जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिनुको कारण के हो ?
सत्तागठबन्धनमा जसपाले सुरुको एक वर्ष र त्यसपछि क्रमशः जनमतले एक वर्ष, कांग्रेसले दुई वर्ष मधेश प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, जसपाले त्यसको उल्लंघन गर्दै सरकार चलाइरहेको छ । हाम्रो विरोधका बाबजुद जसपाका अध्यक्ष उपेन्द्र यादवबाट सप्तरीमा कृषि विश्वविद्यालयको उद्घाटन गराइयो । हाम्रो मन्त्रीको टाउको फुटाइयो, सांसदहरूमाथि लाठीचार्ज गरियो । सडकमा सेना उतारियो । जसपा नेतृत्वको सरकारले गैरकानुनी रूपमा देखाएको यो दम्भपछि हामी सरकारमा बसिरहने कुरै भएन ।
मधेश कृषि विश्वविद्यालयको शिलान्यास विवाद के हो ?
सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास हुनु स्वाभाविक रूपमा त्यहाँका जनताका लागि सुखद खबर हो । तर, विश्वविद्यालयका नाममा त्यहाँ दलीय हस्तक्षेप र क्रूरता हाबी भयो । सप्तरी २ का जनप्रतिनिधि सिके राउत हुन् । सांसद निर्वाचित भएपछि उनैको ६ महिनाको पहलमा त्यहाँ ३० करोड बजेट ल्याइयो । तर, उनैलाई बहिष्कार गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवबाट त्यहाँ विश्वविद्यालयको शिलान्यास गराउन खोज्दा हामीले प्रतिकार गरेका हौँ ।
सिके राउतलाई विश्वविद्यालयको शिलान्यास गर्न नदिइएका कारण सरकार छाडेको आरोप छ नि ?
हामीले सिके राउतबाटै शिलान्यास गराउनुपर्छ भनेका होइनौँ । जसपाकै शिक्षामन्त्री अशोक राईबाट गरेको भए पनि तर्कसंगत हुन्थ्यो । जसपाकै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेको भए पनि हुन्थ्यो । तर, एक वर्षअघि मात्रै त्यहीँको निर्वाचन क्षेत्रबाट भारी मतान्तरले पराजित उपेन्द्र यादवलाई विश्वविद्यालयको शिलान्यास गर्न लानु भनेको राजनीतिक र नैतिक हिसाबले पनि सही होइन । हामीले त्यसैको विरोधमा सत्ता छाडेका हौँ ।