१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण ८ मंगलबार २२:२३:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बागमती गोल्डकप : आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

Read Time : > 1 मिनेट
२०८० फाल्गुण ८ मंगलबार २२:२३:००

नेपाल आर्मीसँगको विभागीय डर्बी १–० ले जित्दै एपिएफ बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । एपिएफ क्लबले अब उपाधिका लागि मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

मकवानपुरको बागमतीमा जारी प्रतियोगिताको छैटौँ संस्करणको अन्तिम सेमिफाइनलमा मंगलबार एपिएफले नेपाल आर्मीको त्रिभुवन क्लबलाई पन्छाएको हो । योसँग एपिएफले मकवानपुरमा एक महिनाभित्रै आयोजना भएका दुईवटा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल्ने अवसर पनि पाएको छ । 

यसअघि गत २७ माघमा सम्पन्न मकवानपुर गोल्डकपको फाइनल खेल्दै एपिएफले उपाधि उचालेको थियो । 

मंगलबार एपिएफको जितमा विदेशी खेलाडी फोडे फोफोना नायक बने । उनले खेलको चौथो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बुद्धिमान राईले कर्नर क्षेत्रबाट दिएको क्रस पासलाई फोफोनाले सुन्दर तरिकाले गोलमा परिणत गरेका थिए । 

खेलको म्यान अफ द म्याच भने एपिएफका बुद्धिमान राई घोषित भए । उनले १० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे । 

यसअघि दुवै टोलीले गोल गर्ने राम्रा आवसरहरु प्राप्त गरे पनि दुवैतर्फबाट थप गोल हुन सकेन । खेलको सुरुवातमा आर्मीले केही राम्रा मुभ बनाए पनि गोल गर्न नसक्दा पारजित हुनुपर्यो । सुरुवातमा गोल ब्यहोरेको आर्मीले खेलमा फर्किन निरन्तर प्रयास गरेको थियो ।

उसका लागि खेलको दोस्रो मिनेटमै एपिएफका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदै डिबक्स भित्रैबाट आर्मीका भरत खवासले दिएको पासलाई दिनेश हेन्जनले सदुपयाग गर्न सकेनन् । दिनेशले वन भर्सेस वनको अवस्थामा पनि गोल गर्न नसकेका हुन् । 

उनको प्रहार आर्मीका गोलरक्षक एन्जल श्रेष्ठले सजिलै बचाएका थिए । यस्तै, भरत खवासले डिबक्सनजिकैबाट गरेको अर्को प्रहार पनि एन्जलले रोकेका थिए । एपिएफले पनि पाएका राम्रा अवसर खेर फाल्दा थप गोल गर्न सकेन । 

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पालिकाको वडा नम्बर ८ स्थित जनतामाविको खेलमैदानमा जारी प्रतियोगिताको उपाधि भिडन्त यही १० गते बिहीबार हुनेछ । 

विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गर्दा उपविजेता टिमले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।