Skip This
साफ यू–१९ महिला च्याम्पियनसिप आजबाट : छोटो तयारीमा नेपालको उपाधि लक्ष्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार o७:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

साफ यू–१९ महिला च्याम्पियनसिप आजबाट : छोटो तयारीमा नेपालको उपाधि लक्ष्य

अनुभवी र नयाँ खेलाडी सम्मिलित नेपाली टोली तीन साताको क्लोज क्याम्पको अभ्यासपछि प्रतियोगितामा सहभागी

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o७:o८:oo

छोटो तयारीबीच दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा शुक्रबारबाट सुरु हुने पाँचौँ यू–१९ महिला च्याम्पियनसिप प्रतियोगितामा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । बंगलादेशको ढाकामा नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । यू–१८, यू–१९ र यू–२० का रूपमा आयोजना हुँदै आएको प्रतियोगिताको नेपालले अहिलेसम्म उपाधि उचालेको छैन । पछिल्ला संस्करणमा राम्रो तयारी र स्तरीय खेल प्रदर्शन गरे पनि नेपाल उपाधिबाट टाढा रहेको थियो । यसपटकको नेपालको तयारी कमजोर देखिन्छ । खुला छनोटपछि तीन साताको प्रशिक्षण गर्दै नेपालले प्रतियोगितामा भाग लिएको हो । 

नेपालका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले भारत, बंगलादेश र भुटानसहित चार टोली सहभागी प्रतियोगिताबाट उपाधिसाथ स्वदेश फर्कने दाबी गरेका छन् । कप्तान सारा बज्राचार्य छोटो तयारीबीच पनि आशा गर्ने स्थान रहेको बताउँछिन् । दक्षिण एसियाली फुटबलमा नेपालबाहेक भुटानले धेरै राम्रो गरिसकेको छ । बंगलादेशले पनि पछिल्लो दशकमा महिला फुटबलमा ठूलो लगानी गरेको छ । यसको प्रतिफल बंगलादेशले तीनपटक उपाधि नै जितिसकेको छ । भारत प्रतियोगिताको साबिक विजेता हो ।

सहभागी टोलीमध्ये भारत बलियो देखिन्छ । दुई वर्षदेखि घरेलु महिला फुटबल ठप्प रहेको नेपाल उपाधि जित्ने लक्ष्यका साथ बुधबार ढाका प्रस्थान गरेको थियो । ‘तीन साताको तयारी पनि प्रभावकारी भएको छ, खेलाडीबीच तालमेल मिलेको छ,’ प्रशिक्षक साहुखलले नयाँ पत्रिकासँग भने, ‘भारत र बंगलादेश बलिया टोली हुन्, तर उपाधिकै लागि खेल्छौँ ।’ उमेर समूहमा पहिलोपटक आर्म ब्यान्ड लगाउने तयारी गरेकी सारा पनि खेलाडीबीच राम्रो तालमेल रहेको मान्छिन् । उनले उमेर समूहमा सँगै खेलेको खेलाडी रहँदा समस्या नआउने प्रतिक्रिया दिइन् । ‘तयारीको समय कम भयो, तर खेलाडीको मनोबल उच्च छ,’ साराले भनिन्, ‘यसअघि पनि भारत र बंगलादेशसँग खेलेको हुँदा यसपटक नेपालको टोली सबैभन्दा बलियो छ ।’ 

सन्तुलित टोली
कप्तान सारा नेपाली टिम सन्तुलित रहेको बताउँछिन् । यसअघि उनले नेपालको यू–१५, यू–१९ र यू–२० टोलीबाट खेलिसकेकी छिन् । उमेर समूहमा अनुभव भएका कारण उनले खेलाडीबीच तालमेल मिलेको बताइन् । ‘उमेर समूहमा नेपालको प्रतिनिधित्व गरेका खेलाडी भएकाले अनुभवको कमी छैन,’ उनी भन्छिन्, ‘पहिलेदेखि सँगै खेलेको भएर सजिलो छ ।’ कप्तान सारासँगै गोलरक्षक लीला जोशी र रक्षक दिव्या यस्मली मगरले नेपालको यू–२० टोलीबाट यसअघि नै खेलिसकेका छन् । टोलीमा रहेका तीनै गोलरक्षकले नेपालको उमेर समूहबाट खेलिसकेका छन् ।

 गोलरक्षक सुजाता तामाङ र करुणा बुढाथोकीसँगै रक्षक सीता रोकाया, माया मास्के, सिमरन राई, भावना परियार, झुमा विश्वकर्मा, पुनम चेम्जोङ र सुशीला केसी, स्ट्राइकर सेनु परियार, सुक्रिया मियाँ तथा वर्षा ओलीले नेपालको प्रतिनिधित्व गर्दै यू–१७ महिला च्याम्पियनसिप खेलिसकेका छन् । रोजिता विष्ट, सरिताकुमारी नाथ, गंगा रोकाया, बिर्सना चौधरी, लीला चन्द, पूर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तानले पहिलोपटक नेपालको प्रतिनित्व गर्दै अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्दै छन् । एन्फाले एक सय ४६ खेलाडीबाट अन्तिममा २३ खेलाडी घोषणा गरेको हो । ‘अधिकांश खेलाडी उमेर समूहबाट खेलेकै कारण टोली बनाउन गर्न सहज भएको प्रशिक्षक साउखलले बताए । ‘हामीले खुला छनोटपछि तीन साता अभ्यास गर्‍यौँ, यसबीचमा खेलाडी छनोट गर्न सहज भयो, यस टोलीबाट नतिजाको आशा गरेको छु,’ उनले भने । 

बंगलादेश सर्वाधिक तीनपटक च्याम्पियन
प्रतियोगिता पाँचौँपटक हुँदै गर्दा बंगलादेश सर्वाधिक तीनपटकको च्याम्पियन हो । भारतले एकपटक उपाधि जितेको छ । नेपाल २०१८ र २०२३ मा मात्रै उपविजेता बनेको थियो । भुटानमा २०१८ मा पहिलोपटक आयोजना भएको प्रतियोगितामा नेपाललाई हराउँदै बंगलादेश च्याम्पियन बन्यो । २०२१ मा बंगलादेशले नै उपाधि चुमेको थियो । यो संस्करण यू–१९ का रूपमा हुँदा भारत फाइनलमा बंगलादेशसँग १–० ले पराजित भयो । 

२०२२ भारतमा यू–१८ स्वरूपमा आयोजना हुँदा घरेलु टोली नै च्याम्पियन भयो । त्यसवेला सिंगल राउन्ड पद्धतिमा आयोजना हुँदा नेपाल, भारत र बंगलादेश मात्रै थिए । भारत शीर्ष स्थानमा रहेर च्याम्पियन भएको हो । २०२३ ढाकामा भएको प्रतियोगिताको फाइनलमा नेपाललाई ३–० ले हराउँदै बंगलादेश तेस्रोपटक च्याम्पियन बन्यो । यसपटक शीर्ष दुईमा रहेका नेपाल र बंगलादेशले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । 

ad
ad