एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ । कम्पनीले यी प्रदेशका डेढ दर्जनभन्दा बढी क्षेत्रका ग्राहकलाई सुधारिएको फोरजी सेवामा पहुँच पुर्याउने गरी यो काम गरेको हो ।
आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धताबमोजिम यी स्थानहरूको फोरजी सेवामा थप सुधार गरेकोे एनसेलले जनाएको छ । देशका अन्य स्थानमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
हाल फोरजी सेवा सुधार गरिएका स्थानीय स्तर तथा क्षेत्रहरूमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेको जनाइएको छ । त्यसैगरी, लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर रहेको कम्पनीको भनाइ छ । कम्पनीले हाल फोरजी सेवा ७७ वटै जिल्लामा विस्तार गरिसकेको र कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ यो सेवा पुगेको जनाएको छ ।