तीन एकदिवसीय म्याचको नेपाल–क्यानडा बाइल्याट्रल सिरिजअन्तर्गतको पहिलो म्याचमा नेपालले क्यानडालाई दुई सय २५ रनको मध्यम लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ५० ओभरमा दुई सय २४ रनमा अलआउट भएपछि क्यानडाले दुई सय २५ रनको लक्ष्य पाएको हो ।
नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेलले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । क्यानडाका उदय भगवानले सर्वाधिक तीन विकेट लिएका थिए ।
भुर्तेलले अर्धशतक बनाउनेबाहेक अन्य खेलाडीले ठूलो स्कोर बनाउन नसक्दा नेपालले मध्यम लक्ष्य मात्र बनाउन सकेको हो ।
भुर्तेलले ५८ बलमा नाै चौका र एक छक्कासँगै ६२ रन बनाए । नेपालले १८.३ ओभरमा साद विन जाफरले विकेटकिपर मुभबाट कुशललाई स्टम्पिङ गराए । त्यसअघि कुशलले ४४ बलमा आठ चौका र एक छक्कासहित ५० रन बनाएका थिए । कुशलको एकदिवसीय ४७ खेलमा बनाएको यो सातौँ अर्धशतक हो ।

यसअघि अर्का ओपनर आसिफ शेख र तेस्रो नम्बर क्रिजमा पुगेका कप्तान रोहितकुमार पौडेलले समान आठ रन बनाएर आउट भए । चौथो नम्बर क्रिजमा आएका भीम सार्की २६ बलमा दुई चौकासहित १७ रन बनाएर आउट भए ।
मध्यक्रमका कुशल मल्लले ३२ बलमा २० रन, आरिफ शेखले ५० बलमा चार चौकासहित ३८, पवन सर्राफले १५ रन बनाए । अन्तिमतिर इनिङ सम्हालेका सोमपाल कामीले २७ रन बनाए ।
क्यानडाका साद विन दुई विकेट लिएका थिए । ईश्वरजोत सोही, साहिद अहमानजाई र हर्ष थाकेरले समान एक विकेट लिए ।

खेलका क्रममा सन्दीप लामिछानेसमर्थक र प्रहरीबीच झडप भएको थियो । बलात्कार आरोपमा दोषी ठहरिएका सन्दीपको नाममा ब्यानर लिएर नाराबाजीमा उत्रिएका समर्थकलाई पुलिसले हटाउन खोजेपछि घम्साम्घम्सी चलेको हो ।
नेपाल र क्यानडाबीच तीन एकदिवसीय म्याचको शृंखला हुनेछ । यसपछि दुवै टोली आइसिसी क्रिकेट विश्वकप लिग– २ को खेलमा व्यस्त हुनेछन् ।
तस्बिरहरू : ज्ञानेन्द्र कार्की /नयाँ पत्रिका