Skip This
दुर्गम गाउँहरू सुगम हुँदा...
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर २२ शुक्रबार o८:३४:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

दुर्गम गाउँहरू सुगम हुँदा...

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार o८:३४:oo

आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साबिक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन् ।

धनकुटालाई वैकल्पिक मार्गबाट तेह्रथुम जिल्ला जोड्ने उद्देश्यले धनकुटा  नगरपालिकाबाट छथरजोरपाटीसम्म निर्माणाधीन २३ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा छ । स्थानीय मार्से गाउँका शंकर ओझाले भने, ‘यस सडकले  गाउँपालिका– ५ साबिक तेलिया गाविसलाई सबैभन्दा धेरै गुन लागेको छ । यो सडक हाम्रो गाउँका लागि कोसेढुंगा साबित भएको छ । सडक नहुँदा हाम्रो ठाउँ जिल्लाको कर्णाली भनेर चिनिन्थ्यो ।’ पहिला कच्ची सडक हुँदा सवारीसाधनलाई आवतजावत गर्न समस्या थियो । सो समयमा यहाँका नागरिकले भौगाेलिक कष्ट र पानीको अभाव झेल्न नसकेर बसाइँसराइ गर्न बाध्य थिए । 

उनले पछिल्लो समय कालोपत्र सडक बनेपछि यहाँबाट बसाइँसराइ जान छाडेको र मानिसले सब्जी तथा पशुपालन फार्म खोलेर उद्यमतिर लाग्न थालेको बताए । उनले भने, ‘पहिला सित्तैमा लैजाऊ भन्दासमेत कसैले नलाने यस क्षेत्रको फलफूलसमेत सडक सुविधाका कारण अहिले किसानले राम्रो मूल्यमा बेचिरहेका छन् ।’ यस क्षेत्रका मानिस धनकुटाको सदरमुकाम धनकुटा बजारसम्म पुग्न छथरजोरपाटी–हिलेबजार हुँदै ३४ किलाेमिटर घुमेर जानुपर्ने बाध्यताको अन्त्य भएको उनले जानकारी दिए । 

छथरजोरपाटी– ३ सिंभुवा गाउँका रामबहादुर पाँचकोटीले गाउँ र सदरमुकाम जोड्ने कच्ची सडकसमेत नभएको अवस्थामा एक्कासि कालोपत्र सडक आउँदा आफूहरूको भारी बोकेर उकाली–ओराली गर्नुपर्ने कष्टपूर्ण दिन सकिएको बताए ।  साबिक ताँखुवा गाविसको यस वडाबाट धनकुटा बजार पुग्न ३५ किलोमिटरभन्दा बढी घुमेर कच्ची सडक पार  गरेर जानुपर्दथ्यो अथवा त्यसको विकल्पमा करिब १५ देखि १८ किलाेमिटर हिँडेर सदरमुकामसम्म कृषि उपज बेच्न जानुपर्ने र चाहिने मालसामान बोकेर ल्याउनुपर्ने हुन्थ्यो ।

तर, अहिले ती सबै समस्याबाट मुक्ति पाएको स्थानीयको भनाइ थियो । ‘पहिलाजस्तो भारी बोकेर उकालो हिँड्ने दुःखका दिन सकिएको छ,’ उनले भने । गाउँमै कालोपत्र सडक आएपछि कुनै वेला पाँच हजार रोपनीमा बिक्ने जमिनसमेत अहिले बढेर ६ लाखभन्दा माथि पुगेको र तराईतिर बसाइँसराइ गएकासमेत फर्केर आउन थालेको उनले बताए । 

साबिक परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिका– ५ का वडाध्यक्ष डिकबहादुर लिम्बूले कालोपत्रे सकडका कारण गाउँमा कृषि उत्पादनमा वृद्धि भइरहेको जानकारी दिए । पहिला गाउँपालिकासम्म जान कच्ची सडक मात्र भए पनि अचानक कालोपत्र सडक गाउँमा आउँदा नागरिक अत्यन्तै उत्साहित भएको उनले बताए । 

सडकको सुगमतासँगै यहाँ उत्पादित तरकारी, अलैँची तथा फलफूल सहज रूपमा बजार जाने वातावरण बनेपछि गाउँमा उत्साहित भएर किसान कृषि पेसामा लागेकाले उत्पादनमा वृद्धि भएको वडाध्यक्ष लिम्बूको भनाइ थियो । सडक बनाउन पहल गर्न भूमिका खेलेका धनकुटा प्रदेश सभा (१) का  प्रदेश सभा सदस्य निरन राईले गाउँपालिका क्षेत्रको भौगालिक कठिनाइ समाधान गर्न र बजारबाट बाहिर जाने ठूलो वैकल्पिक बाटोका रूपमा यस सडक आयोजना सुरु गरिएको जानकारी दिए । 

अहिले धनकुटा बजारबाट अन्यत्र जाने कुनै ठूला सडक छैनन् । धरानबाट धनकुटा हुँदै भोजुर, संखुवासभा र तेह्रथुम जिल्ला जाने सडकसमेत बजार बाहिरबाट गएको छ । यसका कारण अहिले धनकुटा बजारका केही बजार क्षेत्रमा व्यापारिक चहलपहल ठप्प छ ।

यसलाई तेह्रथुम जिल्लालाई जोड्ने यस सडक पूर्ण रूपमा निर्माण भएपछि यी बजारले पुनर्जीवन पाउने उनको  जिकिर छ । यस सडकलाई निकट भविष्यमा धनकुटा बजारको पूर्वी क्षेत्रलाई तेह्रथुम जिल्लाको दक्षिण–पूर्व शुक्रबारे बजार हुँदै जिल्लाको सदरमुकाम म्याङलुङ बजारसम्म जोड्ने लक्ष्य रहेको उनले जानकारी दिए । 

०७६ बाट ०८० पुस मसान्तसम्ममा काम सक्ने गरी पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत फिल्ड कार्यालय धनकुटाको अनुगमनमा निर्माण कम्पनी शर्मा भीमेश्वर जेभी भक्तपुरले सडकको ठेक्का पाएको थियो । कोशी प्रदेश सरकारको रु. ५६ करोड ५२ लाख लागतमा निर्मित उक्त  धनकुटा–बिहीबारे हटिया–कर्मिटार–ताँखुवा–बन्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुम सडक निर्माणको ९५ प्रतिशत काम सकिएको जेभीका प्रतिनिधि अपलेन्द्र अधिकारीले जानकारी दिए ।