एपिएफ क्लबले छैटौँ मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौँडाको गौरीटार रंगशालामा शनिबार भएको फाइनलमा एपिएफले न्युरोड टिम (एनआरटी)लाई सडनडेथमा पराजित गर्दै उपाधि हात पारेको हो । एपिएफले उपाधिसँगै १५ लाख र उपविजेता एनआरटीले १० लाख पाएका छन् । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछिको टाइब्रेकरमा समेत एपिएफ र एनआरटीले तीन–तीनको बराबरी खेलेपछि निर्णय सडनडेथबाट भयो ।
एपिएफका विदेशी खेलाडी फोडे फोफनाले सडनडेथको दोस्रो पेनाल्टीमा गोल गर्दै एपिएफलाई मकवानपुर गोल्डकपमा नयाँ विजेता बनाए । सडनडेथमा दुवै टोलीबाट चारवटा प्रहार गरेका थिए । एपिएफका मणि लामा र फोफनाले गोल गरे । एनआरटीका मोहित गुरुङको प्रहारले मात्र गोल भएको थियो । एपिएफका गोलरक्षक रञ्जल श्रेष्ठले रनदीप पौडेलको प्रहार रोकेका थए ।
टाइब्रेकरमा एनआरटीका लागि जय गुरुङ, प्रिसो र विवेक गुरुङले गोल गरे । सरोज तामाङ र बुद्धिमान राईको प्रहार बाहिरिएको थियो । एपिएफका एनिसेट, कुलदीप कार्की र सुमन श्रेष्ठको प्रहारले गोल भएको थियो । दिपेश धिमाल र बुद्धिमान राईको प्रहार एपिएफका गोलरक्षक प्रिसोले रोकेका थिए ।एपिएफका स्ट्राइकर अनिष महर्जन प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पाँच लाख मूल्यबराबरको बुलेट बाइक प्राप्त गरेका छन् ।