१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अब सिसिक्यामेराले पछ्याउनेछ फरार व्यक्ति र शंकास्पद सवारीसाधन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:१९:oo

काठमाडौंका सडकमा ‘एआई’को निगरानी

काठमाडौंका सडक क्रमशः ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात् एआईको निगरानीमा आउँदै छन् । एआईमा आधारित सिसिक्यामेराको जालोबाट फरार व्यक्ति र शंकास्पद सवारीसाधन फुत्किन गाह्रो हुनेछ । अत्याधुनिक सिसिक्यामेरा जडान गरी प्रविधिमा आधारित पुलिसिङतर्फ प्रहरीले जोड दिइएका छ । र, उपत्यकाका सडकमा सुरक्षाकर्मीको उपस्थितिलाई प्रविधिले विस्थापित गर्दै लगेको छ ।

सहरका मुख्य सडकमा हालै एआईमा आधारित सिसिक्यामेराको प्रयोग बढेको छ । त्यस्ता क्यामेराले फरार व्यक्तिलाई पहिचान गर्नेदेखि शंकास्पद सवारीसाधनलाई ‘ट्र्याक’ गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपककुमार थापाले बताए । यसले सडकमा प्रहरीको उपस्थितिलाई कम गर्नुका साथै अपराध नियन्त्रण र अनुसन्धानमा थप सहज हुने उनी बताउँछन् ।

कोटेश्वर–तिनकुने सडकखण्डमा जडान गरिएको एएनपिआर प्रविधिको सिसिक्यामेरा । यस्तो क्यामेराले सवारीसाधनको नम्बर प्लेटको फोटो खिच्ने, ओभरस्पिड पत्ता लगाउनेलगायत ट्राफिक नियम उल्लंघनको सूचना प्रहरीलाई दिन्छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनाली भन्छन्, ‘भनिन्छ, अदालतमा साक्षीले असत्य बोल्न सक्छ, तर प्रविधिले सधैँ सत्य बोल्छ । प्रविधिमैत्री प्रहरी अहिलेको आवश्यकता हो, प्रमाणमुखी अनुसन्धानका लागि हामीले प्रविधिमा जोड दिएका छौँ, अब अपराध गरेर भाग्न नसक्ने अवस्था बन्दै गएको छ ।’ 

हालै जडान गरिएका सिसिक्यामेरामा अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एनपिआर) र फेस रिकग्निसन (एफसी) प्रणाली छ । यसले क्यामेराकै माध्यमबाट खोजीमा रहेका व्यक्ति तथा सवारीसाधनलाई ‘ट्र्याक’ गर्न सकिने एआइजी थापा बताउँछन् । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंको नौ स्थानमा एनपिआर क्यामेरा जडान गरिएका छन् । 

सानेपा, कोटेश्वरको अकासेपुल र ललितपुरको महालक्ष्मीस्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा एनपिआर क्यामेरा जडान भएको हो । काठमाडौंको तिनकुने, महाराजगन्ज, नयाँ बसपार्कमा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालयको सहकार्यमा जडान भएका हुन् । त्यस्तै, नैकाप चोक, थानकोट खरीबोट र हाइभिजन कोलोनीमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा जडान गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

यस्ता क्यामेरा जडान गरिएका सडकमा गुडेका सबै सवारीसाधनका नम्बर प्लेटको फोटो क्याप्चर गरी सर्भरमा पठाउँछ । प्रहरी खोजीमा रहेका कुनै सवारीसाधन त्यहाँ देखिएकामा नियन्त्रणमा लिन सहज हुने एसएसपी मैनाली बताउँछन् । ‘चोरी भएका तथा हराएका सवारीसाधन पहिले नै सर्भरमा अपलोड गरिएको हुन्छ,’ उनी भन्छन्, ‘अब त्यस्ता सवारीसाधन क्यामेरा क्षेत्रमा देखिएकामा तत्कालै प्रहरी कन्ट्रोल रुममा नोटिफिकेसन आउँछ । जसकारण अब अपराध गरेर भाग्न सजिलो छैन ।’ 

यस्ता क्यामेरामा सवारीसाधनको गति नाप्ने प्रणालीसमेत जडान गरिएको छ । त्यस्तै, सिट बेल्ट नबाँध्ने र सवारी चलाउँदा ध्रूमपान गरेकोमा समेत क्यामेराकै मद्दतले ट्राफिक प्रहरीले कारबाही गर्नेछ । यस्ता सिसिक्यामेराकै आधारमा धेरै चालकलाई पछि कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्ट बताउँछन् । सवारी दुर्घटना गराएर भाग्ने सवारीसाधन पत्ता लगाई कानुनी दायरामा ल्याउन पनि यी क्यामेरा प्रभावकारी हुने उनको भनाइ छ । 
 

ad
ad