१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
बुद्धिनारायण श्रेष्ठ
२o८१ बैशाख १९ बुधबार o७:२८:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

किन सम्झने पृथ्वीनारायणलाई ?

अनेकौँ राजनीतिक परिवर्तनपछि पनि पृथ्वीनारायण शाहका काम र विचार राष्ट्रियताका दृष्टिले अझै पनि सान्दर्भिक रहेकाले उनलाई सम्झनुपर्छ

Read Time : > 5 मिनेट
बुद्धिनारायण श्रेष्ठ
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:२८:oo

नेपालको सिमाना एकीकरण र सुदृढीकरण गर्ने चाहना राख्ने अभियन्ता पृथ्वीनारायण शाहको विभिन्न पहिचान रहेको छ । कतिपयले उनलाई राजाका रूपमा हेर्ने गरेका छन् । तर, उनको क्रियाकलाप अध्ययन गर्दा नेपाल राष्ट्रनिर्माता, पूर्वराष्ट्राध्यक्ष, राष्ट्रप्रेमीको पहिचानसमेत रहेको छ भन्नुपर्ने हुन्छ। भारतमा शासन गरिरहेका अंग्रेजको पन्जाबाट नेपाललाई जोगाउन उनले अनेक रणनीति र कूटनीति अवलम्बन गरेका थिए ।

५२ वर्षे जीवनकालमा नेपालको राष्ट्रियता बचाउन र राष्ट्रको संरक्षण गर्न अनेक उक्ति, उपदेश, भनाइ र दिव्य विचार उनले उजागर गरेका थिए । उनको समयकालदेखि हालसम्म नेपालमा वेलावेलामा राजनीतिक उथलपुथल भएका छन् । जस्तो– तत्कालीन जनताले थापा तथा पाँडेकाल भोगेका थिए भने त्यसपछि एक सय चारवर्षे जहानियाँ राणाशासन, प्रजातान्त्रिक काल, पञ्चायती कालखण्ड, पुनः प्रजातन्त्र प्राप्ति, लोकतन्त्र, शाहवंशीय शासनको अन्त्य र हालको संघीय गणतन्त्रात्मक व्यवस्था पनि जनताले अनुभव गरिरहेका छन् । यतिका परिवर्तनपछि पनि पृथ्वीनारायण शाहको उक्ति भनौँ वा दिव्य विचार या उपदेश राष्ट्रियताका दृष्टिले अझै पनि सान्दर्भिक रहेकाले अहिले पनि उनलाई सम्झनुपर्छ । 

पृथ्वीनारायणले सानातिना राज्य रजौटालाई एकसूत्रमा बाँध्दै सीमा एकीकरणका शीर्ष अभियन्ताको भूमिका खेलेका थिए । उनले राज्यहरूको एकीकरण गरेजस्तै अहिले देश विकासका लागि सबै नेतालाई विकासमा संलग्न गराउन सक्ने शीर्ष नेता आवश्यक परेको छ भन्ने आमजनताको धारणा रहेको पाइन्छ । सर्वमान्य नेताको भूमिका खेल्ने कार्यको अभावका कारण छिमेकी देशले फितलो सरकारलाई अनेक दबाबमा पार्ने गरेको कुरा वेलाबखत सुनिन्छ । अहिले संसद्मा रहेका राजनीतिक दलहरू वैचारिक रूपमा विखण्डित भइरहेका छन् ।

एउटै दलमा दुई–तीन खेमा रहेको पाइन्छ । नेता र सहनेतामा अधिकारको बाँडफाँट नमिलेका कारण आपूmमुनिका उपनेता, प्रादेशिक नेता, जिल्ला नेतालाई समेटेर अघि बढ्न नसक्नाले कतिपय पार्टीभित्रै किचलो पैदा भएको सर्वसाधारण जनताले महसुस गरेका छन् । यस्ता समस्या समाधानका लागि अधिकारवाला नेता तथा हालिमुहालीमा रहेका पदाधिकारीले पृथ्वीनारायणको उक्तिअनुसार ‘मुलुक सबै जातजातिको साझा फूलबारी हो’ भन्ने सान्दर्भिक भनाइ मनन गरेको भए र योग्यता र क्षमताअनुसार सबैमा अधिकार र कामको बाँडफाँट गरेर देशलाई आर्थिक समृद्धितर्फ लम्काऔँ भन्ने धारणा कार्यान्वयन गरेको भए देशमा राजनीतिक रडाको मच्चिने थिएन होला । यस्तो रडाकोले देश आर्थिक समृद्धितर्फ लम्कने गतिलाई प्रतिकूल प्रभाव पारेको कुरा गरिखाने सामान्य जनताले महसुस गरेका छन् । त्यसैले, यस घडीमा समेत पृथ्वीनारायणको उक्ति सदावहार, सार्थक तथा सान्दर्भिक रहेको आभास हुन्छ । 

पृथ्वीनारायणलाई पूर्वाग्रही दृष्टिले होइन, नेपाली हुनुको सान र गौरवका साथ उनले पुर्‍याएको योगदानलाई ऐतिहासिक दृष्टिकोणले हेर्नु उपयुक्त हुन्छ । नेपाल राष्ट्र, नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको जगेर्ना गर्न उनलाई सम्झनु सान्दर्भिक हुन्छ ।

पृथ्वीनारायणका उक्तिको सान्दर्भिकता :  गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा २७ पुसमा दिएको शुभकामना सन्देशमा ‘तत्कालीन समयमा पृथ्वीनारायण शाहले दिएका उपदेश वर्तमान सन्दर्भमा पनि उत्तिकै मननीय रहेको छ ।

स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालनलगायत बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहको उपदेशलाई सार्वकालिक सन्दर्भ सामग्रीका रूपमा लिन सक्छौँ । राष्ट्रिय एकता दिवसको यस अवसरले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु’ भनेकी थिइन् । उनले सिंहदरबारअगाडि रहेको पृथ्वीनारायणको सालिकमा गई माल्यार्पण पनि गरेकी थिइन् ।

पृथ्वीनारायणले सुरु गरेको सीमा एकीकरणको सम्झनास्वरूप सरकारले गत वर्ष २७ पुसमा नेपाल राज्यभर र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगमा सार्वजनिक बिदा दिएको थियो । सरकारले यस वर्ष पनि बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीका हैसियतमा केपी शर्मा ओलीले शाहको २९९औँ जन्मजयन्तीका अवसरमा ०७७ पुस २७ गते नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताउँदै सम्मान व्यक्त गरेका थिए । उनले सामाजिक सञ्जालमा ट्विट गर्दै पृथ्वीनारायणका योगदानको स्मरण पनि गरेका थिए । यसैगरी तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई तथा झलनाथ खनालले समेत विभिन्न समय र कार्यक्रममा ‘पृथ्वीनारायण शाहको मुलुक एकीकरण अभियान प्रक्रिया समाज विकासको ऐतिहासिक भौतिकवादी दृष्टिकोणले सही थियो’ भनेका छन् । तर, पृथ्वीनारायणको उक्ति अनुसरण नगरी व्यवहारमा राजनीतिक नेताहरू एकआपसमा नमिलेका कारण देशमा राजनीतिक अस्थिरता र किचलो उब्जिएको छ ।  

पृथ्वीनारायणको कूटनीति :  पृथ्वीनारायणलाई सम्झनुपर्ने उनको उक्तिबारे समग्र रूपमा भन्नुपर्दा नेपाल राष्ट्र, नेपालको राष्ट्रियता, सार्वभौमिकता बचाउन, राष्ट्रिय सीमा संरक्षण गर्न र नेपालीलाई नेपाली भएर बाँच्न उनको सन्देशले योगदान पु¥याएको छ । नेपाललाई स्वतन्त्र राष्ट्रका रूपमा सदा खडा गराई उत्तर र दक्षिणका दुवै छिमेकीका दबाबबाट बचाइराख्नुपर्छ भन्ने मनसाय पृथ्वी विचारको कूटनीतिक सार हो भन्नु अत्युक्ति नहोला ।

उनको भनाइ थियो– ‘यो राजे दुई ढुंगाको तरुलजस्तो रहेछ, चीन बादशाहसित ठूलो घाहा (मित्रता) राषनु, दषिनको समुद्रका बादशाहसित घाहा ता राषनु, तर त्यो महाचतुर छ’ भन्ने उक्तिलाई देशको बागडोर सञ्चालनका लागि मार्मिक दृष्टान्तका रूपमा लिन सकिन्छ । हुन पनि हो, भारत या चीनमध्ये कुनै एकलाई नेपालले चिढ्याउने काम गर्‍यो भने अर्थात् एकातिर लहस्सियो भने नेपाल चिरिप्प नभए पनि नेपाललाई हानि भने पुग्छ, पुग्छ । त्यसैले नेपालले छुरीको धारमाथि हिँड्नुपरेको छ । चतुरोको फन्दामा परेर बीचधारबाट नेपाल दक्षिणतर्फ चिप्लिएमा दक्षिणको चतुराले नेपाललाई खेलाई–खेलाई आफ्नो वशमा नपार्ला भन्न सकिँदैन । वशमा नपरे नुन–तेलसम्म पनि रोकेर पुनः नाकाबन्दी नगर्ला भन्न सकिँदैन । उत्तरतर्पm चिप्लिए उत्तरकै विचारधारामा नेपाललाई डोहोर्‍याएर आफ्नो छत्रछायामा नराख्ला भन्न सकिँदैन । 

हाम्रा दक्षिणी छिमेकीले चार वर्षअघि ‘भारतको राजनीतिक नक्सा’ प्रकाशित गरी नेपालको सार्वभौम लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रको ३७२ वर्गकिलोमिटर भूभाग सर्लक्क आफ्नो सरहदमा मिसायो । नेपालले प्रतिवाद गर्दै वार्ताका लागि आह्वान गर्‍यो । पाँचपटक ‘डिप्लोमेटिक नोट’ पठायो । तर, भारतले कहिले कोरोना भाइरस संक्रमण देखाई वार्ता आलटाल गर्ने गरेको र कहिले भने अनुकूल समय नभएको भन्दै आएको थियो । नेपालले विवश भएर तीन वर्षअघि आफ्नो सार्वभौम क्षेत्र अंकन गरी चुच्चे नक्सा प्रकाशित गर्‍यो । यसपछि भारत वार्ताको वातावरण बनाउन उद्यत भएको आभास भएको थियो । तर, वार्ता गर्न आजसम्म तयार भएको देखिँदैन । यस विषयमा नेपालले सशक्त कूटनीति अवलम्बन गर्न सकेको छैन ।

दक्षिणतर्फको मित्र चतुर छ भन्ने दृष्टान्त अन्य कुराबाट पनि अनुभव गर्न सकिन्छ । नेपालमा प्रत्येक नयाँ प्रधानमन्त्री हुनेबित्तिकै ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्न तात्तातो निमन्त्रणा पठाइहाल्छ । हाम्रा सरकार प्रमुख पनि लुरुलुरु गइहाल्छन् । भारतका प्रधानमन्त्री भने १२ वर्षपछि मात्र नेपाल आए । मित्रता भनेको त लगभग ‘रिसिप्रोसिटी’का आधारमा सुदृढ हुनुपर्ने हो । उनीहरूको ध्येय होला, हामी बोलाउँछौँ, उनीहरू आइहाल्छन् । यहीँ हामी उनीहरूका कुरा सुनिहाल्छौँ, जे सूत्र भन्नुपर्ने हो, उनीहरूलाई भनिहाल्छौँ । अनि बेकारमा धाइधाई नेपाल जान किन आवश्यक प¥यो र !

हुन पनि त्यस १२ वर्षे समयकालमा झलनाथ खनालबाहेक १३ कार्यकालका नौजना प्रधानन्त्रीले प्राथमिकतासाथ औपचारिक रूपमा भारत भ्रमण गरेका थिए । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नियुक्त हुनेबित्तिकै भारत सरकारले बधाई ज्ञापनका साथै भ्रमणको प्रस्ताव गरेको थियो । दाहाल यस वर्ष जेठ १७ गतेदिखि चारदिने भ्रमणमा भारत गएका थिए । उनले नेपाल–भारत सम्बन्धको आत्मीयताको वार्तालाप गरे । तर, नेपालको भौगोलिक अखण्डतासँग गाँसिएको लिम्पियाधुरा सीमा क्षेत्रको समाधानको प्रसंग उठाउन सकेनन् । 

उत्तरको मित्र पनि कम छैन । चीनले यसै वर्ष ११ भदौमा प्रकाशित गरेको नयाँ नक्सामा नेपालको लिपुलेक–कालापानी–लिम्पियाधुराको चुच्चे क्षेत्र देखाएन । भारतीय प्रधानन्त्री नरेन्द्र मोदी चीन भ्रमण गएका वेला नेपालको सम्प्रभुता भएको दार्चुलाको लिपुलेक नाकाबाट ती दुई देशले आ–आफ्नो व्यापार वाणिज्य अभिवृद्धि गर्ने भनी नेपाललाई एक वचन नसोधी सन् २०१५ मे १५ मा सम्झौता गरे । भारतले त बिस्र्यो, तर चीनले यस मामिला र चुच्चे नक्सा सम्बन्धमा नेपाललाई किन सम्झेन ? यस्तै, भारतले नयाँ नक्सा प्रकाशित गरेर नेपालको कालापानी क्षेत्र मिसाएको सन्दर्भमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले १८ मे २०२० मा ‘कालापानी क्षेत्रबारे नेपाल–भारतबीचको मामिला सुल्झाउन आपसी मित्रवत् कुराकानी जरुरी रहेको छ । नेपाल–भारत दुवैले आपसी मैत्री संवादबाटै सुल्झाउनेमा चीन विश्वस्त छ, एकपक्षीय कदम चाल्दा परिस्थिति थप जटिल हुनेतर्फ ध्यान दिनुपर्छ’ भने । तर, चीनलाई राम्ररी नै थाहा भए पनि पुराना नक्सा दस्ताबेजले कालापानी नेपालतर्फ देखाएको छ कहिल्यै भनेन । 

अन्त्यमा, यी सबैको परिप्रेक्ष्यमा पृथ्वीनारायण शाहको विचार, उक्ति, उपदेश भनौँ अथवा धारणा, दृष्टिकोण र भनाइ नेपाली राष्ट्रवादको जग हो र नेपाल राष्ट्रको आत्मा हो भन्न सकिन्छ । अहिले नेताबीच एक–आपसमा हानथाप र शक्ति सन्तुलनको अभाव परेका समयमा पनि पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरूको सीमा एकीकरण गरेजस्तै वर्तमान राजनीतिक नेताहरूको छरिएर रहेको विचार एकीकरण भए नेपालको आर्थिक समृद्धि उकालो लाग्ने थियो ।  

मुख्य कुरो, पृथ्वीनारायण शाहले त्यतिखेर जे–जस्तो धारणा राखेका थिए, तीन शताब्दीपछि आज पनि ती विषय उत्तिकै सान्दर्भिक छन् । उनले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ भनी छिमेकको सम्बन्धलाई जुन हिसाबले व्याख्या गरेका थिए, त्यो आज पनि मननीय छ । त्यसैले अहिलेको अवस्थामा पृथ्वीनारायणलाई पूर्वाग्रहको दृष्टिकोणले होइन, तर नेपाली हुनुको सान र गौरवका साथै उनले पुर्‍याएको योगदानलाई ऐतिहासिक दृष्टिकोणले हेर्नु उपयुक्त हुन्छ । त्यसैका आधारमा आजको घडीमा समेत उनको उक्ति सदावहार तथा सार्थक रहेको आभास हुन्छ । हामीले नेपाल राष्ट्र, नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको जगेर्ना गर्न उनलाई सम्झनु सान्दर्भिक हुन्छ । 

ad
ad