१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ४ बुधबार
  • Monday, 24 June, 2024
शान्ति तामाङ काठमाडाैं
२o८o पौष ४ बुधबार १o:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दैनिक १२ करोड लिटर पानी वितरण, तर उपभोक्ता पानी माग्दै सडकमा 

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष ४ बुधबार १o:३८:oo

उपत्यकामा पछिल्ला केही दिनयता खानेपानीको अभाव भएको भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले विरोध प्रदर्शन गर्दै आइरहेको छ । प्रदर्शनमा सहभागीहरूले रित्तो गाग्री, बाल्टिन, जर्किन लिएर मेलम्ची खानेपानी आयोजनको पानी ल्याएर खानेपानी वितरण सहज पार्न माग गरेका छन् । उनीहरूलाई जनप्रतिनिधिले समेत पूर्ण समर्थन दिइरहेका छन् ।

कोटेश्वर तिनकुने सडकखण्डमा सोमबार भएको विरोध प्रदर्शनको नेतृत्वकर्ता त जनप्रतिनिधिसमेत रहेका हरिबहादुर बस्नेत नै थिए । काठमाडौं महानगरपालिका–३२ का वडा सदस्य बस्नेतले यो विरोध सांकेतिक मात्र भएको बताए । उनका अनुसार उपत्यकामा मेलम्चीको पानी ल्याएर समस्या समाधान नगरे थप विरोधका कार्यक्रम घोषणा गर्ने उनले चेतावनी दिए । ‘डिप बोरिङबाट अलिअलि पानी आउँछ । त्यो पानी भाँडा माझ्न र ट्वाइलेट सफाइका लागि मात्र प्रयोग गर्न मिल्छ,’ सदस्य बस्नेतले भने, ‘पानीको संकट दिनप्रतिदिन बढ्दै जाँदा पनि कहीँबाट केही भएन । मेलम्ची अनेक बहानामा रोकिँदै छ । त्यसैले यो आन्दोलन सांकेतिक मात्र हो ।’ 

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत भन्छन्–विरोधमा उत्रनुपर्ने अवस्था छैन
कोटेश्वर, तिनकुने क्षेत्रका स्थानीयले विरोध प्रदर्शन गर्दै गर्दा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले भने त्यस क्षेत्रका स्थानीय विरोधमै उत्रनुपर्ने अवस्था नरहेको जनाएको छ । केयुकेएलका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मागअनुसार खानेपानीको वितरण गर्न नसकिएको मात्रै हो । बाहिर आएजस्तो अभाव भने छैन ।

‘गत वर्ष यतिवेला मेलम्चीको खानेपानी आइसकेको थियो । त्यतिवेला धेरैले आवश्यकताभन्दा धेरै खर्च गर्नुभयो होला । तर, यो वर्ष त्यस्तो रहेन, अहिलेसम्म मेलम्चीको पानी आउन सकेको छैन । त्यसैले गत वर्षजस्तो चाहेजसरी पानी खर्च गर्न पाउनुभएको छैन,’ प्रमुख कार्यकारी अधिकृत कार्कीले भने । 

उपत्यकाको भक्तपुर, मध्यपुर ठिमी, ललितपुर, बानेश्वर, महाराजगन्ज, क्षेत्रपाटी, महाँकालचौर, त्रिपुरेश्वर, कीर्तिपुर गरी केयुकेलका हाल नौवटा वितरण केन्द्रबाट दैनिक १२ करोड लिटर पानी वितरण भइरहेको छ । 

सातामा दुईपटकसम्म पानी वितरण
केयुकेएलले उपत्यकामा विभिन्न ठाउँमा सातामा एक वा दुईपटक पानी वितरण गर्ने गरेको छ । ती ठाउँमा आधा घण्टादेखि दुई घण्टासम्म पानी वितरण हुन्छ । केयुकेएलले दैनिक १२ करोड लिटर पानी वितरण गरे पनि माग भने करिब ४० करोड लिटर छ । केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर मात्रै वितरण गर्दै आएको छ । मेलम्चीको पानी आउन छाडेपछि केयुकेएलले भूमिगत पानीका स्रोतहरू जस्तै : बोरिङ, ट्युबेल र धाप ड्यामको पानी प्रशोधन गरेर उपत्यकावासीलाई वितरण गर्दै आएको छ ।

कार्कीका अनुसार अन्य ठाउँमा पानीको स्रोत खोजी पनि भइरहेको छ । गत वर्ष २३ मंसिरमा उपत्यकावासीको धारामा मेलम्चीको १७ करोड लिटर पानी झरिसक्दा यो वर्ष हालसम्म कुनै सुरसार नहुँदा पानीको अभाव देखिएको हो । गत २७ र २८ साउनमा आएको बाढीले आयोजनाको ‘हेडवक्र्स’ बगाएकाले अस्थायी रूपमा समेत पानी ल्याउन सकस भइरहेको आयोजनाले जनाएको छ । बर्खा सुरु भएसँगै सरकारले (असार पहिलो सातादेखि) मेलम्चीको पानी बन्द गरेको थियो । 

ad
ad
ad
ad