१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
टेकराज थामी काठमाडाैं
२०८० पौष १८ बुधबार ०८:५७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१४ किलो सुन तस्करी प्रकरण : १० प्रतिवादीविरुद्ध डेढ अर्ब बिगो र पाँच वर्षसम्म कैद माग दाबी गर्दै मुद्दा दर्ता 

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० पौष १८ बुधबार ०८:५७:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करीसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । सोमबार दर्ता भएको मुद्दामा १० जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध एक अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो तथा दुईदेखि पाँच वर्षसम्मको कैद सजाय माग दाबी गरिएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार प्रतिवादीविरुद्ध भन्सार ऐन, २०६४ को दफा २ को (च)अनुसार कारबाही अघि बढाइएको छ । उक्त दफामा कसैले पनि चोरी–पैठारी गर्न नहुने भनिएको छ । चोरी–पैठारी भन्नाले भन्सार महसुल लाग्ने मालवस्तु महसुल नतिरी, लुकाइछिपाइ वा बाटो छली वा महसुल नलाग्ने मालवस्तु भए पनि ऐनबमोजिम घोषणा नगरी नेपालभित्र ल्याउने भनी परिभाषित गरिएको छ । 

घटनामा संलग्न हुने प्रतिवादीले पटक–पटक गरी एक सय ३८ किलो सुन चोरी–पैठारी गरेकाले एक अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो तथा दुईदेखि पाँच वर्षसम्म कैद साजय माग दाबी गरिएको सरकारी वकिलको कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले बताए । ‘१४ किलो सुन तस्करीमा संलग्न १० जना अभियुक्तविरुद्ध एक अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । कैद सजाय पनि कानुनबमोजिम नै माग दाबी गरिएको छ । उनीहरूले पटक–पटक गरी एक सय ३८ किलो सुन चोरी–पैठारी गरेको अनुसन्धानबाट देखिन्छ । त्यसैलाई आधार बनाएर अदालतमा मुद्दा दर्ता भएको हो,’ उनले भने ।

सरकारी वकिलको कार्यालयका अनुसार पक्राउ परेकामध्ये मीनबहादुर घले, चन्द्रबहादर घले, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर बस्नेत, लोकबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ, रमेश देउला, अनिल श्रेष्ठ र डिबी भनिने दनबहादुर गुरुङविरुद्ध मुद्दा दर्ता भएको हो । शेरबहादुर, लोकबहादुर, राधाकृष्ण, रामेश र अनिल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी हुन् । उनीहरूसँगै पक्राउ परेका सुशीला पाण्डे, कपिल ओझा र गणेश चेपाङविरुद्ध भने मुद्दा चलाइएको छैन । सुनगाभा सगरमाथा श्रेष्ठ जेभी सप्लायर्समार्फत उनीहरूले विमानस्थलमा सरसफाइको काम गर्दै आएका थिए । घटनामा संलग्नता नदेखिएपछि उनीहरूविरुद्ध मुद्दा नचलाउने निर्णय भएको वकिल कार्यालयका प्रवक्ता आर्यालले जानकारी दिए । ‘घटनामा तीनजनाविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । घटनामा संलग्नता नदेखिएकाले उनीहरूविरुद्ध मुद्दा नचलाइने भएको हो,’ उनले भने ।

गत २१ मंसिरमा विमानस्थलस्थित भन्सार कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले १४ किलो सुनसहित चन्द्रबहादुर घलेलाई पक्राउ गरेको थियो । उनकै बयानका आधारमा प्रहरीले तस्करका मुख्य व्यवस्थापक मीनबहादुर घलेलाई धुम्बराहीबाट पक्राउ गरेको थियो । उनीहरूकै बयानका आधारमा घटनामा संलग्न अन्य पक्राउ परेका थिए । करिब १३ दिनको अनुसन्धानपछि उनीहरूले पटक–पटक गरी विमानस्थलबाट एक सय ३८ किलो सुन तस्करी गरेको खुलेका थियो । 

सुनको रकम भुक्तानी क्रिप्टो र हुन्डीबाट
नेपालमा सुन तस्करीको मुख्य व्यवस्थापकको भूमिकामा थिए गोरखा बारपाक सुलीकोट गाउँपालिका– २ का मीनबहादुर घले । दुबईस्थित भारतीय नागरिक अंकित अग्रवाल र गुरुसँग उनको सीधा सम्पर्क थियो । उनीहरूमार्फत नै घलेले दुबईबाट नेपाल सुन ल्याउँथे । र, सुरक्षित भारत पु¥याउँथे । यसबापतको रकम उनले क्रिप्टो र हुन्डीमार्फत भुक्तानी गर्थे । यस धन्दामा उनलाई सघाउँथे, भारतीय व्यापारी विमल पोद्दार । पोद्दार तीनै व्यक्ति हुन्, जो पाँच वर्षअघि विमानस्थलबाट भएको ३८ क्विन्टल सुन तस्करीमा समेत संलग्न थिए । हुन्डी र क्रिप्टो कारोबारको ठूलो सञ्जाल चलाउने उनीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले समेत अहिले अनुसन्धान गरिरहेको छ । उनले खर्बौँ रुपैयाँबराबरको कारोबार हुन्डी र क्रिप्टोमार्फत गरेको अनुसन्धानबाट खुलेको छ । 

गत ६ मंसिरमा काठमाडौं बागबजारबाट पक्राउ परेका रूपेश श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा सो गिरोहका नाइकेमध्ये एक पोद्दार भएको पुष्टि भएको छ । सिआइबीले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइसकेको छ । श्रेष्ठ पक्राउ परेलगत्तै पोद्दार भागेका थिए । काठमाडौंको डिल्लीबजारमा एड्रेस लाउन्ज नामक रेस्टुरेन्ट चलाउँदै आएका पोद्दार पहिलेदेखि ठूला किसिमको आर्थिक अपराधमा मुछिँदै आएका व्यक्ति हुन् । सिआइबीले श्रेष्ठसहित सो गिरोहका मीनबहादुर जिसी, आशिष अग्रवाल र कुमार परियारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

भारत र दुबईमा हुन्डीको कारोबारमा गर्दै आएका पोद्दारले १४ किलो सुन तस्करीमा संलग्न गिरोहसँग पनि साँठगाँठ रहेको र उनीहरूको कारोबार हुन्डी र क्रिप्टोमार्फत गरिदिएको विमानस्थलस्थित भन्सार कार्यालयको भनाइ छ । लामो समयदेखि नेपालमा बस्दै आएका पोद्दार यसअघि चूडामणि उप्रेती ‘गोरे’ समूहसँग मिलेर सुन तस्करी गरेको आरोपमा ०७५ मा पक्राउ परेका थिए । सो गिरोहमा सुनमा लगानी गर्नेमध्ये उनी प्रमुख व्यक्ति भएको खुलेको थियो । तत्कालीन सुन अनुसन्धान विशेष समितिले उनलाई पक्राउ गरेकोमा सुन र हुन्डीको कारोबार गरेको स्वीकार गरेका थिए । जिल्ला अदालत मोरङले उनलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा पछि उच्च अदालतबाट छुटेका थिए । 

अभियुक्तविरुद्ध अख्तियार दुरुपयोग, क्रिप्टो तथा हुन्डी र मानव बेचबिखन कसुरमा पनि अनुसन्धान हुने 
१४ किलो सुनसहित पक्राउ परेका गिरोहले पटक–पटक गरी एक सय ३८ किलो सुन तस्करी गरेको र त्यसबापतको रकम हुन्डी र क्रिप्टोमार्फत गरिएको देखिएपछि घटनाको बाँकी अनुसन्धान सिआइबीले गर्ने निर्णय सरकारी वकिल कार्यालय काठमाडौंले गरेको छ । अनुसन्धान प्रतिवेदनसहित सबै कागजात सिआइबीलाई दिन वकिल कार्यालयले सोमबार नै विमानस्थलस्थित भन्सार कार्यालयलाई निर्देशन दिएको छ । 

घटनमा संलग्न हुनेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र अख्तियार दुरुपयोग गरेको अभियोगमा पनि अनुसन्धान गरिनुपर्ने सरकारी वकिल कार्यालयको निष्कर्ष छ । सोहीअनुसार गर्न वकिल कार्यालयले भन्सारलाई निर्देशन दिएको छ । पक्राउ परेकामध्ये कृष्णकुमार श्रेष्ठसँग विभिन्न व्यक्तिको पासपोर्ट बरामद भएको र उनले युवालाई अनेक प्रलोभन दिएर विदेश पठाउने गरेको अनुसन्धानबाट खुलेपछि प्रतिवादीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा पनि अनुसन्धान गरिनुपर्ने सरकारी वकिल कार्यालयको निष्कर्ष छ । 

पक्राउ परेकामध्ये नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, अनिल श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला र शेरबहादुर बस्नेतले अख्तियारको दुरुपयोग गरेकाले उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्ने वकिल कार्यालयको निष्कर्ष छ । सोहीअनुसार प्रतिवेदन हस्तान्तरण गर्न भन्सार कार्यालयलाई निर्देशन दिइएको वकिल कार्यालयका प्रवक्ता अर्यालले बताए । ‘१४ किलो सुन तस्करीमा पक्राउ परेका अभियुक्तले एक सय ३८ किलो सुन तस्करी गरेको देखियो । त्यसबापतको रकम क्रिप्टो तथा हुन्डीबाट गरेको जस्तो देखिन्छ । यसमा अनुसन्धान गर्न सिआइबी भनेका छौँ । पक्राउ परेकोबाट अख्तियारको दुरुपयोग र मानव बेचबिखनमा पनि संलग्न रहेको देखियो । सोहीअनुसार अनुसन्धान गर्न सम्बन्धित निकायमा फाइल पठाउन भन्सारलाई निर्देशन दिएका छौँ,’ उनले भने ।