लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपिएस)मा आबद्ध भएको छ।
यसका निम्ति लिबर्टी माइक्रो लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापश्चात् लिबर्टी माइक्रो लाइफ एनपिएसमा आबद्ध पाँचौँ माइक्रो लाइफ इन्सुरेन्स कम्पनी हुनेछ। यसअन्तर्गत लिबर्टी माइक्रो लाइफका आन्तरिक प्रणालीलाई एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपिआई)सँग जोडी बिमा लेखको भुक्तानी, बिमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायतका कारोबार सोझै गर्न सकिनेछ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स जनवरी २०२३ मा नेपालको ग्रामीण क्षेत्रहरूमा बिमासम्बन्धी सेवाहरूको पहुँच विस्तार गर्ने, वित्तीय चेतना प्रदान गर्ने, सीमान्तकृत समुदायलाई बिमासम्बन्धी विभिन्न सेवाहरू प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको एक पब्लिक लिमिटेड कम्पनी हो।