देशको राजधानी सहर काठमाडौंमा राति ८ बजेपछि सार्वजनिक सवारीसाधन पाइँदैन, सरकारी पेट्रोल पम्प खुला हुँदैनन् । १० बजेपछि अधिकांश रेस्टुरेन्ट बन्द हुन्छन् । व्यावसायिक सुरक्षा दिनुपर्ने प्रहरी प्रशासन नै पसल, रेस्टुरेन्ट बन्द गराउँदै हिँड्छ ।
बाध्यता १ : बाहिर ग्राहकको भिड बढिरहेको हुन्छ, तर काठमाडौं महाबौद्धस्थित मोबाइल हाउसमा व्यवसाय गर्दै आएका अनिल राईलाई साँझ ७ बज्नेबित्तिकै सटर तान्न हतारो हुन्छ । मोरङ पथरीका राईलाई अझै बढी व्यापार गरौँ भन्ने रहर नभएको होइन, तर ८ बजेसम्म पसल बन्द गर्नुपर्ने नियम र सार्वजनिक बस पनि नपाइने चिन्ताले चाँडै पसल बन्द गर्छन् । कलंकी बस्ने उनी साढे ७ बजेसम्म बस बिसौनी पुगेनन् भने काठमाडौं मल–रत्नपार्क आसपासबाट उनको रुटको बस छुटिसक्छ । त्यसपछि महँगो शुल्क तिरेर पठाओ बाइक या ट्याक्सी चढ्नुपर्छ ।
बाध्यता २ : काठमाडौं वसुन्धरा बस्ने अनिश ठकुरी कालिमाटीस्थित आफ्नो कार्यालयमा प्रायः रातिको ९–१० बजेसम्म काम गरिरहेका हुन्छन् । १० कटेपछि भने उनलाई खानाको तनाव पर्छ । राति वरिपरिका रेस्टुरेन्ट सबै प्रहरीले बन्द गराइसक्छ । त्यसैले खाना खोज्दै–खोज्दै कहिले ठमेल पुग्छन्, कहिले दरबारमार्ग । खुला रहेछ भने सामान्य पसलभन्दा अलि महँगै तिरेर भए पनि खान्छन् । ‘ढिलो पुगियो भने त्यहाँ (ठमेल, दरबारमार्ग) पनि थकाली रेस्टुरेन्टहरू बन्द भइसक्छन्, त्यसपछि एयरपोर्टमा २४ सै घन्टा थकाली खुला हुने भएकाले कहिले त्यहीँ गएर खाइन्छ, नत्र चाउचाउ–बर्गर–पिज्जा त ठमेलमै भेटिहाल्छ,’ उनले भने । ठकुरीलाई मात्रै होइन, राति खाना खानुपर्यो भने सर्वसाधारण सबैलाई काठमाडौंमा सकस नै छ । कारण, दुई–चार ठाउँभन्दा अन्यत्र राति खाना पाइँदैन । चाबहिल, चुच्चेपाटी, मैतीदेवी र एयरपोर्ट राति खानाका लागि प्रख्यात छन् । ट्याक्सीचालकदेखि रात्रिकालीन व्यवसायमा काम गर्ने कर्मचारी तथा सेवाग्राही प्रायः ती स्थानमा खान जान्छन् । तर, ती स्थानबारे थाहा नहुने राति भोकै बस्न पनि बाध्य छन् ।
बाध्यता ३ : स्वदेशी तथा विदेशी ग्राहकले टेबुल भरिएको हुन्छ । ग्राहक मस्तसँग खाइरहेका हुन्छन्, कोही संगीतको लयसँगै फ्लोरमा बिन्दास झुमिरहेका छन् । तर, राति २ः०० नबज्दै त्यहाँ कार्यरत वेटरहरू प्रहरी आउने डरले ग्राहक उठाउँदै टेबुल खाली गर्न बाध्य हुन्छन् । यो रात्रिकालीन व्यवसायी राम थापाको अनुभव हो । कमलपोखरीमा आलिसान लाउन्ड, ठमेलमा इबिजा क्लब र नगरकोटी दोहोरीमा लगानी गरेका उनको मात्रै होइन, समग्र रात्रिकालीन व्यवसायीकै बाध्यता हो यो । १३ मंसिर ०७९ मा जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयअनुसार काठमाडौंमा क्लब र डिस्को बिहानको ४ बजेसम्म, डान्स, दोहोरी, रेस्टुरेन्ट र लाउन्ड एन्ज बार २ बजेसम्म, अन्य रेस्टुरेन्ट १२ बजेसम्म र मदिरा पसल १० बजेसम्म खोल्न दिने निर्णय भएको थियो । ‘तोकिएको यो समयसीमाभित्र बन्द नगरे बर्दीसहितको प्रहरी पसलभित्रै ग्राहक खेदाउन आइपुग्छन्,’ थापाले भने ।
यी त प्रतिनिधि उदाहरण मात्रै हुन्, देशकै केन्द्रीय राजधानी सहर काठमाडौंमा यस्ता बाध्यताका चाङ छन् । देशकै पहिलो र ठूलो महानगर पनि हो काठमाडौं, तर यो अन्य देशका महानगर र राजधानीजस्तै २४ सै घन्टा खुल्दैन । झिसमिसेमै उठ्ने काठमाडौं रात पर्न नपाउँदै निदाउँछ । जति ब्युँझिन्छन् ती पनि तोकिएको समयसीमा र प्रहरी–प्रशासनको दबाबका कारण चाँडै बन्द गर्न बाध्य छन् । नमाने विकल्पमा हिरासतको वास बस्नुपर्ने अर्को बाध्यता छँदै छ ।
कतिवेलासम्म खुल्छ काठमाडौं ?
१३ मंसिर ०७९ को जिल्ला सुरक्षा समिति बैठकले नै ठमेलमा व्यवसाय गर्ने समय बढाएको थियो । सो बैठकले क्लब र डिस्को ४ बजेसम्म, डान्सबार, दोहोरी तथा लाउन्ज बारलाई २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । अन्य रेस्टुरेन्टलाई १२ बजे र मदिरा पसललाई १० बजेको समयसीमा तोकेको थियो । तर, यो निर्णय कार्यान्वयन हुन सकेको छैन । केही पहुँचवाला व्यवसायीले मात्र रातभरि सञ्चालन गर्दै आएका छन् ।
ठमेल, दरबारमार्गबाहेकका स्थानका अधिकांश रेस्टुरेन्ट १० बजे नै बन्द हुन्छन् । झन् अन्य पसल त ८ देखि ९ बजेसम्म बन्द भइसक्छन् । पसल बन्द गराउनलाई प्रहरीको भ्यानदेखि बाइकसम्म पसल–पसल पुगिरहेको हुन्छ ।
रात्रिकालीन व्यवसायी राम थापा सम्बन्धित वृत्तमा आउने प्रहरी इन्चार्जको मुडअनुसार काठमाडौंमा रात्रिकालीन व्यवसाय चलिरहेको बताउँछन् । ‘यहाँ पर्यटन विकासका लागि सरकारले राम्रो कदम चालेको नै छैन,’ उनी भन्छन्, ‘रात्रिकालीन व्यवसायीहरू प्रहरी इन्चार्जको मुड र अन्डरमा चल्नुपर्ने हुन्छ । यहाँ कोही विदेशी पर्यटक एक रातमा एक करोड खर्च गर्ने गरी आयो भने ठाउँ छैन । प्रहरीलाई खुसी पार्न सकिएन भने खोल्न नपाउने अवस्था छ । नत्र प्रहरी आफ्नो मुडअनुसार ग्राहकलाई जबर्जस्ती उठाउन क्लबसम्म पुग्ने गरेका छन् ।’
अर्का एक रात्रिकालीन व्यवसायीका अनुसार काठमाडौंमा नाइटलाइफका लागि परिचित ठमेल र दरबारमार्गमा प्रहरी इन्चार्ज फेरिनासाथ नयाँ नियम सुरु हुन्छ । १६ भदौमा देशभर एक सय २० डिएसपीको सरुवा हुँदा प्रहरी वृत्त दरबारमार्गमा गोविन्द थापा र प्रहरी वृत्त लैनचौरमा चतुर्भुज ओझा नयाँ इन्चार्जका रूपमा आए । त्यसपछि एकाएक ठमेल र दरबारमार्गमा रात्रिकालीन चहलपहल घट्यो । कारण अरू वेला पहुँचका भरमा रातभरि खुल्ने त्यहाँका बर्गर–पिज्जा हाउसदेखि रेस्टुरेन्टसम्म बन्द भएका थिए । ठेलामा राखिने मःम पसलसम्म सडकमा राख्न बन्द गरियो । दुई हप्तासम्मको यो दृश्य भने अहिले हटेको छ । ‘नयाँ जोगीले धेरै खरानी धस्छ भनेको यही हो । अब कुरा मिल्यो, त्यसैले खुल्न थालेको छ,’ ती व्यवसायीले भने ।
राति किन खोलिँदैन बजार ?
संसारका ठुल्ठूला महानगर रातभरि खुल्छन् । तर, नेपालमा किन त्यस्तो हुन सकेन ? पूर्व सहरी विकास सचिव तथा सहरविद् किशोर थापा दिउँसो काम गर्ने, राति सुत्नुपर्ने संस्कारको विकासका कारण देशकै ठूलो महानगर काठमाडौं २४ सै घन्टा नखुलेको बताउँछन् । तर, यसले राज्यलाई नै नोक्सानी पुगिरहेको उनको विश्लेषण छ ।
‘संसारभर ठुल्ठूला महानगर २४ सै घन्टा खुला रहन्छन्, त्यहाँका विमानस्थल, अस्पताल, कारखाना खुलै रहन्छन्, रात्रिकालीन व्यवसाय चलेकै हुन्छ,’ उनले भने, ‘औद्योगिक वृद्धिका लागि कारखानाहरू दुवै सिफ्ट चल्छन् । छिमेकी मुलुक भारतमै २४ सै घन्टा रेल चल्छन्, एयरपोर्टलगायत व्यवसाय चलेकै हुन्छ । हाम्रोमा चाहिँ दिउँसो काम गर्ने, राति सुत्नुपर्छ भन्ने संस्कार स्थापित छ । हाम्रो राज्यको काम गर्ने शैलीका कारण पनि धेरै काम राति बन्द हुन्छन्, तर यो ठीक होइन । राति पनि राजधानी खुल्नुपर्छ, सुत्नुहुँदैन ।’
२४ सै घन्टा सहर खुल्यो भने यसले उत्पादकत्व बढाउने र सरकारलाई पनि थप राजस्व प्रदान हुने उनको तर्क छ । ‘यति मात्रै होइन हाम्रा विकास निर्माणका काम पनि छिटो–छरितो हुन्छन्,’ उनले भने, ‘दिउँसो पाँच–सात घटना काम गर्ने, रातिचाहिँ सुत्ने संस्कारले गर्दा पनि अहिले धेरै विकास निर्माणका कार्य ढिलो भइरहेका छन् । तर, राति पनि महानगर खोल्नका लागि सरकारले वातावरणचाहिँ बनाइदिनुपर्छ । त्यो वातावरण भनेको शान्ति सुरक्षाको व्यवस्थापन हो ।’
यता जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जितेन्द्र बस्नेत रात्रिकालीन व्यवसायलाई चलायमान बनाउने विषयमा आफूहरू कठोर नभएको बताउँछन् । ‘राजधानीका सबै ठाउँ २४ सै घन्टा चल्ने खालका हुँदैनन्, यो व्यवसायको प्रकृतिअनुसार हुन्छ,’ उनले भने, ‘त्यसैले हामीले भन्दैमा खुल्ने अवस्था पनि आउँदैन । तर, पर्यटनजन्य ठाउँहरू कुन व्यवसाय कति बजेसम्म सञ्चालन गर्ने भनेर निर्णय गरेका छौँ । यद्यपि, काठमाडौंभरि कुनै पनि ठाउँका व्यवसायीले यदि २४ सै घन्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्यो भनेर माग राख्नुभयो भने छलफलका आधारमा सम्भाव्यता हेरेर थप निर्णय गर्न सकिन्छ । अहिलेसम्मचाहिँ गृह मन्त्रालयबाट भएको निर्देशन र सरोकारवाला निकायसँग छलफल गरेर व्यवसायको प्रकृतिअनुसार राति तोकिएको समयसम्म सञ्चालन गर्न दिइरहेका छौँ ।’
बजार र उपभोक्ताले माग बढाएको अवस्थामा छलफल गरेर थप निर्णय गर्न सकिने उनको भनाइ छ । ‘कोभिडपछि सबै खाले व्यवसायमा मन्दी आएको छ,’ उनले भने, ‘राति चल्ने व्यवसाय अहिले पनि राम्रोसँग उठ्ने सकेको अवस्था देखिँदैन । हामीले अस्ति भर्खर मात्रै रात्रिकालीन व्यवसायको अनुगमन गर्दा धेरै ठाउँमा ग्राहक नभएको, खोलेर मात्रै बसेको पाइयो । अहिले राति खोल्न पाउनुपर्छ भनेर माग राखेको पाएका छैनौँ । तर, हामीले व्यवसाय गर्न पाएनौँ, समय कम दिइएको छ भन्ने खालको गुनासो आयो भने हामी फेरि पनि हेर्न सक्छौँ । रात्रिकालीन व्यवसायलाई चलायमान बनाउने विषयमा हामी कठोर छैनौँ, उदार नै छौँ । यसलाई सहजीकरण गरेर अगाडि जान सकिन्छ ।’
शान्ति सुरक्षा मुख्य चुनौती
अधिकांश सरोकारवाला निकायका प्रमुख काठमाडौं रातभर खेल्नका लागि शान्ति सुरक्षालाई नै प्रमुख चुनौती मान्छन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर पहिलो चरणमा काठमाडौंलाई १६ घन्टा खोल्न पहल गरिए पनि प्रहरी प्रशासनका कारण खोल्न नसकिएको बताउँछन् ।
‘मेयरज्यू सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘पहिलो चरणमा कम्तीमा महानगरका मुख्य ठाउँहरू ठमेल, बानेश्वर, न्युरोड, दरबारमार्ग, कोटेश्वर, चाबहिल १६ घन्टासम्म खोल्नुपर्छ भन्ने पक्षमा हो । तर, यसमा सबैभन्दा ठूलो चुनौती शान्ति सुरक्षाको देखियो ।’
प्रवक्ता मानन्धर सुरक्षा निकाय समन्वयका लागि तयार भएको अवस्थामा राति खोल्न सकिने बताउँछन् । मानन्धरका अनुसार सर्वेन्द्र खनाल आइजिपी छँदा महानगरले यही प्रस्ताव अघि बढाएको थियो । त्यतिवेला आइजिपी खनाल तयार भए पनि तत्कालीन प्रमुख जिल्ला अधिकारी सहमत नभएको उनले बताए ।
‘अहिले प्रहरी प्रशासनले यो विषयमा ठ्याक्कै बोल्न नसकेका कारण कार्यान्वयनमा ल्याउन सकेका छैनौँ,’ उनले भने, ‘प्रहरी तयार भयो भने पहिलो चरणमा १६ घन्टा खोल्न तयार छौँ । अहिले महानगरका कतिपय सहरमा रात्रिकालीन व्यवसाय राति पनि खुलिरहेका छन्, तर ढुक्कसँग खोल्न सकिरहेका छैनन् । केहीले प्रहरीलाई मिलाएर खोलिरहेका छन्, धेरैले लुकीलुकी र डराएर खोलिरहेको अवस्था छ । प्रहरी आफैँ बन्द गराउँदै हिँडेको अवस्था छ ।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्री काठमाडौं २४ सै घन्टा खोल्ने विषयमा आफूहरू असहमत नरहेको बताउँछन् । तर, प्रविधियुक्त पूर्वाधार नहुँदा शान्ति सुरक्षामा चुनौती रहेको स्विकार्छन् । ‘संसारका अन्य देशमा महानगर किन सुत्दैनन् भने त्यहाँ सुरक्षामा राज्यको राम्रो लगानी हुन्छ, तर हाम्रोमा कति छ ?’ उनले प्रश्न गर्दै भने, ‘उदाहरणका लागि सिंगापुर जानुभयो भने त्यहाँ दुई सेकेन्ड पनि मान्छे सिसिटिभीको निगरानीबाट बाहिर जाँदैन । लन्डन जानुभयो भने बिहान निस्केदेखि रातिसम्म जुनसुकै समयमा तपाईं कुनै न कुनै सिसिटिभीको निगरानीमा परिरहनुहुन्छ । हामीकहाँ त्यस्तो पूर्वाधार छ त ?’
शान्ति सुरक्षाका लागि राज्यले प्राथमिकतासाथ पूर्वाधारमा लगानी गर्नुपर्ने उनको तर्क छ । ‘हामीले हेर्ने भनेको सुरक्षा हो,’ उनले भने, ‘सुरक्षाको दृष्टिकोणबाट हामी तीनवटा कुरा हेर्छौँ– सुरक्षित, व्यवस्थित र मर्यादित । आमजनताले उद्योग, धन्दा र व्यवसाय गर्न पाउनुहुन्न भन्ने पक्षमा हामी छैनौँ । तर, हाम्रो सहर पनि युरोपको जस्तो २४ सै घन्टा खुल्नुपर्यो भनेर मात्रै भएन, लगानी पनि त्यही हिसाबले हुनुपर्यो । नेपालमा मात्रै होला सडकमा यति धेरै प्रहरी देखिने । नत्र बेलायत, कोरिया, दुबई, सिंगापुरलगायत देशमा सबै प्रविधिले निगरानी गरिरहेको हुन्छ । त्यसैले राज्यले पनि यो कुरालाई प्राथमिकतामा राख्नुपर्यो ।’
व्यवसायीले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत पूर्वाधारमा लगानी गर्न सक्ने उनी बताउँछन् । ‘व्यवसायीमा पनि १० रुपैयाँ कमाउँदा दुई रुपैयाँ सामाजिक उत्तरदायित्वमा लगानी गर्नुपर्छ भन्ने भावना हुनुपर्छ,’ उनले भने, ‘काठमाडौं सहरका लागि करिब १०–१२ हजार सुरक्षाकर्मी भनेको पर्याप्त जनशक्ति नै हो । सुरक्षाका दृष्टिले रातभरि बजार खोल्न प्रमुख चुनौती भनेको पूर्वाधार र प्रविधिकै हो । संसार कहाँ पुगिसक्यो, हामी उही ढुंगेयुगमा छौँ ।’
पूर्वसचिव थापा पनि राति बजार खोल्न प्रमुख समस्या शान्ति सुरक्षाकै देख्छन् । ‘व्यवसायी, काम गर्ने मान्छे र सेवाग्राहीलाई रात्रिकालीन सेवा लिन डरत्रासमुक्त वातावरण सिर्जना हुनुपर्छ,’ उनले भने, ‘हामीजस्तो अविकसित मुलुकमा राति सुतेर देशको विकास हुँदैन । यसको चेतना आमनागरिक र राज्य दुवैमा हुनुपर्छ ।’
महानगरका प्रवक्ता मानन्धर राति काठमाडौं खोल्न सकेको अवस्थामा बेरोजगारको ठूलो समस्या हल हुने बताउँछन् । ‘हामीले रोजगारी सिर्जना नसक्नुको कारण यो पनि हो,’ उनले भने, ‘आठ घन्टा चलिरहेको बजारलाई १६ घन्टामा पुर्याउन सकियो भने रोजगारको अवस्था दोब्बर हुन्छ । अर्थतन्त्र पनि चलायमान हुन्छ । राज्यलाई कर पनि बढ्ने भयो । धेरै फाइदा हुन्छ । त्यसकारण कुनै पनि हालतमा सीमित ठाउँ मात्रै तोकेर भए पनि कम्तीमा बजार १६ घन्टासम्म त खोल्नैपर्छ । त्यसपछि अवस्था हेरेर २४ घन्टा नै पुर्याउन सकिन्छ । अहिले त हामी अल्छी भएकै हो ।’
८ बजेपछि सार्वजनिक सवारी बन्द हुँदा यात्रुलाई सास्ती
देशकै संघीय राजधानीमा ८ बजेपछि सार्वजनिक सवारीसाधन चल्दैन । सवारीसाधन बन्द हुँदा टाढाटाढाबाट काम गर्न आउने कर्मचारी र सपिङ गर्न आउने सेवाग्राही हतारहतार घर फर्कनुपर्ने बाध्यता छ । नत्र महँगो भाडा तिरेर पठाओ–इनड्राइभर र ट्याक्सी चढ्न बाध्य छन् ।
०६९ मा काठमाडौं महानगरपालिकाको अनुदानमा रात्रिबस सञ्चालनमा नआएको भने होइन, तर डेढ वर्षमै बन्द भयो । १ भदौ ०६९ को बेलुकी तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले न्युरोड गेटमा राति तीन घन्टा मात्रै चल्ने बसको रिबन काटेका थिए । त्यतिवेला बसको सुरक्षाका लागि सिसिक्यामेरा र हतियारसहितका प्रहरीसम्मको व्यवस्था थियो । राति ८ बजेपछि काठमाडौंमा विभिन्न रुट भएर एकसाथ १४ वटा बस चलेका थिए । काठमाडौं महानगरपालिकाको ४५ लाख अनुदानमा चलेको उक्त बसका लागि चालकले दिउँसोजसरी यात्रु बोलाउँदैन थिए । चोकैपिच्छे रोकेर कराउँदैन थिए । राति ११ बजेसम्म बस चल्थ्यो । तर, पछि यात्रु कम भएर घाटा भयो भन्दै सेवा नै बन्द गरियो ।
काठमाडौं महानगरका प्रवक्ता मानन्धर प्रशासनले बजार खोल्न समन्वय गर्न सके फेरि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सकिने बताउँछन् । ‘मुख्य–मुख्य ठाउँका बजार खोल्न सकियो भने तिनै रुटलाई केन्द्रित गरेर यातायात खोल्न हामीलाई समस्या छैन,’ उनले भने, ‘तर, यसका लागि पहिले बजार खुला हुनुपर्यो, बजार खुलेपछि चहलपहल बढ्छ अनि यातायात सञ्चालन गर्न सकिन्छ ।’
नेपाल यातायात व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष सुबन गिरी राज्यले बेवास्ता गर्दा काठमाडौंमा रात्रीबस सञ्चालनलाई निरन्तरता दिन नसकिएको बताउँछन् । ‘कोभिडअघि काठमाडौं महानगरसँगको सहकार्यमा रात्रिबस सञ्चालनमा ल्याएका थियौं,’ उनले भने, ‘तर, सडकमा यात्रुहरूको चाप कम भयो, खाली बस कुदाउनुपर्ने अवस्था आयो । अर्कोतिर महानगरले पनि इनधनलगायत अनुदान सहयोग गर्न नसक्ने भनेपछि सेवा रोक्न बाध्य भएका हौं ।’
तर, देशकै केन्द्रिय राजधानी २४ सै घन्टा खुल्न आवश्यक रहेको र राज्यले सबै व्यवसायी खोल्न दिएर सर्वसाधारणको चहलपहल बढाउने अवस्थाको सिर्जना गरे रात्रिबस सञ्चालन गर्न आफूहरू तयार रहेको गिरी बताउँछन् । ‘कोभिडपछि सबै व्यवसायी डाँवाडोल भएको अवस्था छ । पहिले ९–१० बजेसम्म काठमाडौंमा बस चल्थे, अहिले यात्रु नपाएर ७–८ बजे नै बसहरू थन्किन थालेका छन् । पुलिसहरू ७–८ बजे नै पसल बन्द गराउँदै हिड्छन्, जसले गर्दा शहरमा चहलपहल घट्दो छ । अर्कोतिर यात्रुहरू महंगो शुल्क तिरेर राति ट्याक्सी चढ्न बाध्य छन् । राज्ये पहलकदमी लिएर राति पनि शहर खोल्ने वातावरणको सिर्जना भए हामी रुट मिलाएर मुख्य बजार र अस्पताल क्षेत्रमा बस चलाउन तयार छौं ।’
बन्द हुन्छन् सरकारी पेट्रोल पम्प
सार्वजनिक यातायातमात्रै होइन, उनीहरूलाई इन्धन सेवा प्रदान गर्ने काठमाडौंका पेट्रोल पम्पहरू पनि सम्साँझै बन्द हुन्छन् । निजी पेट्रोल पम्पहरू साँझ आठ बजेसम्म सञ्चालनमा आउँछन् भने सरकारी पेट्रोल पम्पहरू ६ बजे नै बन्द हुन्छन् । सेवाग्राहीको उल्लेख्य भिड हुने भद्रकालीमा रहेको सेनाको र नक्सालमा रहेको प्रहरीको पेट्रोल पम्पमा ६ बजेपछि पेट्रोल, डिजेल पाइँदैन । पेट्रोल पम्प सम्साझै बन्द हुँदा बाटैमा इन्धन सकिएको अवस्थामा राति मोटरसाइकल लगायत आफ्नो निजी सवारीसाधनमा यात्रा गर्ने सर्वसाधारण सास्ती व्योहोर्न बाध्य छन् ।
ठमेल २४ सै घन्टा खोल्ने तयारी
ठमेलका व्यवसायीले २४ सै घन्टा खोल्न पाउनुपर्ने माग राखेको वर्षौँ भयो, तर यो अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । प्रहरीले धेरै दुःख दिएपछि एलओडी, प्लेटिनमलगायत केही क्लबले उच्च अदालतबाट २४ सै घन्टा सञ्चालनको आदेश लिएर भए पनि सञ्चालन गरिरहेका छन् । तर, धेरैजसो जिल्ला प्रशासनले तोकेको समयसीमा बाहिर चलाउन असमर्थ छन् । केहीले भने प्रहरीसँग ‘सेटिङ’ मिलाएर चलाइरहेका छन् ।
अहिले फेरि रात्रि व्यवसायको केन्द्र रहेको ठमेलमा रातभरि व्यवसाय सञ्चालन गर्न दिन प्रहरीले तयारी थालेको छ । शान्ति सुरक्षाको अवस्था थप चुस्त बनाई रात्रिकालीन व्यवसाय सञ्चालनमा प्रहरी प्रशासन उदार बन्न लागेको हो । ‘ठमेल २४ सै घन्टा खुलाउने कुरा पहिलेदेखि उठिरहेको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्री भन्छन्, ‘व्यवसायी र सरोकारवाला निकायहरू बसेर एउटा कार्यविधि बनाएर २४ सै घन्टा खोल्न दिने विषयमा छलफल हुँदै छ । त्यसका लागि के–के पूर्वाधार चाहिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।’ ठमेल विकास पर्यटन परिषद्का अध्यक्ष भवी शर्मा ठमेलमा रातभरि व्यवसाय चलाउन गृह र पर्यटन मन्त्रालयसँग समन्वय भइरहेको बताउँछन् । ‘सुरक्षित र मर्यादित तरिकाले रातभरि व्यवसाय चलाउन आचारसंहिता बनाउन सबै पक्षसँग छलफल गरिरहेका छौँ,’ उनले भने, ‘रातभरि चलाउने र भेहिकल फ्री जाने बनाउनेलगायत विषयमा तयारी भइरहेको छ ।’