भरतपुर महानगरपालिका– १६ मा ढकाल पशुपालन फार्म सञ्चालन गर्दै आएका केशव ढकालले फार्मबाट दैनिक १५ सय लिटर दूध उत्पादन गर्छन् । उनको फार्मसँगै डेरी पनि छ । गाउँका किसानको समेत दूध संकलन गरेर दैनिक पाँच हजार लिटर दूध बजारीकरण गर्दै आएका ढकालले गत बुधबार (२ फागुन) १३सय लिटर दूध बारीमा पोखे ।
यसअघि ढकाल भरतपुरका विभिन्न बजार क्षेत्रमा दूध बेच्थे । जोगिएको दूध भने सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) चनौली भरतपुरलाई बिक्री गर्थे । तर, डिडिसीले आफूसँग पर्याप्त दूध रहेको भन्दै किन्न नमानेपछि ढकालले बारीमा पोखे । ‘दूध बिक्री हुन्छ कि भनेर राख्यो, लाखौँ लगानी भएको दूध बाँड्न पनि सकिन्न । लामो समय राख्दा दूध बिग्रेपछि फाल्नुको विकल्प हुँदैन,’ उनले भने ।
ढकालले दूध बेचेबापत पाँच महिनादेखिको एक करोड रुपैयाँ पनि डिडिसीबाट पाएका छैनन् । ‘अहिले त दूध लिनुस्, पैसा पछि लिउँला’ भन्दा पनि डिडिसीका कर्मचारीले दूध लिन छाडेको उनले बताए । ढकालको जस्तै समस्या चितवनका दूध संकलन गर्ने अधिकांश सहकारी संस्थाको छ ।
किसानले बिक्री गरेको दूध स्थानीय सहकारीले विभिन्न उद्योगलाई बिक्री गर्छन् । उद्योगले प्रत्येक १५ दिनमा किसानको रकम भुक्तानी दिन सहकारीलाई पैसा पठाउने र सहकारीमार्फत किसानले रकम पाउने गरिएकोमा असारदेखि उद्योगले किसानलाई पैसा दिएका छैनन् । दूध खेर फाल्नुभन्दा बरु सरकारले तोकेभन्दा कम मूल्यमा बेच्न तयार छन् किसान । तर, उद्योगीले सस्तोमा पनि दूध उठाउन नमानेपछि आइतबार चितवनका किसानले सडकमै दूध पोखेर आन्दोलन गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमा प्लेकार्ड र नाराजुलुससहित गएको समूहले पूर्व–पश्चिम राजमार्गअन्र्तगत केन्द्रीय बसपार्कमा दूध पोखेको हो । उनीहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा माग्दै नारा पनि लगाए ।
आन्दोलनको नेतृत्व गरेका चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले चितवनमा ‘मिल्क होलिडे’ भएको बताए । ‘दूध नबिकेपछि किसान र सहकारी मारमा छन् । बारीमा फाल्नुपर्ने बाध्यता छ । सरकारको ध्यानाकर्षण गराउन आइतबार सामूहिक रूपमा दूध फालेर प्रदर्शन गरेका हौँ,’ उनले भने । दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पैसा पनि लामो समयदेखि नपाएपछि किसानले स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश र केन्द्रका कृषिमन्त्रीसँग हारगुहार गरेका थिए । यहाँका किसानले माघको अन्तिम साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ज्ञापनपत्र बुझाएका थिए । तर, मागको सुनुवाइ नभएको बगालेको गुनासो छ ।
भारतबाट कच्चा र पाउडर दूधको आयात धेरै हुँदा नेपाली दूधले बजार नपाएको किसानको गुनासो छ । भारतबाट पाउडर दूध आयात वैधानिक भए पनि काँचो दूध आयातमा प्रतिबन्ध छ । तर, केही ठूला निजी डेरीले तराईका केही जिल्लाका सीमावर्ती क्षेत्रमै चिस्यान केन्द्र स्थापना गरेर तस्करीको काँचो दूध संकलन गर्ने गरेको बगालेले दाबी गरे । ‘केही ठूला निजी डेरीले तराईका केही जिल्लाका सीमावर्ती क्षेत्रमै चिस्यान केन्द्र स्थापना गरेर तस्करीको काँचो दूध संकलन गर्ने गरेका छन् । म आफैँ अनुगमनमा जाँदा पनि प्रत्येक्ष देखेर आएको छु । सर्लाहीको बलारा र भवानीपुरमा निजी डेरीले चिस्यान केन्द्र राखेर भारतीय दूध संकलन गरेको देखियो,’ उनले भने, ‘खुला सिमानाबाट हुने यस्तो तस्करी रोक्न राज्यको सक्रियता देखिँदैन, भारतीय दूध नियन्त्रण नहुँदा नेपाली किसान उत्पादन सडकमा पोख्न बाध्य भएका छौँ ।’
दूधमा आत्मनिर्भर चितवनमा दैनिक साढे तीन लाख लिटर उत्पादन हुन्छ । यहाँ एक सय १५ वटा दूध सहकारी संस्था सक्रिय छन् भने ६० बढी निजी डेरी छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)सहित देशभरिका प्रायः निजी डेरी उद्योगले चितवनबाट दूध खरिद गर्छन् । दूध बेचेको पैसा लामो समयदेखि नपाउँदा साना किसानको जीविकोपार्जनमा समस्या भएको छ । ठूला किसानलाई पनि बैंकले ब्याज तिर्न ताकेता गरिरहेका छन् ।
गाईभैँसीको दाना–चोकर खुवाउने पैसा अभाव हुन थालेको किसान कुलप्रसाद बाँस्तोलाले बताए । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव कल्याण अधिकारीका अनुसार चितवनका ४० हजारभन्दा बढी पशुपालक किसानले करिब ५२ करोड भुक्तानी पाएका छैनन् । चितवनमा उत्पादन हुने साढे तीन लाख लिटर दूधमध्ये डेढ लाख जिल्लाबाहिर खपत हुँदै आएको छ । ढुवानी पनि सस्तो पर्ने र गुणस्तरीय भएको भन्दै काठमाडौंको बजारमा उद्योगीले चितवनबाट दूध लैजान्छन् ।
बन्द छ चितवन मिल्क
पश्चिम चितवनको ठिमुरास्थित चितवन मिल्क २२ माघदेखि बन्द छ । चिस्यान केन्द्रको गोदाम भरिएकाले कम्पनी बन्द गर्नुपरेको चितवन मिल्कका म्यानेजर दुर्गा पराजुली बताउँछन् । उनका अनुसार बटर र धुलो दूधले कम्पनीको गोदाम भरिएको छ । यसपटक अफ सिजनमा पनि धेरै दूध आएकाले यो समस्या सिर्जना भएको हो ।
‘हाम्रो क्षमता तीन सय टन बटर र २५ केजीको १० हजार बोरा धुलो दूध राख्न सक्नेछ । तर, पाँच सय टन बटर र २५ हजार बोरा पाउडर छ,’ उनले भने, ‘उद्योगभित्र कहीँ पनि खाली छैन । यो नहटेसम्म उद्योग चलाउन सकिँदैन ।’ उद्योगले दुग्ध उत्पादक सहकारी संस्था, डेरी सञ्चालकलगायतलाई सार्वजनिक सूचना नै जारी गरेर उद्योग बन्द गरेको थियो ।
तर, व्यवसायीकै मिलेमतोमा चितवन मिल्क बन्द गरिएको चितवनका किसान बताउँछन् । ‘चितवन मिल्क बन्द गराएको बहाना पारेर सस्तोमा दूध ल्याउन खोजेका हुन् । प्रतिलिटिर ४० रुपैयाँसम्म डेरी उद्योगले दूध खरिद गरेका छन्,’ संघका अध्यक्ष बगालेले भने, ‘व्यवसायीहरूकै मिलेमतोमा चितवन मिल्क बन्द गरिएको हो ।’
किसानबाट ५० रुपैयाँमासम्म खरिद भएको दूध उपभोक्तासम्म पुग्दा सय रुपैयाँसम्म भाउ पुग्छ । ४ फ्याट र ८ एसएनएफ भएको दूधको मूल्य किसानलाई ६५ रुपैयाँ हो । बजारमा भने ९५ रुपैयाँसम्म प्रतिलिटर बिक्री गर्नुपर्ने भनिएको छ ।