१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ११ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका म्याग्दी
२o८o पौष ११ बुधबार १४:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८o पौष ११ बुधबार १४:४५:oo

मालिका गाउँपालिका– ४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु. चार लाख सहयोग गरेका छन्। 

च्युरीबोट घर भई हाल बेलायत बसोवास गर्दै आएका घनमाया पुन र उनका छोराहरूले मंगलबार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गरेका हुन्।

घनमायाले आफ्नो नामबाट रु. एक लाख, दिवंगत  श्रीमान् टेकबहादुर पुनको नाममा रु. एक लाख र स्व. छोरी चित्रा घर्तीको स्मृतिमा रु. पचास हजार नगद हस्तान्तरण गरेको प्रअ ललितबहादुर घर्तिमगरले बताए। 

घनमायाका छोरा टार्जन र दुर्गा एवं छोरी रुपी पुनले थप रु. पचास–पचास हजार नगद उपलब्ध गराए। घनमाया, उनका छोराछोरी र बुहारीले वडाध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, घर्ती, अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गरेका थिए।   

घनमायाका जेठा छोराबुहारी दलमान र माया पुनले गत वर्ष रु. पचास हजार सहयोग गरेका थिए। उनका भान्जा खिमबहादुर बुढाले विद्यालयलाई रु. दश हजार सहयोग गरेका थिए। सो रकम विद्यालयमा सिद्धार्थ अक्षयकोषमा जम्मा गरिने प्रअ घर्तीले बताए। 

चौरासी वर्ष पूरा भएको अवसरमा घनमायाले विद्यालयलाई सहयोग गरेर फजुल खर्च नियन्त्रण र सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिएको वडाध्यक्ष पुनले बताए। 

सहयोगदाता पुनले विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयलाई ८४ वर्ष पुगेको अवसरमा भोजनसमेत गराएका थिए। विद्यालय, च्युरीबोट ख्याली सोरठी, स्थानीय आमा समूह, क्लबलगायत संघसंस्थाहरूले घनमाया र उनका परिवारलाई सम्मान गरेका थिए। 

०५५ मा स्थापित अक्षयकोषको रकमबाट विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षकलाई तलब र गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि खर्च गरिँदै आएको शिक्षक छकप्रसाद घर्तीमगरले बताए।  कक्षा १० सम्म पढाइ हुने विद्यालयमा एक सय २७ विद्यार्थी छन्। 

अक्षयकोषमा देश–विदेशमा रहेका च्युरीबोटवासीबाट अहिलेसम्म रु. २४ लाख १४ हजार ६ सय ४३ संकलन भएको छ। सोही अवसरमा गत वर्षको एसइई परीक्षामा विद्यालयबाट सहभागी भई सो गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अंक ल्याउने विद्यार्थी बोमबहादुर रोकालाई विद्यालयले नगदसहित पुरस्कृत गरेको छ।