१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार २१:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पालिका बैठकबाटै निर्णय गराएर नदीजन्य पदार्थको अवैध उत्खनन, सिडियोबाट जेसिबी र पाँच ट्याक्टर नियन्त्रण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २१:५o:oo

रुपन्देहीको देवदह नगरपालिकाले पालिका बैठकबाटै निर्णय गराएर नदीजन्य पदार्थको अवैध उत्खनन गरेको पाइएको छ । 

१ मंसिरदेखि नगरपालिकाले नगरभित्रका विभिन्न वडाहरूका सडकको खाल्टाखुल्टी पुर्नका लागि भन्दै नगरपालिकाभित्र रहेका नदीबाट नदीजन्य पदार्थ निकालेको देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले बताए । 

औपचारिक रूपमा २५ लाख रुपैयाँबराबरको नदीजन्य पदार्थ निकालेर सडक बनाउन प्रयोग गर्ने कार्यपालिकाको निर्णय भएको र सोहीअनुसार नदीजन्य पदार्थ निकालिएको नगरप्रमुख खरेलले जानकारी दिए । 

‘नगरभित्र रहेका विभिन्न कच्ची सडकका खाल्टाखुल्टी पुर्नका लागि मिस्कट निकाल्ने निर्णय भएको हो । त्यसलाई टेकेर कसैले अवैध कारोबार गरेको भए हामी अनुसन्धान गर्छौँ,’ नगरप्रमुख खरेलले नयाँ पत्रिकासँग भने, ‘म बिरामी भएर विगत एक महिनादेखि नगरपालिकामा नियमित उपस्थित हुन सकेको छैन । यसबारेमा म बुझ्छु ।’

नगरपालिकाले गरेको निर्णयलाई टेकेर खोलामा जेसिबीको प्रयोग गरेरै अवैध रूपमा उत्खनन सुरु भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुगमन गरेको छ । यसक्रममा एउटा जेसिबी र पाँचवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । 

यसअगाडि पनि तिनाउ खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भएको जानकारी पाएपछि रुपन्देहीका प्रजिअ अर्यालले २ मंसिरमा अनुगमन गरी दुईवटा जेसिबी र दुईवटा ट्रिपर नियन्त्रणमा लिएको थियो ।

देवदहबाट मंगलबार बिहान पाँचवटा ट्याक्टर र एउटा जेसिबी नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको छ । नियन्त्रणमा लिइएका ट्याक्टर र जेसिबी थप कारबाहीका लागि प्रहरीले देवदह नगरपालिकालाई नै बुझाएको नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए । 

प्रहरीले मंगलबार देवदह नगरपालिकाको घोडाहा खोलाबाट अवैध रूपमा उत्खनन गरिरहेको ट्याक्टर र जेसिबी नियन्त्रणमा लिएको थियो । नगरपालिकाले चरंगे र घोडाहा खोलाबाट नदीजन्य पदार्थ निकाल्नका लागि पालिकास्तरबाटै निर्णय गराएको थियो । 

नदी तथा खोलामा जेसिबी प्रयोग गर्न नपाइने भए पनि नगरपालिकाको निर्देशनमा खोलामा जेसिबी चलाएपछि स्थानीयले विरोध गर्दै आएका थिए । स्थानीयको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार बिहान देवदह नगरपालिकाभित्र रहेका नदी र खोला अनुगमन गर्दा ट्याक्टर र जेसिबी नियन्त्रणमा लिएको रुपन्देहीका प्रजिअ गणेश अर्यालले बताए । 

देवदह क्षेत्रमा रहेका नदी तथा खोलाहरूबाट जेसिबी लगाएर जथाभावी रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको सूचनाका आधारमा अनुगमन गरिएको उनले बताए । ‘जनप्रतिनिधिहरूले नै मिलेर उत्खनन गरेको देखिन्छ,’ प्रजिअ अर्यालले भने ।

ad
ad