१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सभामुख र समितिका सभापतिबीच संसद् बैठक ‘क्यालेन्डर’बारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:१७:oo

संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा छलफल गरिएको छ। सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिसँग सो विषयमा संयुक्त रूपमा छलफल गरेका हुन्। 

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘संसद्को आगामी अधिवेशनदेखि नै थप प्रभावकारी ढंगले बैठक सञ्चालन गर्न क्यालेन्डर निश्चित गर्ने र त्यसका लागि १५ दिनको, ३० दिनको र सिंगाे सत्रका लागि अलग–अलग क्यालेन्डर बनाउनेबारेमा छलफल भएको छ।’ साथै संसद्को सत्र कहिलेसम्म सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको र विभिन्न रायसुझाव प्राप्त भएको उनले बताए। 

सभामुख घिमिरेले आगामी हिउँदे सत्र चाँडै बोलाउने र त्यसका लागि गर्नैपर्ने तयारीका सम्बन्धमा पनि राय, परामर्श प्राप्त भएको बताए। 

बैठकमा उनले समितिमा विधेयकसम्बन्धी अवस्था र बाँकी रहेका विषयबारे जानकारी लिनुका साथै आवश्यकताअनुसार बैठक बोलाएर समझदारीका साथ छिटो सक्न निर्देशन दिए। सो अवसरमा एउटै विषयमा फरकफरक समितिले गर्ने छलफल सम्बन्धमा कुरा भएको र समन्वयका लागि सभामुखले निर्देशनसमेत दिए। 

बैठकमा दातृ निकायबाट समितिलाई हुने विभिन्न सहयोगका विषयमा पनि छलफल भएको र त्यस्तो छलफल एकीकृत रूपमा तथा संसद् सचिवालयमार्फत गर्दा राम्रो हुने सुझाव आएको सभामुख घिमिरेले बताए। 

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, अर्थ समितिका सभापति सन्तोष चालिसे सहभागी थिए। 

ad
ad