१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तिलगंगास्थित बागमती पुल र मीनभवनस्थित नेपाल कमर्स क्याम्पस भवन (दायाँ) । तस्बिर : दिपेन्द्र ढुंगाना, संजित परियार/नयाँ पत्रिका
यम बम काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o९:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाका ५७ विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन र पुल भूकम्पको उच्च जोखिममा

पुनर्निर्माण गर्न सरकारी अध्ययनको सिफारिस, लागत तीन अर्ब ६० करोड ६९ लाख 

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:५८:oo

काठमाडौं उपत्यकामा विद्यालय, स्वास्थ्य संस्था र सरकारी गरी ५३ भवनसँगै चारवटा मोटेरेबल पुल भूकम्पीय जोखिमका हिसाबले संवेदनशील रहेको पाइएको छ । ती भौतिक संरचना तत्काल पुनर्निर्माण गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरकारलाई सिफारिस गरेको छ । 

रामेश्वर मरहठ्ठा सहसचिव राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

भूकम्पको जोखिममा रहेका संरचनाको लिस्ट पहिले नै थियो । भत्किए भने जनजीवन प्रभावित हुने अवस्थाका जीर्ण संरचना तत्काल पुनर्निर्माण गर्नुपर्ने संरचनाबारे अध्ययन गर्दा ५७ वटा देखिएको हो । प्रतिवेदन गृहमार्फत अर्थ मन्त्रालय गएको छ । पुनर्निर्माणका लागि बजेटमा समावेश गर्न छलफल भइरहेको छ ।

जापानी सहयोग नियोगसँगको सहकार्यमा प्राधिकरणले ‘काठमाडौं उपत्यकामा विपत् जोखिम सुशासन सबलीकरण परियोजना’अन्तर्गत गरेको अध्ययनअनुसार काठमाडौं, ललितपुर र भक्तपुरका ३१ विद्यालय÷क्याम्पसका ३२ भवन, १३ स्वास्थ्य संस्था, आठ सरकारी भवन र चारवटा पुल पुनर्निर्माण गर्नुपर्ने देखिएको हो । ती भौतिक संरचना पुनर्निर्माणका लागि प्रारम्भिक बजेट तीन अर्ब ६० करोड ६९ लाख आवश्यक रहेको र प्रतिवेदन गृह हुँदै अर्थ मन्त्रालयमा पेस गरिएको प्राधिकरणका सहसचिव एवं परियोजनाका निर्देशक रामेश्वर मरहठ्ठाले जानकारी दिए । 

३१ विद्यालय, क्याम्पसका भवनका ३२ भवनका लागि एक अर्ब ६३ करोड १५ लाख, स्वास्थ्य संस्थाका भवनका लागि ३८ करोड ७४ लाख, सरकारी भवनका लागि ५१ करोड ८० लाख र पुलका लागि एक अर्ब सात करोड बजेट आवश्यक पर्ने औँल्याइएको छ । ‘भूकम्पको जोखिममा रहेका संरचनाको लिस्ट पहिले नै थियो । भत्किए भने जनजीवन प्रभावित हुने अवस्थाका जीर्ण संरचना तत्काल पुनर्निर्माण गर्नुपर्ने संरचनाबारे अध्ययन गर्दा ५७ वटा देखिएको हो,’ अध्ययन टोलीको नेतृत्व गरेका सहसचिव मरहठ्ठाले भने, ‘प्रतिवेदन गृहमार्फत अर्थ मन्त्रालय गएको छ । पुनर्निर्माणका लागि बजेटमा समावेश गर्न छलफल भइरहेको छ ।’ प्राधिकरणले तत्काल सरकारी योजनामा नपरेका, तर जीर्ण रहेका संरचना पुनर्निर्माणमा जोड दिएको छ । 

१२ वैशाख ०७२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएपछि जापानी सहयोग नियोग (जाइका)ले भूकम्पीय जोखिमको आकलन गरेको थियो । सन् २०१५ देखि ०२० सम्मको अध्ययनअनुसार उपत्यकामा ५४ हजार भौतिक संरचना भूकम्पीय जोखिममा रहेको देखिएको थियो । तर, प्राधिकरणले तीमध्ये तत्काल पुनर्निर्माण गर्नुपर्ने संरचनाको विस्तृत अध्ययन गरेको हो ।

यसअघिको प्रारम्भिक अध्ययनमा निजी भवनको जोखिमसमेत आकलन गरिएकामा विस्तृत अध्यननमा सार्वजनिक भवनको मात्र विषय समेटिएको छ । ‘अरू भौतिक संरचना जोखिममा छैनन् भन्न खोजिएको होइन । मासका हिसाबले बढी असर गर्न सक्ने र तत्काल पुनर्निर्माण गर्नुपर्ने संरचनाबारे अध्ययन गरेका हौँ,’ काठमाडौं उपत्यका विपत् जोखिम सुशासन सबलीकरण परियोजनाका परामर्शदाता भूपेन्द्र बस्नेतले भने, ‘मध्यनेपालमा भूकम्प जाँदा काठमाडौंमा ठूलो असर गर्न सक्ने देखिन्छ ।’

पुलको अध्ययन गर्दा सन् १९८० भन्दा अघि बनाइएकामध्ये तीनवटा पुल तत्काल पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । बागमती पुल (पशुपति), विष्णुमती पुल (नयाँ बजार) र धोबीखोला पुल (चाबहिल) पुनर्निर्माणका लागि सिफारिस गरिएको छ भने बागमती पुल (युएन पार्क नजिक)लाई अति व्यस्त रहेकाले थप नयाँ पुल बनाउन भनिएको छ । ‘युएन पार्कनजिककै बागमती पुल नयाँ त हो, तर निकै व्यस्त हुन्छ । भूकम्प वा अन्य विपतका वेला त्यस क्षेत्रबाट आउजाउ गर्न अस्तव्यस्त हुन सक्ने भएकाले नजिकै अर्काे पुल पनि थप्न भनिएको हो,’ बस्नेतले भने ।

 

 

 

ad
ad