राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा प्रणाली गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै त्यसका निम्ति सम्बद्ध पक्षलाई इमानदारीपूर्वक काम गर्न आह्वान गरेका छन्।
पाँचथरको फिदिमस्थित पाँचथर बहुमुखी क्याम्पसले आर्थिक रूपमा आफूलाई सबल तुल्याउन अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रियस्तको शिक्षा आजको आवश्यकता रहेको बताएका हुन्।
सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशअनुसारको शिक्षा नीति र पाठ्यक्रमको विकासमा उनले जोड दिए।
‘प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठन पद्धतिको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तरअनुरूपको शिक्षा विकास गर्नेतर्फ अबका हाम्रा कदम केन्द्रित हुनुपर्छ,’ राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले राष्ट्रका प्राकृतिक सम्पदाको अधिकतम सदुपयोग गरी कृषिको विकासमा लाग्नुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तनका प्रभावबारे गम्भीर हुन आग्रह गरे।
राष्ट्रपति पौडेलले समृद्धिका आधार कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र ऊर्जा उत्पादन भएकाले यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले बहुलता र एकतालाई अंगीकार गरेको बताउँदै राष्ट्रपति पौडेलले सबल, समावेशी र उन्नत राष्ट्र निर्माण सबैको साझा दायित्व भएको बताए।
महायज्ञमा भागवत कथावाचक दीनबन्धु पोखरेल, बौद्ध गुरु खेन्पो फुर्तेम्बा शेर्पा र मुन्धुमका प्रवचनकर्ता चन्द्रकुमार सेर्माले प्रवचन दिनेछन्। हालसम्म १५ हजार विद्यार्थीले उक्त क्याम्पसमा अध्ययन गरिसकेका छन्।