१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वडाद्वारा विपन्न मजदुरको बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:१२:oo

नेपालगन्ज उपमहानगरपालिका– १ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ। वडा कार्यालयले आफ्नो वडामा बसोवास गर्ने विपन्न वर्गका कामदारको रु. एक लाखसम्मको बिमा गर्न सुरु गरेको हो।

म्यादी लघुजीवनमा रु. एक लाखसम्मको बिमा गर्न थालिएको वडाध्यक्ष प्रमोद रिजालले बताए। उनले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी बिमा अभियान नै सञ्चालन गरिएको जानकारी दिए। वडाध्यक्ष रिजालका अनुसार १८ वर्षदेखि ५५ वर्षका विपन्न नागरिकको बिमा गरिनेछ। 

वडासचिव भुविन्द्रप्रसाद कँडेल, इन्स्योरेन्स कम्पनी नेपालगन्जका प्रबन्धक लक्ष्मी विष्टको उपस्थितिमा वडाध्यक्ष रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक विमल खड्काले सम्झौता गरेका हुन्। 

वडाध्यक्ष रिजालले १८ वर्ष उमेर भएकाको हकमा रु. दुई सय ७९ र ५५ वर्षको उमेर भएकाको रु. एक हजार एक सय ३५ तिरेर बिमा गरिने जानकारी दिए। बिमाबापतको रकम वडा कार्यालयले दिनेछ। 

‘बिमा एक वर्षका लागि हुनेछ। अर्को वर्ष गर्न चाहेमा फेरि गर्नुपर्छ,’ रिजालले भने। उनका अनुसार सवारीचालक, उद्योगमा काम गर्ने कामदार, डकर्मी, सिकर्मी, पेन्टिङ व्यवसायी, दैनिक मजदुरी गर्ने, कृषि मजदुरलगायत श्रम गरी खाने वडाभित्रका नागरिकको बिमा गर्न लागिएको हो।

रु. एक लाखको जीवन बिमामा दुर्घटना भएर बिमितको मृत्यु भएमा निजका परिवारले रु. दुई लाख र क्रियाखर्च रु. २५ हजार उपलब्ध गराइने इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक खड्काले जानकारी दिए। 

ad
ad