मित्रहरूको एक पुरानो समूह कलेज जीवनपछि आआफ्नो पेसा, व्यवसायमा व्यस्त भयो । सबैले राम्रै पैसा कमाए । उनीहरूले आपसमा भेटघाट नगरेको लामो समय भइसकेको थियो । त्यसैले, उनीहरूले एक दिन आफ्ना सबैभन्दा प्रिय प्राध्यापकको घरमा भेटघाट गर्ने निश्चय गरे ।
प्राध्यापकले पनि उनीहरू सबैको स्वागत गरे । पालैपालो उनीहरूका कामबारे चासो राखे । बिस्तारै कुराकानी जीवनमा बढ्दै गएको ‘स्ट्रेस’ र कामको ‘प्रेसर’मा केन्द्रित भयो । आर्थिक रूपमा मजबुत भए पनि उनीहरूको जीवनमा पहिलेजस्तो आनन्द नभएकोमा सबै एकमत थिए । उनीहरूको कुराकानी ध्यानपूर्वक सुनिरहेका प्राध्यापक अचानक उठे र भान्छाकोठामा छिरे । केही समयपछि भान्छाबाट निस्कँदै उनले भने– मेरा प्रिय विद्यार्थीहरू हो ! मैले तपाईंहरूका लागि तात्तातो कफी लिएर आएको छु । कृपया तपाईंहरू भान्छामा गएर आआफ्ना लागि कप लिएर आउनुहोस् । सबै विद्यार्थी फटाफट भान्छामा गए । त्यहाँ अनेक प्रकारका कप राखिएका थिए । सबैले आआफ्ना लागि राम्रोभन्दा राम्रो कप छाने । कसैले क्रिस्टलको, कसैले पोर्सिलेनको त कसैले सिसाको आकर्षक कप उठाए ।
जब सबैको हातहातमा कफी आयो, प्राध्यापकले गम्भीर हुँदै भने– प्रिय भाइबहिनीहरू, तपाईंहरूले जुन कप राम्रो र आकर्षक देखिन्छ, त्यही उठाउनुभयो । साधारण देखिने कपमा खासै ध्यान दिनुभएन । यसरी सबैभन्दा राम्रो कुरामा चासो राख्नु मानवीय स्वभाव हो । तर, यसैले हाम्रो जीवनमा समस्या या ‘स्ट्रेस’ ल्याउने गर्छ । हामी सबैलाई थाहा छ, कपको गुणस्तरले कफीको स्वादमा परिवर्तन ल्याउँदैन । कप त कफी पिउने एक माध्यम मात्र हो । तपाईंहरूलाई चाहिएको त केवल स्वादिलो कफी थियो । तर, तपाईंहरू कपको पछि दौडिनुभयो र आफूले छानेको कप पाइसकेपछि पनि अर्काको कप हेर्न थाल्नुभयो । हाम्रो जीवन यो कफीजस्तै हो भने पेसा, व्यवसाय, पद, पैसा आदि कपजस्तै हुन् । यी सबै जीवन जिउने साधन हुन्, तर जीवन होइनन् । हामीसित कुन कप छ भन्नेले हाम्रो जीवनलाई परिभाषित गर्ने होइन । त्यसैले, कफीको चिन्ता गर्नुहोस्, कपको होइन ।