१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o८:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

एउटै मञ्चबाट प्रमुख दलका शीर्ष नेताको सन्देश : ‘राजतन्त्र फर्किन दिँदैनौँ, गणतन्त्रको रक्षार्थ एकजुट छौँ’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:३३:oo

प्रमुख दलका शीर्ष नेताहरूले राजतन्त्र फर्काएर तानाशाही व्यवस्था लाद्ने कुनै सम्भावना नभएको भन्दै लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ एकजुट रहेको सन्देश दिएका छन् । कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको सान्दर्भिकताका विषयमा सोमबार आयोजना गरेको कार्यक्रममा प्रमुख दलसहितका शीर्ष नेताहरूले सामूहिक रूपमै त्यस्तो सन्देश दिएका हुन् । उनीहरूले लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र भएकाले राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास र सुशासनका लागि वास्तविक एकतासहित अगाडि बढ्नुपर्ने आवश्यकतासमेत औँल्याए । 

 ‘बालकुमारी घटना लोकतान्त्रिक गणतन्त्रविरुद्ध डिजाइन हुन सक्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार ललितपुरको बालकुमारीमा मन्त्रीको गाडी जल्ने र दुईजना युवाको ज्यान जाने गरी भएको घटना लोकतान्त्रिक गणतन्त्रविरुद्धकै षड्यन्त्र हुन सक्ने बताए । ‘अस्ति (बालकुमारी)को घटना हामी कसैले पूर्वअनुमान गर्ने खालको थिएन । म अहिले सबै भन्न चाहन्नँ । चिज केही गम्भीर लागेको छ, सामान्य छैन त्यो । दुईजना युवाहरूको जस्तो परिवेशमा, जसरी हत्या भएको छ, इतिहासमा जेजस्ता गतिविधि भएका छन् । गाडी जलाउनेजस्तो गतिविधि भएको छ, चिज त्यस्तो छैन, जस्तो देखिएको छ । त्यसभित्र अर्कै केही छ भन्ने मैले अनुभूति गरेको छु,’ प्रचण्डले भने, ‘कहीँ कतै लोकतान्त्रिक गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने देखिन्छ ।’

घटना गम्भीर प्रकृतिको आशंका गरिएकैले तत्काल उच्चस्तरीय आयोग बनाएर छानबिन अगाडि बढाइएको र घटनासँग जोडिएकाहरूलाई निलम्बन गरिएको पनि उनले प्रस्ट्याए । सरकारले एक वर्षको अवधिमा कतिपय राम्रा काम गरे पनि सहयात्री ठूलो दल कांग्रेसले स्वामित्व लिन नचाहेको आशंका गर्दै प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि पनि जनाए । ‘राम्रो काम गरेकोमा स्वामित्व लिन डराउनुभएन । प्रचण्ड सानो पार्टीको नेता के–के कता–कताबाट प्रधानमन्त्री भयो भनेर कांग्रेसले सरकारले गरेका राम्रा काम खुलेर समर्थन नगर्ने, स्वामित्व लिन डराउने गर्नुभएन, हिचकिचाउनुभएन,’ उनले भने, ‘मेरो यो अपिल छ ।

हाम्रो एउटा सहमति र समझदारीले अझ भनौँ मेरो ठाउँबाट जोखिम उठाएर अहिलेको वातावरण बनेको हो । यो महत्वलाई, गहिराइलाई बुझिदिन अपिल गर्दछु ।’ उनले सहमति र सहकार्यको संस्कृतिलाई उन्नत बनाउनकै लागि संसदीय अभ्यासको इतिहासमा प्रमुख प्रतिपक्षीलाई संसद्को लेखा समितिको नेतृत्व मात्रै दिने परम्परा तोडेर तीनवटा समितिको नेतृत्व दिइएको पनि प्रचण्डले बताए । 

 ‘गणतन्त्रको रक्षा गर्न हामी एकजुट भएर जान्छौँ’ 
कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले विभिन्न बहानामा लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास भए पनि त्यसको रक्षार्थ सबै पार्टी एकजुट भएर अगाडि बढ्ने प्रस्ट्याए । ‘अहिले अनेकौँ बहाना खोजेर लोकतान्त्रिक गणतन्त्रको खिलापमा वातावरण बनाउने प्रयास भएको छ । लोकतन्त्रको प्रतिस्पर्धा अझ राम्रो लोकतन्त्र हो, लोकतन्त्रको विकल्प भनेकै उन्नत लोकतन्त्र हो । लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन । त्यसैले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ हामी एक हुनुपर्छ, सबै एक भएर जाऔँ,’ देउवाले भने । नेपालमा प्रतिस्पर्धाका बाबजुद पार्टीहरूबीच हार्दिकता, मेलमिलाप र भाइचाराको सम्बन्ध रहेको भन्दै देउवाले त्यसबाट विदेशीहरूसमेत प्रभावित भएको बताए । उनले दलहरूबीचको एकता र मेलमिलापमा कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको प्रभाव रहेको जिकिरसमेत गरे । 

 ‘गणतन्त्रको पक्षमा एक छौँ, राजतन्त्र फर्किन दिँदैनौँ’
एमाले अध्यक्ष केपी ओलीले प्रमुख तीन दल लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ एकै ठाउँ उभिएका कारण कतिपयलाई त्यही कुरा टाउको दुखाइको विषय बनेको बताए । ‘सामाजिक सञ्जाल र पत्र–पत्रिकाको तीन नेता भेटेको खबरले पनि कतिपयलाई टाउको दुख्छ । राजतन्त्र ल्याउन नदिने पो हुन् कि क्या हो ? हाम्रो कपाल त्यत्तिकै फुलेको छैन । हामी राजतन्त्र फर्किन दिँदैनौँ, खुलस्त छ त्यो कुरा । कुनै पनि तानाशाही व्यवस्था फर्किन दिँदैनौँ,’ उनले भने, ‘लोतान्त्रिक गणतन्त्र, शान्ति, सुशासन, विकासको प्रश्नमा एक छौँ, एक ठाउँमै हुनुपर्छ ।’ 

राष्ट्रियता, विकास र शान्तिको मुद्दामा दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै ओलीले साँचो अर्थमा मेलमिलाप सुरु हुनुपर्ने बताए । ‘प्रतिस्पर्धा भए पनि आधारभूत कुरामा मेलमिलाप गरौँ । लोकतान्त्रिक गणतन्त्र, शान्ति सुव्यवस्थामा आधारभूत, विधिअनुसार सरकार चल्नेमा मेलमिलाप गरौँ,’ उनले भने । बालकुमारी घटना भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाकै कारण भएको ओलीले गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । ‘हेर्दाहेर्दै समय नघर्कियोस्, मान्छे विदेश गइरहेका छन्, विदेश जान मारिरहेका छन् । मारिए किन ? किन मारिनुपर्‍यो ? मन्त्री हुलमा गाडी लिएर किन जानुपर्‍यो ? नगइनहुने के पर्‍यो ? थुप्रै प्रश्नको जवाफ के हो ? हुलमा गएर उत्तेजित गराएर, निहुँ खोजेर, गोली चलाएर मान्छे मारेर गोली मात्रै चलाएको होइन, बन्दुकको कुन्दाले यसरी हानेको छ कि, घुत्रुकै ठाउँकोठाउँ मरेको छ । सहज कुरा हो यो ?’ उनले प्रश्न गरे । 

ओलीले कांग्रेस अहिलेको सरकारप्रति सन्तुष्टि रहेको भन्दै व्यंग्यसमेत गरे । ‘अहिलेको परिस्थिति, अहिलेको राज्यसञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालेर कुनै तरंग ल्याउने मेरो इच्छा छैन । त्यसकारण, म त्यतापट्टि बिल्कुलै जान चाहन्नँ । कुनै अमनचयनमा खलल पनि पार्न चाहन्नँ । त्यस सीमाभित्र मात्र म बोल्छु,’ उनले भने ।

 नेपाल, भट्टराई र केसीको जोड पनि सहमतिमै 
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजावादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राजमोका अध्यक्ष चित्रबहादुर केसीले पनि दलहरू मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपालले गणतन्त्रको रक्षार्थ सबै एकजुट बन्नुपर्नेमा जोड दिए भने भट्टराईले सबै दल सम्मिलित सर्वदलीय सरकार बनाएर स्थिरता दिनुपर्ने प्रस्ताव गरे । केसीले गणतन्त्र ल्याएका दलकै कारण जनतामा वितृष्णा देखिएकाले त्यसको अन्त्यका लागि सबै मिलेर बढ्नुपर्ने बताए । 

ad
ad