१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:२८:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न सत्तागठबन्धनसँग एमालेको प्रस्ताव

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:२८:oo

२१ फागुनदेखि एमालेका आठसहित राष्ट्रिय सभाका २० सांसदको कार्यकाल सकिँदै छ । ११ माघमा हुने निर्वाचनमा एक्लै प्रतिस्पर्धामा उत्रिँदा जित्ने मतभार एमालेसँग छैन । अध्यक्ष ओली सत्तागठबन्धन वा त्यसभित्रका दलसँग पनि सहकार्य गर्ने गरी संवाद बढाउँदै छन् ।

प्रमुख प्रतिपक्षी एमालेले आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धनसँग मिलेर जान प्रस्ताव गरेको छ । उसलाई मिलाएर जाने विषयमा गठबन्धनमा पनि छलफल सुरु भएको छ । 

राष्ट्रिय सभाका अध्यक्षसहित एमालेका आठ, कांग्रेसका चार, माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र दुई गरी २० सांसदको कार्यकाल २१ फागुनमा सकिँदै छ । दलीय मतभार बलियो रहेको सत्तागठबन्धनले आ–आफ्ना सिट यथावत् राखेर एमालेले जितेका सिट बाँडफाँट गर्ने तयारी गरेको थियो । उम्मेदवारी दर्ताको मिति २३ पुस नजिकिँदै गर्दा एमालेबाट सहकार्यको प्रस्ताव आएपछि छलफल त्यता केन्द्रित भएको छ । 

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको लगातारको भेट तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित तीन शीर्ष नेताबीचको छलफलमा सहकार्यका लागि तयार रहेको सन्देश दिएका छन् । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न बुधबार बसेको गठबन्धनका चार दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘एमालेले पनि मिलेर जान चाहेको’ ब्रिफिङ गरेका थिए । एमालेको ठोस प्रस्ताव आएपछि थप छलफल गर्ने निष्कर्षसहित बैठक सकिएको थियो । 

त्यसलगत्तै बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीले केहीबेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरे । त्यसपछि कांग्रेस सभापति देउवासहित तीन नेताबीच वार्ता भएको थियो । स्रोतका अनुसार त्यहाँ पनि सहकार्य गर्ने विषयमा छलफल भएको थियो । तर, औपचारिक केही निर्णय भने भइसकेको छैन । 

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार तीन नेताबीच राष्ट्रिय सभा निर्वाचन, भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण, संक्रमणकालीन न्याय र समसामयिक राजनीतिक परिस्थितिमा केन्द्रित रहेर छलफल भएको छ । 

बिहीबार बिहान सत्तागठबन्धनको बैठक बोलाइएको छ । स्रोतका अनुसार एमाले अध्यक्ष ओलीसँग भएको छलफलबारे प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले बैठकमा ब्रिफिङ गर्नेछन् । 

एमाले स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक्लै जाँदा चुनाव जित्ने स्थिति नरहेका कारण सहकार्यका लागि विभिन्न दलसँग औपचारिक र अनौपचारिक संवाद गर्ने नीतिअनुसार नै अध्यक्ष ओलीले छलफल गरिरहेको बताए । ‘सिंगै सत्तागठबन्धनसँग मिलेर जाने स्थिति बन्छ कि बन्दैन बेग्लै कुरा हो, तर एक्लै परिणाम नआउने भएकाले गठबन्धनभित्रकै कुनै दलसँग मिलेर जाने परिस्थिति पनि हुन सक्छ, त्यस क्रममा विभिन्न दलसँग छलफल जारी नै छ,’ उनले भने, ‘छलफलकै क्रममा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याएर जानुपर्ने विषय पनि छलफलमा आएको छ, तर संवाद के निष्कर्षमा पुग्छ अहिल्यै भनिहाल्ने स्थिति भने छैन ।’

माओवादी महासचिव देव गुरुङले एमालेलाई कसरी समेटेर लैजाने भन्नेमा छलफल भइरहेको बताए । यसबारे एमाले र गठबन्धनमा प्रारम्भिक छलफल मात्रै भएको उनको भनाइ छ । ‘गठबन्धनमा छलफल चलिरहेको छ, बुधबार पनि हामीबीच छलफल भयो । एमालेले पनि मिलेर जान चाहेको छ । मिलेर जाने कुरामा हामी सकारात्मक नै छौँ । छलफल सुरु भएको मात्रै हो, टुंगिएको छैन । गठबन्धनमा एमालेसँग के आधारमा, कसरी मिलेर जाने भन्ने विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने ।

सिंगै सत्तागठबन्धनसँग कुरा नमिले चुनाव जित्न गठबन्धनभित्रको जुनसुकै दलसँग सम्भावित सहकार्यको पहल गर्ने एमाले रणनीति छ । खासगरी माओवादी र जनता समाजवादी पार्टीसँग उसले औपचारिक/अनौपचारिक संवाद चलाएको छ ।

‘राष्ट्रिय सभा निर्वाचन जित्नका लागि एमाले एक्लैको मत पुग्दैन, त्यसैले प्रधानमन्त्रीसँग, विभिन्न राजनीतिक दलसँग औपचारिक÷अनौपचारिक छलफल गरिरहेका छौँ,’ एमाले नेता गौतमले भने, ‘त्यसैले चुनावबारे कुनै अमूक दलसँग छलफल स्वाभाविक छ, तर कुरा के हो प्रधानमन्त्रीका तर्फबाट पनि प्रस्टसँग आउन जरुरी छ ।’ एमालेबाट निर्वाचित आठ सांसद रिक्त हुने भएकाले मिलेर चुनाव जित्ने नीतिलाई एमालेले प्राथमिकतामा राखेको छ । 

ओलीले बोलाए प्रदेश पदाधिकारीको छलफल, शुक्रबार सचिवालय बैठक
अध्यक्ष ओलीले बिहीबार दिउँसो पार्टी प्रदेश कमिटीका पदाधिकारीलाई छलफलका लागि पार्टी केन्द्रीय कार्यालयमा बोलाएका छन् । प्रदेशहरूमा पार्टी संगठन निर्माण, जिल्ला अधिवेशन, रिपोर्टिङ र निर्देशनका लागि अध्यक्षले प्रदेश पदाधिकारीहरूलाई छलफलका लागि बोलाएको गौतमले बताए । त्यस्तै, एमालेले शुक्रबार राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे छलफलका लागि केन्द्रीय सचिवालयको बैठक पनि बोलाएको छ । 

२१ फागुनमा ६ वर्षे पदावधि सकिने २० सांसद
संविधानको धारा ८६(३) बमोजिम राष्ट्रिय सभाका एकतिहाइ सदस्यहरूको पदावधि २१ फागुनदेखि समाप्त हुँदै छ । कार्यकाल सकिन लागेका २० सांसदहरू ०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेकाहरू हुन् । जसमा एमालेबाट निर्वाचित सबैभन्दा धेरै छन् । एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित आठ सांसदको पदावधि सकिँदै छ । जसमा प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुहार र रामचन्द्र राई छन् । 

त्यस्तै, कांग्रेसबाट संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देवको कार्यकाल सकिँदै छ । माओवादीबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीको पद रिक्त हुँदै छ भने एकीकृत समाजवादीबाट भौतिक योजना राज्यमन्त्री नन्दा चपाईं र सिंहबहादुर विश्वकर्माको ठाउँ खाली हुँदै छ । जसपाबाट शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव छिन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल र स्वतन्त्र खिमलाल देवकोटा पनि कार्यकाल सकेर बिदा हुनेछन् । कार्यकाल सकिनेमा बागमतीका चार, गण्डकी, कर्णाली र सुदूरपश्चिमका तीन–तीन तथा कोशी, मधेश र लुम्बिनीमा दुई–दुई सिट छन् । 

सिट बाँडफाँटमा एमालेको ठोस प्रस्ताव पर्खिँदै सत्तागठबन्धन

सत्तागठबन्धनले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेको प्रस्ताव पर्खिने भएको छ । एमालेलाई समेत समेटेर लैजानेबारे छलफल अघि बढेसँगै गठबन्धनले एमालेको प्रस्ताव हेरेर अघि बढ्ने नीति लिएको हो । 

बुधबार दिउँसो सत्तारूढ दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच बालुवाटारमा छलफल भएको थियो । बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार एमालेलाई समेटेर लैजाने विषयमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा ब्रिफिङ गरेका थिए । 

‘प्रधानमन्त्रीजीसँग ओलीजीले राष्ट्रिय सभामा हामीलाई जिरो नगर्नुस् भन्नुभएको रहेछ । पहिलो कुरा, एमालेको प्रस्ताव के हो, त्यो उताबाट क्लियर आओस् अनि कुराकानी गर्न सजिलो हुन्छ भन्ने हाम्रो कुरा भयो । एमाले पनि हामीसँगै आयो भने त्यो ‘कन्डिसनल सहमत’ हुनेछ । कस्तो प्रस्ताव आउँछ त्यसका आधारमा हामी छलफलबाट अगाडि बढ्छौँ,’ पाण्डेले भने ।

दलीय मतभारमा बलियो रहेको गठबन्धनमा एमालेले जितेका सिटमा बाँडफाँट गर्ने तयारी थियो । तर, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर जान एमालेसमेतलाई समेटेर लान आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले छलफल थालेपछि सिट बाँडफाँटमा एमालेको प्रस्ताव पर्खिने अवस्था बनेको छ । 

१४ पुसमा कांग्रेसले राष्ट्रिय सभामा गठबन्धन गर्ने औपचारिक निर्णय लिएपछि मंगलबारबाट गठबन्धन दलमा छलफल सुरु भएको थियो । कांग्रेस मुख्य सचेतक रमेश लेखकले भने राष्ट्रिय सभा र समसामयिक विषयमा छलफल भएको गठबन्धन दलमा सिट बाँडफाँटबारे छलफल भएको बताए । ‘गठबन्धन दलबीच राष्ट्रिय सभामा कसरी जाने भन्ने छलफल भएको हो । एमालेसँग समसामयिक विषयमा छलफल भएको हो । दलहरूका बैठकमा विभिन्न कोणबाट छलफल हुने नै भयो,’ उनले भने । 

कांग्रेस र माओवादीबीच गठबन्धन दलबीच छलफल अगाडि बढाउने विषयमा मंगलबार नै छलफल भएको थियो । मंगलबारकै निर्णयअनुसार बुधबार सत्तारूढ गठबन्धन दलबीच छलफल भएको थियो । 

गठबन्धन बैठकमा परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा बिहीबार नेपाल आउन लागेका भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको भ्रमणका विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले यसको तयारीबारे बैठकमा जानकारी गराएका थिए । ‘भारतसँग भएका पञ्चेश्वर, महाकालीलगायत सन्धिका विषयमा के–कसरी राष्ट्रहितअनुकूल हुने गरी प्रस्तुत हुने भन्नेबारे छलफल भयो । प्रधानमन्त्रीज्यूले तयारीबारे ब्रिफिङ गर्नुभयो,’ पाण्डेले भने । राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका आठ, कांग्रेसका चार, माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र दुई गरी २० सांसदको कार्यकाल २१ फागुनमा सकिँदै छ । 
 

ad
ad