
बागमती प्रदेशको राजधानी हेटौँडामा ६ दिनसम्म चलेको ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०’ को उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुन्डुले जितेका छन्।
नवौँ चरणसम्मको प्रतिस्पर्धामा ६ जित र तीन बराबर खेल्दै अपराजित उनले ७.५ अंक बटुल्दै उपाधि आफ्नो नाममा पार्न सफल भएका हुन्। सुभयानले उपाधिसँगै एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा सात–सात अंक जोड्दै बंगलादेशका आइएम मोहम्मद निहाज उद्दिन र भारतका एफएम अरबिन्दरप्रित सिंह क्रमशः दोस्राे र तेस्रो स्थानमा रहन सफल भए। पुरस्कारस्वरूप मोहम्मद मिनहाजले नगद ७५ हजार र अरबिन्दरप्रित सिंहले नगद ४० हजार प्राप्त गरे।
प्रतियोगितामा बंगलादेशका मो. सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आइएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमाले समान ६.५ अंक प्राप्त गर्दै चौथाेदेखि दशौँ स्थानमा रहन सफल भए।
यसैगरी, एफएम नयम हक एघारौँ, नेपालका एआइएम सुश्रुत दाहाल बाह्रौँ, डेबाेस्निक तेह्रौँ, आशिषराज चौधौँ र भारतका आदित्य बर्तके पन्ध्रौँ स्थानमा समेटिए।
प्रतियोगिताअन्तर्गत उत्कृष्ट स्थानीय खेलाडीमा झिल्के मोक्तान, उत्कृष्ट भेट्रानतर्फ देव कान्तिलाल प्रथम र नेपालका मोहनसिंह प्रधान दोस्राे भए। उत्कृष्ट महिलातर्फ श्रीलंकन खेलाडी सचिनी रानासिंघे प्रथम हुँदा इसानाभि दोस्राे भइन्।
स्विस नियमअनुसार नौ राउन्डमा सम्पन्न प्रतियोगितामा टप १५ खेलाडीसहित सर्वोत्कृष्ट महिला, सर्वोत्कृष्ट भेट्रान्स, सर्वोत्कृष्ट जुनियर, सर्वोत्कृष्ट स्थानीयलगायत विभिन्न विधामा ३८ जनाले नगद पुरस्कार प्राप्त गरेका नेपाल बुद्धिचाल महासंघका महासचिव धरम लामाले जानकारी दिए।
मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभाध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।