बागमती प्रदेशको राजधानी हेटौँडामा बिहीबारबाट सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला सुरु भएको छ।
भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयता कार्यान्वयनमा सकारात्मक सुरुवात भएको बताएका छन्।
उनले संघीयता कार्यान्वयनको विषयमा तीनै तहका सरकारले सकारात्मक ढंगबाट काम गरेको दाबी गर्दै नेपालमा संघीयता कार्यान्वयनमा खासै समस्या नरहेको बताए।
‘नेपालमा संघीयता कार्यान्वयनमा त्यति समस्या छैन। अधिकार नभएर काम नै गर्न नसक्ने अवस्था पनि छैन। संविधान कार्यान्वयन विषयमा भएका छलफलहरू सकारात्मक छन्। त्यसकारण संघीयता कार्यान्वयनको सुरुवात राम्रो छ,’ उनले भने।
संघीय सरकार सकारात्मक रहेकाले पनि संघीयता कार्यान्वयनमा समस्या नरहेको उनको दाबी छ । संघीयता छिट्टै संस्थागत रूपमा आउने मुख्यमन्त्री जम्कट्टेलले विश्वास व्यक्त गरे। ‘अधिकार प्रत्यायोजन गर्न नै प्रधानमन्त्रीले समिति गठन गरेर परिमार्जन गर्ने भन्ने निर्णय गरेका छन्। प्रक्रियागत रूपमा अधिकार प्राप्त हुन्छ,’ उनले भने।
मुख्यमन्त्री जम्कट्टेलले संघीयता कार्यान्वयनबारे छलफल गर्दा नकारात्मभन्दा पनि सकारात्मक विषयबाट छलफल सुरु गर्नुपर्नेमा जोड दिए।
भोलि शुक्रबारसम्म चल्ने भेलामा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगै गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका महासंघका पदाधिकारीहरूको समेत उपस्थिति छ।