१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष १ आइतबार १७:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिमाको पहुँच भुइँमान्छेसम्म विस्तार हुनुपर्छ : प्राधिकरण अध्यक्ष सिलवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १ आइतबार १७:२९:oo

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमाको पहुँच सरकारदेखि भुइँमान्छेसम्म विस्तार हुनुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र प्राधिकरणद्वारा संयुक्त रूपमा आयोजित अन्तर्क्रियामा बोल्दै अध्यक्ष सिलवालले सरकारले बहन गर्न नसक्ने दायित्व बिमा क्षेत्रले बहन गर्न सक्ने भएकाले सबै वर्गका जनतासम्म यसको पहुँच विस्तार गर्नुपर्ने बताएका हुन्।

‘सरकारले आफ्नो भौतिक पूर्वाधार सम्पत्तिलगायतका दायित्वको बिमा गर्नुपर्छ। साथै, बिमाको सबैभन्दा बढी आवश्यकता भुइँमान्छेहरूलाई छ। उनीहरूलाई बिमाको दायरामा ल्याउने गरी काम हामीले गर्नुपर्छ,’ उनले भने।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले राष्ट्रिय बिमा नीति हालै मन्त्रिपरिषद्बाट स्वीकृत भएको जानकारी दिए। नयाँ नीति लागू भएपछि बिमा क्षेत्रको विस्तार र विकासमा सहयोग पुग्ने उनको भनाइ थियो। ‘यो नीति बिमा क्षेत्रको लागि कोसेढुंगा साबित हुनेछ,’ उनले भने।

त्यस्तै, बिमा नियमावली २०८० पनि स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेस भएको उनले जानकारी दिए। बिमा नियमावली स्वीकृत भएपछि बिमित हित संरक्षण कोष, बिमा विकास कोष र बिमा सूचना केन्द्रहरू स्थापना गर्न बाटो खुल्ने उनको भनाइ थियो।

त्यस्तै, जीवन बिमक संघका अध्यक्ष पोषक पौडेलले विद्यार्थीहरूबाट बिमासम्बन्धी चेतना बढाउने काम गर्नुपर्ने बताए। ‘यो मोडेलमा अघि बढे तल्लो स्तरबाटै बिमाको पहुँच विस्तार गर्न सजिलो हन्छ,’ उनले भने। विद्यालय तहबाटै बिमासम्बन्धी जागरण ल्याउन सकेमा घरका सबै सदस्यहरूलाई पनि बिमाबारे बुझाउन सजिलो हुने उनको भनाइ थियो।

‘यसले बिमाको जागरण विस्तार गर्न ठूलो सहयोग पुग्छ,’ अध्यक्ष पौडेलले भने, ‘बिमाका लागि व्यावसायिक बजार पनि ठूलो छ। अब बिमा जागरणसँगै इनोभेटिभ प्रडक्ट लिएर अघि बढ्नुपर्छ।’

कार्यक्रममा निर्जीवन बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बिमा जागरण विस्तार गर्नु आवश्यक भइसकेको बताए।