Skip This
मन्त्रीनिवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २० शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष २० शुक्रबार o६:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मन्त्रीनिवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

पुल्चोकको मन्त्रीनिवासलाई खेलाडी आवासमा विकास गरे बन्द प्रशिक्षणका वेला खेलाडीलाई होटेलमा राख्नुपर्ने अवस्थाको अन्त्य हुनेछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष २० शुक्रबार o६:१४:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पुल्चोकस्थित मन्त्रीनिवासलाई खेलाडी आवासका लागि प्रयोग गर्न दिने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक तथा सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । ‘खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित हाल पुल्चोकको हरिहरभवनस्थित मन्त्रीनिवास ललितपुरको भैँसेपाटीमा निर्मित भवनमा स्थानान्तरणपश्चात् खेलाडी आवासका रूपमा रूपान्तरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरिएको हो,’ सदस्यसचिव घिसिङले भने । 

विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका दौरान होटेल तथा बसोवास खर्चबापत राज्यले ठूलो धनराशि खर्च गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यो निर्णय गरेको उनले बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रशिक्षणका लागि विगतमा राज्यको ठूलो धनराशि खर्च हुने गरेको थियो, खेलाडीलाई कम खर्चमा गुणस्तरीय प्रशिक्षण सञ्चालन गर्दै राम्रो नतिजा हासिल गर्न पनि सहयोग पुग्ने भएको हुँदा मन्त्रीनिवासलाई खेलाडी आवासमा विकास गर्न प्रस्ताव गरेका हौँ,’ सदस्यसचिव घिसिङले भने । 

उनले १९औँ एसियन खेलकुद प्रतियोगितामा सहभागी हुनुअघि सात महिना खेलाडीलाई प्रशिक्षणका लागि १२ करोड ३८ लाख रुपैयाँ खर्च भएको प्रसंग उठाएका छन् । ‘१३औँ दक्षिण एसियाली खेलकुदको तयारीका लागि सात महिनाकै अवधिमा ४३ करोड खर्च भएको थियो, यो राज्यलाई ठूलै भार हो, हामी यसलाई कम गर्न सक्छौँ,’ उनले भने, ‘त्यसैले हालको मन्त्रीनिवासलाई खेलाडी आवासका रूपमा विकास गरे राज्य, खेलाडी र समग्र खेल क्षेत्रलाई फाइदा हुन्छ ।’ विभिन्न खेलका खेलाडीको बन्द प्रशिक्षणका वेला खेलाडीलाई एउटै होटेलमा राख्न नसक्ने अवस्थाको अन्त्य हुने बताउँदै सदस्यसचिव घिसिङले खेलाडी तथा प्रशिक्षकलाई समानस्तरको बसोवास तथा खानपानको व्यवस्थासहित आवासको व्यवस्था गर्न सके नतिजा पनि राम्रो आउने बताए ।