लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा र प्युठानका बजारमा प्रयोग हुने नापतौल यन्त्रको अनुगमन गर्ने जिम्मा गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जले पाएको छ । ६ जिल्लाका बजार अनुगमन गर्नुपर्ने कार्यालयमा कर्मचारी भने दशजना मात्र छन् ।
बाँकेमा चार महिनाको अवधिमा नापतौल यन्त्र कैफियत गर्ने पाँच सय ६९ वटा फर्म, कम्पनी र व्यापारीलाई कारबाही गरिएको छ । चालू आर्थिक वर्षमा ६ सय ९८ वटा नापतौल यन्त्र जाँच गर्दा पाँच सय ६९ वटा फर्म, कम्पनी र व्यापारीलाई कारबाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका प्रमुख कमल ओझाले बताए ।
नापतौल यन्त्र नवीकरण नगर्ने, ढिलो गरी नवीकरण गर्ने र दर्ता तथा जाँच नगराएकालाई कारबाही गरिएको ओझाले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको चार महिनामा एक सय १९ फर्मको अनुगमन गरिएको थियो । ‘नापतौल यन्त्र दर्ता तथा पटक–पटक जाँच गराउनुपर्छ भन्ने जानकारी नभएको देखिन्छ,’ उनले भने, ‘जानीजानी नआउनेको संख्या पनि धेरै छ । एकपटक जाँच गराएपछि सधैँका लागि हुन्छ भन्ने मानसिकता भएको पनि देखिन्छ । लापरबाहीका कारण समयमा नगराएको पनि देखिन्छ ।’
त्यस्तो कारबाहीबाट १२ लाख ७९ हजार सात सय ५९ रुपैयाँ राजस्व संकलन भएको छ । गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष एक हजार सात सय ४० वटा नापतौल यन्त्रको जाँच गर्दा एक हजार चार सय ७९ जनालाई आर्थिक जरिवाना गरेको थियो । जरिवानाबाट ५२ लाख ४५ हजार सात सय ६२ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख ओझाले बताए ।
गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जले लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा र प्युठानका बजार हेर्दै आएको छ । ६ जिल्लाका सबै ठाउँको नापतौल यन्त्र जाँच गर्ने जिम्मा पाएको कार्यालयमा जम्मा १० जना कर्मचारी मात्र कार्यरत छन् । ‘कार्य क्षेत्र ठूलो छ, तर स्रोत–साधन र जनशक्ति एकदमै थोरै छ । एकातिर हेर्यो अर्कोतिर छुट्छ,’ उनले भने, ‘३७ वर्ष पुरानो सवारीसाधनले काम चलाइराख्या छौँ । कोहलपुर पुग्नसमेत मुस्किल पर्छ ।’
पछिल्लो चार महिनामा ६ जिल्लामा रहेका मुख्य बजारका व्यापारीले नापतौल यन्त्र जाँच गराएको ओझाले जानकारी दिए । बजारबाहिरको क्षेत्रमा भने कार्यालयको पहुँच नपुगेको उनको भनाइ छ । ‘मुख्य बजारका फर्म, व्यापारी र कम्पनीले नियमित रूपमा जाँच गराए पनि गाउँ र दुर्गम क्षेत्रमा जाँच गराउनेको संख्या एकदमै न्यून छ,’ उनले भने ।
नापजाँचका क्रममा अन्य क्षेत्रभन्दा तरकारी र मासु व्यवसायीले नापतौलमा कैफियत गरेको पाइएको छ । कतिपय ठाउँमा अहिले पनि ढुंगाको प्रयोग हुने गरेको छ । ‘नापतौल गर्न अहिले पनि ढुंगा, भारतीय ढक, काठको डन्डी, सुनचाँदी खरिद–बिक्री गर्दा ग्राम, मिलिग्राममा मात्र तौल गर्ने तथा तोला, आना, मासा, रती (लालगेडी)लगायत अवैध सामान प्रयोग गरेको पाइन्छ,’ उनले भने, ‘नापतौल वा नाप्ने, तौलने यन्त्रहरू खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिएर खरिद नगरेको देखिन्छ ।’