनको योगदान दिए । यसक्रममा उनले ८२ बलमा पाँच चौका प्रहार गरे । क्यानडाले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेको थियो । इनिङ्सको १२.३ ओभरमा नेपालले क्यानडाको पहिलो विकेट साझेदारी तोडेको थियो । सागर ढकालले आरोन जोन्सनलाई एलबिडब्लूको धरापमा राखे । जोन्सनले ३८ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । विजयरत्नेले शेर मल्लको ओभरमा एलबिडब्लू आउट हुनुअघि उनले ५७ बलमा ६ चौकाको मद्दतमा ४६ रन बनाए । 

नामिबियाको सामना गर्दै नेपाल
आइसिसी विश्वकप लिग–२ मा नेपालले आज नामिबियाको सामना गर्दै छ । त्रिवि क्रिकेट मैदानमा लिग–१ सिरिजअन्तर्गत दुवै टोलीले आ–आफ्ना तेस्रो खेल खेल्दै छन् । अहिलेसम्म सहभागी नेपाल, नामिबिया र नेदरल्यान्ड्सले समान दुई खेलमा एक जित र हार निकालेका छन् । तीन राष्ट्रले दुई–दुई अंक बटुलेका छन् । रनरेटमा नेपाल शीर्ष स्थानमा छ । नामिबिया दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् । नेदरल्यान्ड्स एकदिवसीय विश्वकप खेलेको राष्ट्र हो । नेदरल्यान्ड्सले गत वर्ष भारतमा आयोजना भएको एकदिवसीय खेल खेलेको थियो ।