१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २३ आइतबार १७:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदर्शनकारीकाे मृत्युपछि बरहथवामा कर्फ्यु

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:४८:oo

नगर अस्पतालको विषयलाई लिएर भएको आन्दोलनमा एकजनाको मृत्यु भएपछि बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ।

अवस्था तनावग्रस्त बनेको भन्दै जिल्ला सुरक्षा समितिको आपतकालीन बैठकले बरहथवा बजार क्षेत्रमा शनिबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेको हो। 

समितिले जारी गरेको आदेशमा पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटो नहर, उत्तरमा सोती चोर्निया पुल र दक्षिणमा हनुमान मन्दिरलाई चार किल्ला कायम गरेर कर्फ्यु आदेश जारी गरेको हो। 

यो क्षेत्रभित्र आवतजावत गर्न, भेला गर्न, हिँडडुल गर्न, कुनै पनि प्रकारको उच्छृंखल गतिविधि गर्न नपाउने गरी शुक्रबार साझ ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए। 

आदेशको अवज्ञा गर्ने जोकोहीलाई प्रहरीले हदैसम्मको बल प्रयोग तथा कानुनअनुसार कारबाही गर्ने आदेश पत्रमा उल्लेख गरिएको छ।

बरहथवा नगरपालिका– ६ स्थित १५ शय्याको नगर अस्पताल नगरको मातहतमा राख्ने वा प्रदेशमातहतमा लगेर ५० शय्यामा स्तराेन्नति गर्ने भन्ने विवाद उग्र बन्दा एकजना आन्दोलनकारीको ज्यान जानुका साथै एकजना गम्भीर घाइते भएका थिए। 

मृतक र घाइतेलाई प्रहरीको गोली लागेको आन्दोलनरत समूहले दाबी गरे पनि प्रशासन कार्यालयले स्वतन्त्र पुष्टि भने गरेको छैन।

शुक्रबार दिउँसो शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आन्दोलनकारीको समूहले नगरपालिका र मेयर कल्पनाकुमारी कटुवालको घरमा तोडफोड र आगजनी गरेका थिए। आगजनीबाट घरमा सामान्य क्षति पुगेकाे छ भने घरअगाडि पार्किङमा रहेको नम्बर नखुलेको भारतीय नम्बर प्लेट भएको निजी कारमा पूर्ण क्षति पुगेको छ।

घटनामा बरहथवा नगरपालिका– ६ निवासी अन्दाजी ३०–३२ वर्षका जयशंकर साहको मृत्यु भएको छ। बरहथवा नगरपालिका– ८ टाडीनिवासी अभिशेष राम गम्भीर घाइते भएका छन्।  

स्थानीयका अनुसार मृत साहको टाउकोमा र घाइते रामकाे खुट्टामा गोली लागेको छ। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। मृतकको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

ad
ad