दुर्गम जिल्ला मुगुका विद्यालय। जहाँ खानेपानी, बेन्च, डेस्क, कक्षाकोठा, हिँड्ने बाटाेसम्मको अभाव छ। यस्तै अभावैअभावबीच सोरु गाउँपालिका– ४ लिब्रु गाउँमा रहेको कालिका माध्यमिक विद्यालय गुणस्तरीय शिक्षामा जिल्लामै अब्बल साबित भएकाे छ।
०३४ सालमा स्थापना भएको यो विद्यालयले स्थापनाकालदेखि नै आधारभूत भौतिक पूर्वाधारकाे अभाव झेल्दै आएकाे छ। बसेर लेख्न मिल्ने डेक्स-बेन्च, अतिरिक्त पुस्तक पढ्न लाइब्रेरी र कम्प्युटर यहाँका लागि धेरै टाढाका कुरा हुन्। यस्तै समस्याबीच पनि यहाँ कार्यरत शिक्षक-शिक्षिकाले मौखिक रूपमै भए पनि नियमित पठनपाठनका साथै विद्यार्थीलाई अतिरिक्त ज्ञानसमेत दिँदै आएका छन्।
विद्यालयमा पढनपाठन राम्रो हुने गरेपछि हुम्लाका ताँजाकोट र सर्केगार्ड गाउँँपालिकाका तुम्च, तलतडी बस्तीबाट दुई दर्जनभन्दा बढी विद्यार्थी आफ्नो गाउँको विद्यालय छाडेर कर्णाली पुल पार गर्दै यस विद्यालयमा पढ्न आउने गरेका छन्।
त्यसैगरी, मुगु सोरु गाउँँपालिका– २ स्थित जनज्योति माध्यमिक विद्यालय छाडेर करिब तीन दर्जन विद्यार्थी यहाँ पढ्न आउने गरेको पाइएको छ।
उता, हुम्ला कर्णालीपारि तुम्च गाउँ, तलतडी गाउँका दुई दर्जन विद्यार्थी पनि डेढ घन्टा हिँडेर कालिका माध्यमिक विद्यालयमा पढ्न आउने गरेका छन्।
भौतिक पूर्वाधार अभावका बाबजुद विद्यालयमा विद्यार्थीको चाप बढेको शिक्षकले बताए। गत वर्ष कालिका माध्यमिक विद्यालयबाट २८ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए। जसमा २६ जना उत्तीर्ण भएका थिए। समस्यैसमस्याका बाबजुद पढाइ राम्रो हुँदा विद्यालयमा विद्यार्थीको चाप बढेको प्रधानाध्यापक अंगबहादुर बुढाले बताए।
अहिले विद्यालयमा विषयगत शिक्षकको समेत अभाव छ। तर, भएका शिक्षक–शिक्षिकाले पढाइका साथै अतिरिक्त ज्ञान दिँदै आएको प्रअ बुढाले बताए। सोरु गाउँपालिकाभर आठवटा माध्यमिक विद्यालयमध्ये लिब्रु गाउँमा रहेको यस विद्यालयमा राम्रो पढाइ हुने गरेको गाउँपालिका शिक्षा शाखाको भनाइ छ।
भौतिक पूर्वाधारको अभावका बाबजुद कालिका माविका शिक्षकले गुणस्तरीय पढाइ र विद्यार्थीको बढी निगरानी गर्ने भएकाले मुसिनमेला गाउँका अभिभावकले आफ्ना छोराछोरीलाई पाँच घन्टा हिँडाएर भए पनि कालिका माविमै पठाउने गरेको बताए। तर, विद्यालयमा छात्रावासको व्यवस्था नहुँदा टाढाबाट पढ्न आउने विद्यार्थीलाई समस्या हुने गरेको छ।
सोरु गाउँपालिका– २ मुसिनमेला गाउँका दत्तराज नेपाली स्कुल पढ्न दैनिक पाँच घन्टा पैदल हिँडेर आउने–जाने गरेका छ्न्। कक्षा नाैमा अध्ययनरत नेपालीलाई विद्यालय आउजाउ गर्न दैनिक पाँच घन्टा उकालो–ओरालो हिँड्नुपर्ने बाध्यता छ। बिहानै ७ बजे नै स्कुल जान ओरालो झरेर नाै बजे स्कुल पुग्ने र बेलुकी विद्यालय बिदा भएपछि तीन घन्टा उकालो उक्लेर साँझ घर पुग्ने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘मलाई स्कुल पढ्न दैनिक उकालो र ओरालो गर्न पाँच घन्टा दौडिनुपर्छ। झरी र हिमपातको वेला चिप्लिँदै विद्यालय जानुपर्छ।’
विद्यालय आउजाउ गर्न पाँच घन्टा लामो बाटो पैदल हिँड्नुपर्ने बाध्यताले शिक्षकले दिएको गृहकार्य गर्न नपाइने, जंगल र जोखिमपूर्ण बाटो हिँड्नुपर्ने समस्या झेलिरहेको छात्रा दीपु नेपालीले दुःखेसो पोखिन्।
उता विद्यालय पढ्न गएका छोराछोरी घर नपुग्दासम्म अभिभावकले पनि बाटो हेरेर बस्नुपर्ने बाध्यता रहेको मुसिनमेला गाउँकी चिन्ता शाहीले बताइन्। उनले भनिन् ‘मेरा दुई छोराछोरी दैनिक पाँच घन्टा हिँडेर लिब्रु कालिका माविमा पढ्न जान्छन्। घर नपुग्दासम्म चिन्ता लागिरहन्छ।’
पहिरोको जोखिममा विद्यालय
कालिका माध्यमिक विद्यालय पहिरोको उच्च जोखिममा छ। गत वर्ष निर्माण गरिएको ६ कोठे दुईतले भवनको तलबाट जमिन भासिन थालेको र माथिबाट पनि पहिरो जान थालेपछि उक्त भवन जोखिम हुन थालेको हो।
चार वर्षअघि निर्माण गरिएको अर्को ६ कोठे दुईतले भवन पनि अत्यन्तै जीर्ण भइसकेको छ। उक्त भवनको तल्लो तलाभन्दा माथिल्लो तलाका तीन कोठाहरूको भित्ता पर्खाल चर्किँदै र ढुंगा झर्न थालेपछि शिक्षक, विद्यार्थीलाई पढ्न र पढाउन जोखिम हुन थालेको छ।
गत वर्षको भूकम्पले गर्दा उक्त भवन अत्यन्तै जीर्ण र जोखिम देखिएको छ। विद्यालयमा अरू कक्षाकोठा नहुँदा कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई उक्त चर्किएको जोखिम कोठामा बसालेर पढाउने गरिएको शिक्षिका बिर्सना शाहीले बताइन्। ‘कक्षाकोठा अभावले विद्यार्थीलाई जोखिम कोठामा राख्नुपर्ने अवस्था छ । म पनि राति उक्त जोखिम भवनमै सुत्ने गरेकी छु । राति ठूला पानी पर्याे, हावाहुरी लाग्यो भने बिस्तारा बोेकेर पल्लो भवनमा सर्नुपर्छ,’ उनले भनिन्।
कालिका माध्यमिक विद्यालयको खेलमैदान चौर पनि झन् पहिरोको जोखिम छ। चौरको तलबाट भासिँदै गएको छ।