इजरायली नागरिकसरह बिमा सुविधा दिने
नेपालका लागि इजरायली राजदूत खनान गोदरले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका आफन्तलाई भेटेका छन् । उनले इजरायलमा ज्यान गुमाएका कैलाली जोशीपुर गाउँपालिका– ५ का आशिष चौधरी र घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपानेका परिवारलाई बुधबार घरमै गएर भेटेका हुन् । उनले मृतकका परिवारलाई इजरायली नागरिकसरह सेवा–सुविधा प्रदान गर्ने आश्वासन दिए । इजरायलमा ज्यान गुमाएका विद्यार्थीका प्रत्येक परिवार इजरायलका आफ्नै परिवारसरह रहेको भएको भन्दै पीडित परिवारलाई सान्त्वना दिए ।
त्यसअघि बुधबार बिहान टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान क्याम्पसमा मृतकका परिवारका सदस्यलाई भेटेर उनले आफ्नै देशका नागरिकसरह बिमा सुविधा उपलब्ध गराउने बताएका थिए । पीडित परिवारलाई इजरायली नागरिकसरह व्यवहार गरिने उनको भनाइ थियो । इजरायल सरकार पीडितको साथमा रहेको उल्लेख गर्दै उनले भोलिका दिनमा कसरी सहयोग गर्न सकिन्छ भनेर सोचिरहेको बताएका थिए ।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययनरत १० जना विद्यार्थीको दुई महिनाअघि हमासको आक्रमणबाट मारिएका थिए । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुरस्थित कृषि विज्ञान संकायले इजरायलमा ज्यान गुमाएका विद्यार्थीको सम्झनामा बुधबार आयोजना गरेको शोक सभामा राजदूत गोदर सहभागी भएका थिए ।
सो क्रममा उनले इजरायली सरकार पीडित परिवारको साथमा रहेको बताए । इजरायलमा हमासको आक्रमणमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीका आफन्तसँग टीकापुरमा कुरा गर्दै राजदूत गोदरले उनको सकुशल उद्धार गर्ने प्रयास भइरहेको बताए । राजदूतसँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि पीडितका परिवारलाई भेटेका थिए । प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार दुई लाख रुपैयाँ प्रदान गरेको छ ।