
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जाँदै छन्।
वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल आज राति अस्ट्रेलिया जान लागेको हो।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को संसद् सहयोग परियोजनाअन्तर्गत अध्ययन भ्रमण हुन लागेको संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए। युएनडिपी नेपाल र संघीय संसद् सचिवालयबीच समझदारी भई संघीय संसद् र प्रदेश सभाहरूमा संसद् सहयोग परियोजना सञ्चालित छ।
प्रतिनिधिमण्डलले अस्ट्रेलियाको संसद् र न्यु साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदहरूमा विभिन्न भेटघाट तथा अन्तर्क्रियात्मक कार्यक्रम गर्नेछ।
भ्रमण सम्पन्न गरी अध्यक्ष तिमिल्सिना मंसिर १८ गते र प्रतिनिधिमण्डलका अन्य सदस्य मंसिर १६ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।